२१ चैत्र २०८१, शनिबार
05-04-2025 , Sat
×

सर्पको डसेमा कस्तो उपचार गर्ने, कहाँ गर्ने ?

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

सम्झना विक
काठमाडौं,१६ जेष्ठ । नवलपरासीका १८ वर्षे समीर खड्कालाई सर्पले डस्यो । उनलाई हत्तपत्त जिल्लाको विभिन्न अस्पतालमा पुर्‍याइयो । ती अस्पतालमा एन्टी स्नेक भेनेम र औषधि उपलब्ध थिएन । आखिरमा उनको ज्यान गयो ।

यो गत वर्षको घटना हो । यद्यपि वर्षैपिच्छे यस्तो घटना दोहोरिन्छ । खासगरी वर्षायाममा सर्पको डसाइबाट धेरैले ज्यान गुमाउने गर्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख हेमचन्द्र ओझाका अनुसार वर्षमा औसत २०० जनाले सर्पको डसाइबाटै ज्यान गुमाइरहेका छन् । त्यसमध्ये कतिपय अंगभंग पनि हुने गरेका छन् । महाशाखाले २०७५ सालमा गरेको अध्ययनबाट पत्ता लागेको तथ्य हो यो ।

सर्पले डसेर ज्यानै जाने जोखिम भए पनि यसबारे खासै सचेतना पाइँदैन । कस्तो सर्प बढी विषालु हुन्छ ? कुन क्षेत्रमा यसको जोखिम बढी छ ? सर्पले टोकेमा के गर्ने ? यसको प्राथमिक उपचार के छन् ? सर्वसाधारणले उति सरोकार राखेको पाइँदैन । त्यसैगरी सर्पदंशको उपचार गर्ने ठाउँ सीमित हुँदा पनि यसको जोखिम बढी छ ।

सर्पदंशको घटना हिमाली, पहाडी क्षेत्रमा भन्दा तराईमा बढी हुने गरेको बताउँछन्, कन्काई सहारा सर्पदंश उपचार केन्द्रका इन्चार्ज अभिषेक पोखरेल । ‘गर्र्मीयाम र बर्खाको बीच चैतदेखि कात्तिक महिनासम्म सर्पदंशको सम्भावना हुने गर्छ । तराई क्षेत्रमा पाइने सर्पको तुलनामा पहाड र हिमालमा पाइने सर्प कम विषालु हुन्छन् ।

इन्चार्ज पोखरेलका अनुसार सर्पको वासस्थान मासिंदै जानु र जलवायु परिवर्तनका कारण सर्प हिमाली र पहाडी भागमा सर्दै गएका छन् । सर्पले मानिसलाई टोक्ने मुख्य कारण प्रतिरक्षा हो । सर्पको प्रमुख खाना मुसा हो भने मुसाको अन्न । त्यसले सर्प र मानिसको सम्पर्क हुने पोखरेल बताउँछन् ।

सर्पदंशको उपचार कहाँ कहाँ हुन्छ ?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख हेमचन्द्र ओझाका अनुसार नेपालमा ८८ वटा सर्पदंश उपचार केन्द्र छन् । २०७५ सालमा महाशाखाले गरेको अध्ययन अनुुुसार सर्पदंशबाट वार्षिक २० हजार जना पीडित हुने र त्यसमध्ये २०० जनाको मृत्यु हुने गरेको छ ।

ओझा भन्छन्, ‘कोरोना महामारीले उपचार केन्द्रसँग समन्वयमा कमी आउँदा नयाँ तथ्यांक निकाल्न सकिएको छैन । कतिपय मानिस अझै पनि झारफुकमा विश्वास गर्ने, उपचार केन्द्रसम्म आउन नपाई बाटैमा मृत्यु हुने हुँदा पनि यकिन तथ्यांक आउन गाह्रो भएको छ ।’

विषालु सर्प कस्ता हुन्छन् ?

