काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना विद्यार्थी नेतालाई प्रहरीले बैतडीबाट नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका नेता ध्वनी धामी र खगराज नेपाली रहेका छन्। दुवैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–६ धौलिढुंगास्थित लटिनाथ आधारभूत विद्यालयबाट नियन्त्रणमा लिएको जनाएको छ। विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले बताए।
उनीहरुलाई थप अनुसन्धानका लागि बैतडी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी छानबिन भइरहेको उनले बताए। अखिल क्रान्तिकारीले पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई झुटो मुद्दामा फसाउन खाजेको भन्दै विरोध गरेको छ। अखिल क्रान्तिकारी सेती–महाकाली क्षेत्रीय समन्वय समितिले पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई तत्काल रिहा गर्न माग गरेको छ। समितिका संयोजक विरेन्द्र शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै बिना सर्त रिहाइ गर्न माग गरेका छन्।