न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० फागुन।जनकपुरधाम उपमहानगरपालिकामा दुई जनाबीचको विवाद न्यायीक समितिदेखि अदालतसम्म पुग्यो । दुबै निकायले फैसला पनि गरेको छ । तर, फैसला भने कार्यान्वयन भइरहेको छैन् । यसको मुख्य जडो भनेको जनकपुरधामका मेयर लालकिशोर साह हुन् ।
जनकपुरधाम वडा नम्बर १४ मा दुई जना मिलेर किनेको जग्गामा देखिएको विवादलाई अदालत समेतले सुल्झाउने किसिमले फैसला गरेपनि मेयर साहकै कारण निष्कर्षमा पुग्न सकिएको छैन् ।
लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ५ निवासी रामदेव यादवले जनकपुरधाम वडा नम्बर १४ स्जित रजौलमा घर बनाउने उद्देश्यले आफ्नी श्रीमती शिवकुमारी यादवको नाममा ७ धुर जग्गा किने ।
लक्ष्मिनिया गाउँपालिकाकै अर्का रामदेव यादवसंग उनको घनिष्ठ मित्रता थियो । दूबै जना मिलेर पार्वती साहको नाममा रहेको २५ धुरको एउटा किता खरीद गरे । यसमध्ये ७ धुर शिवकुमारी यादवको नाममा र बाँकी जग्गा सुशिला देवी यादवको नाममा दर्ता भयो ।
पहिले रामदेव पछाडिको जग्गा लिन नचाहेपनि १२ फिटको बाटो मिलाई दिने आश्वासन पाएपछि उनले आफ्नो श्रीमतीको नाममा सो जग्गा लिएका थिए । तर बाटो घेर्नुका साथै उनको जग्गामै पर्खाल लगाएपछि विवादको श्रृजना भयो ।
बाटो खुलाई दिनका लागि उनी जनकपुरधाम उपमहानगरपालिकाको न्यायीक समितिमा निवेदन दिए ।
जहाँ २०७२ साल फागुन २३ गते सुशिला देवीलाई ५ हजार रुपैयाँ जरिवानाका साथै बाटोको अवरोध हटाउन आदेश दिइएको थियो । तर वडा नम्बर १४ का वडाध्यक्ष पुण्यप्रताप यादवले सुशिलाको पक्षमा लागेपछि त्यो बाटोमा निर्माण गरिएको भौतिक संरचना हटाउन सकिएन ।
उक्त आदेश हालसम्म कार्यन्वयन हुन सकेको छैन । बाटो अझै अवरुद्ध छंदैछ । त्यसमा पनि बिना ईजाजत आफ्नो जग्गा च्यापेर पर्खाल सहित भौतिक संरचणा बनाइरहेको उनले बताए । नगर प्रहरीले उक्त निर्माण रोक्न प्रयास गरेपनि सकेनन् ।
गत फागुन ३ गते कानून बमोजिम कारवाही गरी पाउँ भन्दै नगरपालिकामा निवेदन दिएपनि मेयर साहले कुनै चासो दिएका छैनन् । ‘नगरपालिका धाउँदा धाउँदै थाकिसके तर मेयर साहले न्याय दिन सकेन् । उल्टै सुशिला र उनका आफन्तले धम्की दिदैं आएका छन् । केहि दिन अगाडि कुटपिट समेत गरेका थिए । अहिले आएर ज्यान मार्ने धम्कि दिन थालेका छन्’ उनले भने ।
वडाध्यक्ष यादव नगरप्रमुख लालकिशोर साहको नजिकका पात्र मानिन्छन् । वडाध्यक्ष यादवको संलग्नता पछि नगरप्रमुुख लालकिशोर साह पनि मौन भएर बसे ।
पछि उल्टै शिवकमारीलाई नै प्रतिवादी बनाएर सुशिलाले उच्च अदालत जनकपुरधाम मुद्दा दिइन् । पछि उच्च अदालतले शिवकुमारीकै पक्षमा फैसला सुनाउँदै बाटो रहेको अवरोध हटाउन आदेश दिएको थियो ।
अदालतले जनकपुरधाम उपमहानगरपालिकाको न्यायिक समितिलाई सदर गर्दै जरिवाना हटाएर बाँकी फैसला कार्यान्वयन गर्न २०७६ मंसिर १९ गते फैसला सुनाएको थियो ।
तर उच्च अदालतको फैसलालाई अवज्ञा गर्दै बाटोमा रहेको अवरोध न सुशिलाले हटाएकी छिन न त उपमहानगरले नै सो अवरोध हटाउ पहल गरेको छ ।
एउटै दर मूल्यमा लिएको जग्गा पछि आएर सुशिलाका श्रीमान्ले आफुलाई पछाडी तर्फबाट जग्गा लिन दबाब दिए । दबाब बढदै गएपछि १२ फिटको बाटो दिने शर्तमा पछाडी तर्फको जग्गा लिएँ । ‘तर पछि आएर बाटोको जग्गा खरिद गर्न दबाब दिए ।
बाटोमा पर्ने जग्गामा पैसा समेत लिए । हाल आएर बाटो नै बन्द गर्न खोज्दैछ । हामीलाई पटक पटक पिडित बनाईएको छ ।
न्याय कसले दिन्छ ? उपमहानगरका मेयर साह सहित नगरपालिका प्रशासनलाई कयौं पटक जानकारी गराएँ । कसैले मेरो कुरा सुनेनन्’ शिवकुमारीले दुःखेसो पोखिन् ।