१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

‘कुमारी आमा’ निहारिका राजपुतको छोराको डिएनए शिवराज श्रेष्ठसँग मिल्यो

Logo
प्रकाशित शनिबार, कार्तिक १९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम , १९ कार्तिक  । ‘कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने २४ वर्षीय बलात्कार आरोपित शिवराज श्रेष्ठको डिएनए म्याच भएको हो । २० वर्षीया बलात्कार पीडित सोनाली सिंह (निहारिका)ले जन्माएको बच्चा र आरोपित श्रेष्ठको डिएनए परिक्षण गराउँदा म्याच भएको हो ।

विधि विज्ञान प्रयोगशाला काठमाडौँले कात्तिक १८ गते उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९ दशमलव ९९९ प्रतिशत मिलेको रिपोर्ट आएको बलात्कार पीडित सिंहका वकिल रिङ्कु यादवले बताए । उनका अनुसार जिल्ला प्रहरी, सरकारी वकिल हुँदै उच्च अदालतमा डिएनए परीक्षणको रिपोर्ट आएको हो ।

शिवराज साधारण तारिखमा छन् । उनको यही कात्तिक २५ गते तारेख छ । चुनावपछि यो मुद्दाको पेसी चढ्ने उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।

शिवराजले नशालु पदार्थ खुवाएर बलात्कार गर्दा बसेको गर्भबाट सोनालीले बच्चा भएको आरोप सोनालीले लगाउँदै आएकी छन् । आरोपित शिवराज श्रेष्ठले आफूहरुबीच शारीरिक सम्पर्क भए पनि बच्चा आफनो नभएको दाबी गर्दै आएका थिए ।

जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले २०७८ माघ २४ गते शिवराजको पक्षमा फैसला गरेको थियो । न्यायाधीश भट्टराईले अभियोग दाबी नपुग्ने फैसला गरेका थिए । उनीहरू प्रेम सम्बन्धमा रहेको, श्रीमान् श्रीमतीकै हैसियतमा बसेको कुरा स्वयं वादीले स्वीकार गरेको, नाता कायमका लागि निवेदन लेखेको र प्रेमी शिवराज श्रेष्ठलाई छाड्न नसक्ने भनी निवेदनसमेत लेखिसकेको सम्बन्धमा यो जबरजस्ती करणी नभएको उक्त फैसलामा उल्लेख छ ।

अभियोगपत्रमै जबरजस्ती करणीको कसुरमात्रै लिएर गएकाले यो मुद्दालाई अदालतले जबरजस्ती करणीको महलमा मात्रै राखेर विश्लेषण गरेको र आरोपितलाई जबरजस्ती करणीको कसुरबाट सफाइ दिएको थियो ।

पछि जिल्ला अदालतको निर्णय विरुद्ध पुनरावेदन गर्दै उच्च अदालत जनकपुरमा पीडितले २०७८ फागुनमा उजुरी दिएकी थिइन् । उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गत भदौ ८ गते दुवैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो । उच्च सरकारी वकिल कार्यालय जनकपुरमार्फत् निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौँमा डिएनए परीक्षण भएको थियो ।

उच्च अदालतले लामो समय पेसी नतोकेको र डिएनए परीक्षणको आदेश नदिएको भन्दै पीडित सोनाली सिंह दुई पटक आमरण अनशनमा बसेकी थिइन् । अनसनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि ‘फास्ट ट्रयाक’मा मुद्दाको सुनुवाइ अघि बढाइएको हो ।

निहारिकाले गत साउन २७ गते राष्ट्रपति कार्यालय, शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।

पछि ५ भदौमा तत्कालीन कानुनमन्त्री गोविन्द बन्दीका उपस्थितिमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् । सहमतिमा उनको मागबमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो । उनको मुद्दा विचाराधीन भएकाले अदालतमा सरकारी वकिलले नै यससम्बन्धी माग गर्नुपर्ने अवस्था थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]