नेपालमा पाइने ९० प्रजातिका सर्पमध्ये १८ प्रजातिका सर्प विषालु हुन्छन् । सर्प र सर्पदंश विषयमा विद्यावारिधि गर्दै रहेका अनुसन्धानकर्ता कुलप्रसाद लिम्बुका अनुसार विषालु सर्प अन्तर्गत गोमन, करेत र भाइपर गरी तीन किसिमका हुन्छन् ।

विषालु सर्प सामान्य सर्प भन्दा हिंस्रक स्वभावका हुन्छन् । सर्पको स्वभाव प्रजाति अनुसार भिन्न हुन्छ । विषालु करेत सर्पले न्यानो र तातो ठाँउ मन पराउने भएकाले यो सर्प प्रायः मानिसको नजिक आउन खोज्छ । यो सर्प दिउँसोभन्दा रातिको समयमा बढी सक्रिय हुन्छ ।

यसको मुख्य खाना मुसा हो भने यसले राति सिकार गर्ने गर्छ । शरीर कालो, सेतो, पहेंलो, टाटेपाङग्रे हुन्छ । गोमन प्रजातिमा राज गोमन जातको सर्प जंगलमा बस्छ भने गोमन सर्पको पछाडि चश्मा आकारको चिन्ह हुन्छ । भाइपर जातिको सर्प मानिसको सम्पर्कमा त्यति आउँदैन । यसको बासस्थान जंगल हो । यसको ज्यान भुट्टेदार हुन्छ । यो विभिन्न रंगको हुन्छ ।

सर्पदंशको औषधि

नेपालमा मात्र नभई विश्वमै पनि सर्पदंशको औषधिको अभाव छ । अन्य रोगको जस्तो यसको औषधि सर्वसुलभ नहुँदा सर्पदंशबाट मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।

सर्पदंशको औषधिलाई एन्टी स्नेक भेनम भनिन्छ । नेपालमा यो औषधि नबन्ने भएकाले भारतबाट आयात गर्नुपर्ने अनुसन्धानकर्ता लिम्बू बताउँछन् ।

सर्पदंशको प्राथमिक उपचार

कन्काई सहारा सर्पदंश उपचार केन्द्रका इन्चार्ज अभिषेक पोखरेल सर्पले डसेको व्यक्तिलाई हतोत्साही बनाउने खालका कुनै पनि काम गर्न नहुने बताउँछन् । सर्पले टोक्नेबित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अंगलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ । यस्तो बेला कुनै पनि खानेकुरा खानुहुँदैन ।

कतिपयले सर्पले टोकेको ठाँउभन्दा माथि डोरीले कसिलो गरी बाँध्ने गर्छन् । यसो गर्दा रक्तसञ्चारमा समस्या हुने पोखरेल बताउँछन् । जसले गर्दा सर्पले टोकेको अंग मर्ने र खराब भएर काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ । त्यसैले सर्पले टोेकेको स्थानभन्दा माथि हलुकासँग मात्रै बाँध्नुपर्छ ।

विषालु सर्पले टोकेको दुई घण्टाभित्र बिरामीको मृत्यु समेत हुनसक्ने भएकाले झारफुकजस्ता अन्धविश्वास अल्झिनुहुँदैन, सकेसम्म चाँडो उपचार केन्द्रमा लैजानुपर्छ ।

सर्पको टोकाइबाट कसरी सुरक्षित रहने ?

बेलुकाको समयमा जुत्ता लगाएर मात्रै हिंड्ने गर्नुपर्छ । यसरी हिंड्दा टर्चलाइट लिएर मात्र हिंड्नुपर्छ । यस्तै भुईंमा नसुती सधैं खाटमा सुत्ने बानी गर्नुपर्छ । ओछ्यानमा झुल टाँगेर सुत्नु सबैभन्दा राम्रो हुन्छ ।

घर वरपर सफासुग्घर राख्ने गर्नुपर्छ । लामो बाहुला भएको लुगा लगाउनुपर्छ । घरमा लिपपोत गर्दा, घाँस–दाउरा गर्दा एकदमै ध्यान पुर्‍याउने गर्दा सर्पको टोकाइबाट केही हदसम्म बच्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]