०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

दाईजो नल्याएको निहुँमा आरतीको हत्या भएको परिवारको आरोप

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०८०

काठमाडौं,८ असार । दाईजो नल्याएको निहुँमा जनकपुर उपमहानगरपालिका–८ थापाचोककी २२ वर्षीया आरती साहको हत्या भएको परिवारको आरोप छ । उनको श्रीमानसहित परिवारका सदस्यहरु मिलेर आरतीको हत्या भएको माईती पक्षको आरोप छ । वि.सं. २०७८ असार ३० गते नगराईन नगरपालिका वडा नं.–८ की आरतीको जनकपुर उपमहानगरका मोतिबाबु साहसँग विवाह भएको थियो ।

विवाह भएको समयदेखि नै दाईजो कम ल्याएको भन्दै आरतीलाई परिवारले मानसिक र शारीरिक यातना दिँदै आएको मृत्तक आरतीका माईतीहरुले बताए ।

आरतीको हत्यामा श्रीमान मोतिबाबु साह, ससुरा मदनमोहन साह, सासु रेणुदेवी साह र देवर रवि साहको संलग्नता रहेको माईती पक्षको आरोप छ । हत्या गत जेठ ६ गते नै भएपनि जेठ ७ गते बेलुकामात्रै आफूहरुलाई जानकारी गराएको आरतीका मामा सन्तोषकुमार साहले बताए । घटनापछि वास्तविकता लुकाएर पीडकलाई बचाउन प्रहरी प्रशासनदेखि अस्पतालसम्म लागिपरेको सन्तोषको आरोप छ ।

‘यो घटना जेठको ६ गते नै घटेको हो । हामीलाई जानकारी जेठ ७ गते बेलुका ६ बजेर २० मिनेटमा भएको हो,’– मृतक आरतीका मामा सन्तोषले भने । आरती साहको मृत्यु पोष्टमार्टम भन्दा २४ देखि ३६ घण्टा पहिले भएको उनले दाबी गरे । आरतीको हत्या गरेर दिनभरि आफ्नै घरमा राखेर बेलुका मरेको शरीर अस्पताल पुर्याइएको उनको आरोप छ ।

घट्नापछि प्रहरीले बयानमा पीडित पक्षले बोलेको कुरा नलेखेर पीडकलाई बचाउने नियतले आफूखुसी लेखेको मृत्तक आरतीका मामा सरोजको आरोप छ । डाक्टरले मृतकको बहिनीलाई सूरुमा डेथ भईसकेपछि मात्रै अस्पताल आईपुगको जानकारी गराएको आरतीका मामा सन्तोषको दाबी छ । आरतीको हत्या गरेर दिनभरि घरमा राखेर सबै योजना बनाएर बेलुका अस्पताल पुर्याएको उनको आरोप छ ।

उक्त घट्नामा जिल्ला प्रहरी कार्यालय धनुषाले जाहेरीसमेत लिन नमानेको उनको भनाई छ । डिएसपी देवप्रकाश गौतम, एसपी विश्वराज खड्कालगायतले सुरूमा जाहेरी लिन नमानेको र केही समयपछि तीन जना केटी पक्ष र तीन जना केटा पक्षका मान्छे बोलाएर कर्तव्य ज्यानको कसुरमा जाहेरी लिन नमिल्ने भनेको उनले सुनाए । व्यापक जनदवाबपछि प्रहरीले जाहेरी लिएको र अहिले मृत्तक आरतीका श्रीमान मोतिबाबु र ससुरा मदनमोहन पुर्पक्षका लागि थुनामा रहेको उनले जानकारी गराए । प्रहरीले चारै जनाको नाममा जाहेरी लिन नमानेपछि आफूहरुले हुलाकमार्फत चारै जनाको जाहेरी दर्ता गराएको उनले बताए ।

मृत्तक आरतीका देवर र सासु पनि उक्त घट्नामा संलग्न रहेको माईती पक्षको दाबी छ । उनीहरुले मृत्तक आरतीकी सासु र देवरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान हुनुपर्ने माग गरेका छन् । घट्नामा संलग्न आरतीका श्रीमान मोतिबाबु, ससुरा मदनमोहन, सासु रेणुदेवी र देवर रविलाई कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्ने मागसहित मृतक आरतीका माईती पक्ष विगत ८ दिनदेखि काठमाडौंको माईतीघरमा आन्दोलनरत छन् ।

उनीहरुले जाहेरी लिन नमान्ने डिएसपी गौतम, एसपी खड्कालाई निलम्बन गरी कारबाही गरिनुपर्ने, फर्जी पोष्टमार्टम रिपोर्ट बनाएर अपराधीलाई उन्मुक्ति दिन खोज्ने कर्माचारी, काव्या हस्पिटल जनकपुरलाई कारबाही गरिनुपर्ने र मृत्तकका माईती पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने मागसहित मधेशी आयोग, महिला आयोग, मानवअधिकार आयोग र मेडिकल काउन्सिलमा उजुरी दिएका छन् ।

पीडित पक्षको बयानमा प्रहरीले आफूखुसी लेखेपछि हस्ताक्षर गर्न नमान्दा प्रहरीले आफूसहित पाँच जना पीडित पक्षका मानिसलाई निर्घात कुटपिट गरेको उनको आरोप छ । आफूहरु बयानमा हस्ताक्षर नगरेकै कारण ७ घण्टा प्रहरी हिरासतमा बस्नुपरेको मृत्तक आरतीका मामा सन्तोषले गुनासो गरे । प्रहरीले पीडित पक्षलाई नै धम्क्याउने र यातना दिने काम गरेको उनको आरोप छ ।

आफूलाई विरामी भनेर जानकारी आएको १० मिनेटमा कान्छी छोरीलाई काव्या अस्पताल पठाउँदा सुरूमा त्यहाँका डाक्टरहरुले मृत्यु भएपछि नै अस्पताल ल्याएको जानकारी गराएको मृत्तक आरतीका बाबुले बताए ।

मृत्तक आरतीकी बहिनी मनिषा साहले आफ्नी दिदीलाई सासु, ससुरा, देवर र श्रीमान मिलेर हत्या गरेको आरोप लगाईन् । केटा पक्षले पटक–पटक दाईजो नल्याएको भनेर यातना र मानसिक दवाब दिइरहेको कुरा आफ्नी दिदी आरतीले आफूसँग सुनाएको मनिषाले सुनाईन् । आफू कहिलेकाहीँ दिदी आरतीको घरमा जाँदाखेरी देवर रविले गलत नजरले हेर्न गरेको र आफू दिदीलाई नराम्रो होला भनेर चुप लागेर बसेको सुनाईन् ।

मृत्तक आरतीका दाजु प्रेम साह, उनकी आमा निर्मलादेवी साहलगायतले आरतीको हत्यामा संलग्न रहेका सबैजना र जाहेरी लिन नमान्ने र उल्टै पीडितलाई यातना दिने प्रहरीमाथि निश्पक्ष छानविन गरी कारबाहीको माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]