न्यूजमधेश डेस्क
काठमाडौं,५ पुष । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग नियोग एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्टको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
सरकारले एमसीसी अनुमोदनका लागि संसदमा पेश गरे त्यसको पक्षमा मतदान गर्ने निर्णय भएको लोसकपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले लोसपा एमसीसीको विपक्षमा नभएको बताए ।
सरकारले संसदको चालु अधिवेशनबाट एमसीसी अनुमोदनको तयारी गरेको छ । तर सत्तारुढ गठबन्धनका दलहरुबीच एमसीसीबारे साझा धारणा बनेको छैन । सत्तारुढ दलबीच साझा धारणा बनाउन सत्तारुढ गठबन्धनले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदलसमेत बनाएको छ ।
सत्ता गठबन्धनका दलबीच साझा धारणा नभएका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने पर्ख र हेरको रणनीतिमा रहेको छ । सत्तामा हुँदा एमसीसी पारित गराउन पहल गरिरहेको नेकपा एमाले प्रतिपक्षमा पुगेपछि भने मौन बसिरहेको छ ।