
न्यूजमधेश डेस्क
काठमाडौं ,२ श्रावण । कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्तामा पुर्याउने प्रमुख पात्र हुन्, एमालेका नेता माधवकुमार नेपाल । उनले आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई मुलुकको चावी सुम्पिने कार्यमा अग्रणी भूमिका खेले ।
अल्पमतको विपक्षी दल कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन आफूसहित आफ्नो समूहका २३ सांसदको हस्ताक्षर राष्ट्रपति र सर्वाेच्च अदालतमा बुझाए । सोही कारण देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
नेपाल समूहको काँध चढेर सत्ताको कुर्सीमा बसेका देउवा र नेपाल समूहले काँध छाडिदिएपछि सत्ताच्यूत भएर बालुवाटारबाट बालकोट पुगेका ओली अहिले उनै नेता नेपालको व्यवहारले रनभुल्लमा पर्न थालेका छन् ।
देउवा प्रधानमन्त्री हुनै लाग्दा संस्थापन ओली समूहसँग १० बुँदे सहमति गरेको नेपाल समूह अहिले पार्टी एकताको पक्षमा हो कि विपक्षी गठबन्धनमा हो भन्ने स्पष्ट पार्न सकेका छैनन् ।
देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वाेच्च अदालतले परमादेश दिएपछि बसेको गठबन्धन बैठकमा नेता नेपालले अब आफूहरु गठबन्धनबाट बाहिरिएको र पार्टी एकतामा लाग्ने बताए ।
यसले देउवालाई विश्वासको मत नेपाल समूहबाट पाउने कि नपाउने भन्नेमा शंका उत्पन्न गरायो । यता नेपाल समूह पार्टी एकता फर्किएको बुझेको एमाले संस्थापन ओली समूह पार्टीको बैठकमा नेपाल समूहका नेताहरु सहभागी नभएपछि रनभुल्लमा परेको छ ।
गठबन्धनबाट बाहिरिएको बताएको नेपाल समूह पार्टीको बैठकमा सहभागी नभएको र देउवा सरकारलाई विश्वासको मत दिने बताइरहेपछि संस्थापन ओली समूहलाई रनभुल्लमा पारेको हो ।
पार्टी एकतामा फर्किएको बताएको नेपाल समूह आफ्नो पार्टीको बैठकमा सहभागी नभएको र १० बुँदे सहमति पनि गरेपछि देउवा पनि अलमलमा परेका छन् ।
एकैपटक प्रधानमन्त्री देउवा र आफ्नो अध्यक्ष ओलीलाई रनभुल्लमा परेको नेपाल समूहले आफ्नो आगामी यात्राबारे स्पष्ट नपार्दा आफ्नै कार्यकर्ता अलमलमा परेका छन् ।