०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

रौतहटमा विद्यार्थी खाजाको रकम हिनामिना

Logo
प्रकाशित बिहिबार, भाद्र १७, २०७८

न्यूजमधेश डेस्क
रौतहट ,१७ भाद्र। सामुदायिक विद्यालयका विद्यार्थीलाई दिइने दिवा खाजाको रकममा शिक्षा समिति र जनप्रतिनिधिले आफूखुसी गरेको खुलेको छ । प्रोत्साहनस्वरूप सरकारले ल्याएको दिवा खाजा कार्यक्रमको रकम स्थानीय तहले नियमविपरीत निकासा गरेका हुन् ।

महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा रौतहटको परोहा, फतुवाविजयपुर, गरुडा, दुर्गाभगवती र यमुनामाई नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा नियमविपरीत दिवा खाजाबापतको ४ करोड ८७ लाख ६१ हजार १ सय रुपैयाँ निकासा गरेको उल्लेख छ । शिक्षा संयोजकले प्रतिवेदन पेस गरेको भरमा पालिकाले रकम दिँदा अनियमितता भएको महालेखाको ठहर छ । परोहा नगरपालिकाले १ करोड १७ लाख, फतुवाविजयपुर नगरपालिकाले ९७ लाख, गरुडा नगरपालिकाले ७७ लाख, दुर्गाभगवती गाउँपालिकाले १ करोड २१ लाख ७१ हजार र यमुनामाई गाउँपालिकाले ७४ लाख ९९ हजार रकम नियमविपरीत निकासा गरेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले दिवा खाजाको संयोजक सम्बन्धित नगरपालिकाका उपप्रमुखलाई तोकेको छ । तर, गरुडाकी उपप्रमुख रंगीलादेवी जयसवालले गत आर्थिक वर्षमा विभिन्न विद्यालयका बालबालिकाको दिवा खाजामा अनियमितता भएको भन्दै प्रतिवेदनमा हस्ताक्षर गर्न नमानेपछि शिक्षा संयोजक मौजेलाल राय यादवले उपसंयोजक गठन गरेर ७७ लाख रुपैयाँ निकासा गरे । ‘शिक्षा संयोजकले कहिले र कसरी रकम निकासा गरे भन्ने मलाई थाहा छैन,’ जयसवालले भनिन् ।

कार्यक्रम पारदर्शी हुनुपर्ने उनको जिकिरपछि संयोजकबाट पाखा लगाइएको थियो । शिक्षा संयोजक यादवले गत चैत ६ गते अगाडि विद्यालय सञ्चालन भएका बेलाको दिवा खाजाको रकम पछि निकासा गरेकाले लकडाउनका बेला भन्ने भ्रम परेको दाबी गरे । ‘मलेपको प्रतिवेदनमा उल्लेख भएअनुसार गलत निकासा भएको छैन,’ उनले भने, ‘निकासा लकडाउनका बेला लिएको हुनाले अन्यथा पर्न गएको हो ।’ उनले नियमविपरीत काम नगरेको दाबी गरे । यो नगरपालिकामा २३ वटा सामुदायिक विद्यालय छन् । शिक्षा संयोजककै भरमा प्रतिवेदन तयार पारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मिलेर रकम निकासा दिएको आरोप छ । उनीहरूले भने महालेखा परीक्षककै प्रतिवेदन गलत भएको दाबी गरिरहेका छन् ।

परोहा नगरपालिकाले दिवा खाजा कार्यविधिविपरीत अभिभावकलाई नगदै वितरण गरेको पाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले कार्यविधिविपरीत अभिभावकलाई रकम वितरण गरेको स्विकारे । ‘विद्यालयमा खाजा बनाएर खुवाउनुपर्ने हो । तर, भौतिक संरचनाका कारण त्यो गर्न सकिएन,’ उनले भने, ‘समस्या भएरै नगद दिएका हौं । तर, लकडाउनका बेला विद्यालय बन्द भएको समयको पैसा दिएका छैनौं ।’ उक्त नगरपालिकाले नगद बुझाउने व्यवस्था नभए पनि नियमविपरीत दिवा खाजाबापत १ करोड १७ हजार निकासा गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाका शिक्षा संयोजक कृष्णप्रसाद कलवारले दिएको प्रतिवेदनको भरमा रकम निकासा भएको हो । ‘नगद दिन नहुने थियो,’ उनले भने, ‘एक पैसा पनि हिनामिना नगरी अभिभावकलाई नगदै दिएका हौं । महालेखाले भनेको जस्तो अनियमितता भएको छैन ।’ यो नगरपालिकामा २१ वटा विद्यालय छन् ।

फतुवा विजयपुर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक बुनिलाल यादवले नियमविपरीत दिवा खाजा रकम निकासा गरेको बारे अहिलेको संयोजक हरेन्द्र यादवले कुनै जानकारी नभएको बताए । ‘बुनिलालजीले के गरी कति पैसा निकासा गराउनुभयो, त्यो मलाई थाहा छैन,’ उनले भने, ‘महालेखाको प्रतिवेदन सार्वजनिक भएपछि मात्र थाहा पाएँ । यस सम्बन्धमा बुझ्छु ।’ यस नगरपालिकामा ३२ वटा विद्यालय छन् ।

दुर्गाभगवती र यमुनामाईले पनि लकडाउनका बेला रकम निकासा नभएको दाबी गरेका छन् । यी नगरपालिकामा पनि शिक्षा संयोजककै प्रतिवेदनका आधारमा रकम निकासा भएको पाइएको छ । कोरोना महामारीका कारण २०७६ चैत ११ गतेबाट लकडाउन जारी भएर विद्यालय बन्द रहेको अवस्थामा रकम निकासा गरेको भन्दै महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

विद्यार्थी हाजिर संख्या विषयमा छानबिन गरी बढी भुक्तानी रकम असुल गर्नुपर्ने महालेखाको सुझाव छ । कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्मका बालबालिकालाई १ सय ८० दिनसम्म दिवा खाजाका लागि बजेट विनियोजन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]