०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

सिरहामा निषेधाज्ञा तोड्दै जनमत पार्टीको प्रदर्शन

Logo
प्रकाशित मंगलबार, पुष १३, २०७८

न्यूजमधेश डेस्क
सिरहा,१३ पुष । जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्व-पश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेपनि जनमत पार्टीका कार्यकर्ताहरूले सिरहाको मिर्चैयास्थित कटारी चोकमा मंगलबार निषेधाज्ञा तोड्दै जुलुससहित प्रदर्शन गरेका छन् ।

लाठी बोकेर प्रदर्शन उत्रिएका उनीहरूलाई प्रहरीले लाठी चार्ज गरेको थियो । स्थिति नियन्त्रणमा लिन एक सेल अश्रुग्यास प्रहार गरी भीड तितरबितर पारिएको थियो । केहीबेर मिर्चैया क्षेत्र तनाव बनेपनि स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

डा सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार र बुधबार दुई दिन सिरहा बन्दको घोषणा गरेपछि सिरहा प्रशासनले ती क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गरी निषेधाज्ञाबारे जानकारी दिएका छन् । पुस १३ र १४ गते विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख छ ।

पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पि.के.राज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।

उक्त अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ भने बाहिर हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ । सूचनाको उल्लंघन गरेमा कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

जनमत पार्टीले सिरहा बन्दको कार्यक्रम लम्ब्याएपछि प्रशासन निषेधाज्ञा जारी गर्न बाध्य भएको हो । जनमत पार्टीले माग पूरा गर्न प्रशासनले चासो नदेखाएको भन्दै १३ र १४ गते जिल्लाभर चक्काजाम गर्ने निर्णय गरेको थियो ।

औरही गाउँपालिकाले किसानमाथि दर्ता गरेको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानहरूलाई रिहा गर्नुपर्ने, औरहीका अध्यक्ष सिद्धार्थ यादवले गरेको भ्रष्टाचारको छानविन गर्नुपर्ने, किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने लगायतको ७ बुँदे माग राखेर जनमत पार्टीले सिरहा बन्दको कार्यक्रम गर्दै आएको छ ।

आमहड्तालको उल्लंघन गरेको भन्दै पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार र मिर्चैयामा जनमत पार्टीका कार्यकर्ताहरूले आइतबार १६ वटा सवारी साधन तोडफोड र एक ट्रकमा आगजनी गरेका थिए । सवारी साधन तोडफोड र आगजनीमा संलग्न जनमत पार्टीका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार मिर्चैया र गोलबजारमा बन्दकर्ता जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले मिर्चैयामा १३ सेल आश्रुग्यास प्रहार गरेको थियो ।

यसैबीच सिरहाका ६ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरि पक्राउ गरेकाहरूलाई रिहाई, बन्द हड्ताल फिर्ता तथा प्रशासनद्वारा लगाइएको निषेधज्ञा फिर्ता लिई शान्तिपूर्ण रुपमा निकास खोजी जनजीवन सहज बनाउन माग गरेका छन् । कांग्रेस, एमाले, नेकपा एस, लोसपा, जसपा, माओवादी केन्द्रले मंगलबार संयुक्त विज्ञप्ति जारी गरि शान्तिपूर्ण रुपमा निकास खोजी जनजीवन सहज बनाउन माग गरेका हुन ।

यसरी भयो घटनाको सुरुवात

औरही गाउँपालिकाले किसानलाई नै वितरण गर्न गहुँ बीउ गोदाममा राखेको थियो । वितरण गर्न तयारी अवस्थामा राखिएको गहुँ बीउ स्थानीय युवाहरूको समुहको उस्काहटले किसानहरूले गोदामबाट पुस ६ गते लुटेर लगेका थिए । लुटेर लैजाँदा समेत प्रहरी भने मुकदर्शक बनेको थियो ।

गाउँपालिकाले किसानका लागि ६ सय ५० बोरा बीउ खरिद गरेको थियो । गाउँपालिकाले पुस ५ गते ४० किलोको दरले ३ सय २५ बोरा वितरण गरेको थियो ।

बाँकी रहेको ३ सय २५ बोरा बीउ वडा ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको थियो । पुस ६ गते ११ बजेबाट वडा नम्बर ३ का किसानलाई वितरण गरिने गाउँपालिकाले जानकारी दिएको थियो । नेपाल प्रहरी त्यही पुगेका थिए । तर, बिउ वितरण हुन नपाउँदै लुटपाट मच्चिएको थियो ।

स्थानीय उच्छृंखल युवाहरूको उस्काहटमा किसानका लागि राखिएको गहुँको बिउ लुटिएको गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले जानकारी दिए । उनका अनुसार गहुँ बीउसँगै स्थास्थ्य केन्द्रमा राखिएको मास्क, अक्सिजन रेगुलेटर, अक्सीमिटरलगायत स्वास्थ्य उपकरण पनि लुटिएको छ । गाउँपालिका कार्यालयमा तोडफोड समेत गरेका थिए ।

गाउँपालिकाले किसानलाई ५ कठ्ठा खेतको लागि निःशुल्क गहुँको बीउ वितरण गर्न बजेट विनियोजन गरिएको थियो । पहिलो दिन २० किलोको दरले वितरण गरिएको अध्यक्ष यादवले सुनाए ।

बीउ किसानहरूले लुटेर लगेपछि गाउँपालिकाले औरही गाउँपालिका-३ का मिथिलेश यादव, तेज नारायण यादव, रामनाथ यादव र औरही गाउँपालिका-५ का सुप्रविण यादवमाथि सरकारी सम्पत्ति हिनामिना, लुटपाट सम्बन्धी अभद्र अवज्ञा मुद्धा जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता गराएको थियो ।

ती मध्ये प्रहरीले मिथिलेश यादवलाई पक्राउ गरेको थियो । प्रहरीमा चार जनामाथि राजनीतिक प्रतिशोध साँध्न मुद्दा दर्ता गराएर फसाउन खोजेको र एक किसानलाई पक्राउ समेत गरेको विरोधमा जनमत पार्टी आइतबारदेखि सिरहा जिल्ला बन्दको घोषणा गरेको थियो । यसअघि जनमत पार्टीका कार्यकर्ताहरूले औरही गाउँपालिका कार्यालय घेराउ गर्दै विरोध कार्यक्रम गर्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]