२८ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

मतदाता भन्छन् : ‘हामी भोट दिन्छौँ, हामीलाई विकास दिनुहोस्’

Logo
प्रकाशित सोमबार, बैशाख १९, २०७९

न्यूजमधेश डेस्क
झापा,१९ बैशाख । जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरूले तीव्र बनाएका छन्। सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झन्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) र अन्य राजनीतिक दलहरू आ–आफ्नै चुनावी एजेन्डा लिएर मतदाताको घरदैलामा पुग्न थालेका छन्। शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएका प्रतिबद्धता पत्रसहित आफ्नै घरको आँगनमा उम्मेदवारलाई भेट्दा मतदातासमेत उत्साही बन्नेको दृश्य रोमाञ्चक देखिन्छ।

विशेष गरेर मुख्य पदका उम्मेदवार गाउँमा पुग्दा भोट मात्र माग्दैनन् । मतदाताको समस्या बुझ्दै डायरीमा नोट गर्दै आफूले जितेमा सबै काम गरिदिने प्रतिबद्धतासमेत जनाउने गरेका छन्।

मेचीनगर नगरपालिका–१५ स्थित भण्डाबारी टोलकी ७५ वर्षीया डुकु मुर्मुले विगतमा जस्तो चुनावी चहलपहल यसपालि नभएको बताउँछिन्। ‘पहिला–पहिला त घरघरमा झन्डा राखिदिने, चुनाव प्रचारमा हिंडेवापत दैनिक ज्याला दिनेसम्म गर्थे’, उनी भन्छिन्, ‘यसपालि चाहिँ त्यसो गर्ने कोही आएनन्।’

पहिलोपटक चुनावमा भाग लिन लाग्नुभएका मेचीनगर–१४ का १९ वर्षीय दीपेन्द्रकुमार न्यौपानेले भने उत्साही छन् । उनी भन्छन्, ‘बुबा, आमा, दाजु दिदीले भनेको पार्टी र व्यक्तिलाई भोट दिन्न । जनताको लोकप्रिय, युवाको समस्या पहिचान र समाधान गर्नेलाई दिन्छु ।’ उनले दैनिकजसो घरमा विभिन्न पार्टीका उम्मेदवार लर्को लागेर भोट माग्न आउने गरेको बताए।

राजनीतिक दलहरूले बिहान ६ बजेदेखि नै चुनावी अभियान सुरु गर्ने र आफ्ना उम्मेदवारलाई लिएर बाजागाजासहित हिँड्ने गरेका छन् । यसरी हिँड्दा कतिपय स्थानमा अन्तरदलीय उम्मेदवारबीच भेट हुँदासमेत एक अर्कामा अँगालो मारेर आत्मीयता साटेको देखिन्छ ।

मेचीनगर–१५ का ८३ वर्षीय कालिन्द्र राजवंशीले विगतमा भन्दा यसपालिको चुनाव पृथक लागेको बताए । उनी भन्छन्, ‘गाउँघरमा चुनाव आएपछि वल्लोपल्लो घरबीच बोलचाल बन्द हुन्थ्यो । कसले ठूलो झन्डा राख्ने भन्ने होडबाजी नै चल्थ्यो । यसपालि शान्त छ ।’

यसपालिको चुनावमा त्यस्तो केही नभएको र जुनसुकै पार्टी भए पनि हाम्रोलाई नभएर राम्रोलाई भोट दिऊँ भन्दै सरसल्लाह हुने गरेको उनको भनाइ छ । उनले आफूले भोट दिएर जिताएका जनप्रतिनिधि फेरि फर्केर गाउँ आएर बाटो, पानी, ढल, शिक्षा, स्वास्थ्यको बारेमा चासो राखेर काम गरुन् भन्ने अपेक्षा व्यक्त गरे । उनले भने, ‘हामीले मत दिन्छौँ, उनीहरूले विकास दिनुपर्‍यो।’ रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]