सुरेन्द्र कुमार कामती, सिरहा।चहलपहल भइरहने बरियारपट्टी चोक हुलाकी सडक विस्तारको क्रममा छ । सडक विस्तारले उठिवासको जोखिममा छन्, जिल्लास्थित बरियारपट्टी–३ का डोम (मल्लिक) समुदाय । सात घरपरिवारका ४० जना जातीय विभेद र छुवाछुतसँगै आवश्यक आधारभूत आवश्यकतादेखि कोसौँ टाढा छन् ।
शुद्ध खानेपानी र शौचालय अभावजस्ता समस्यासँग जुझ्दै आएका छन् उनीहरू । संघ, प्रदेश र स्थानीय सरकारले खानेपानी, सडकको नाममा करोडौँ खर्चिएका छन् । तर, यो समुदायका आधारभूत आवश्यकता पूर्ति गर्न ध्यान नदिएको उनीहरूको गुनासो छ ।
•उठिवासको खतरा
हुलाकी सडक निर्माण भइरहेको छ । सडकछेउमा उनीहरूको बस्ती छ । सडकको वारिपारि १५–१५ मिटर सडक विस्तार गर्दा कसैको पनि घर बच्दैन । दुई वर्षअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बरियारपट्टी चोकमा हुलाकी सडकको शिलान्यास गरेका थिए । उनीहरूका लागि सरकारी आवासको पहल अझै हुन सकेको छैन ।
• एउटा मात्रै हातेकल
डोम समुदायका लागि सडकछेउमा रहेको एउटा हातेकल खानेपानीको सहारा बनेको छ । नुहाउने, लुगा धुने, खाना पकाउन र पानी खानसमेत त्यही एउटा हातेकलको भर पर्नुपरेको भोगी मल्लिकले बताए । ‘स–साना बालबालिका पानी लिन जान्छन्,’ भोगी भन्छन्, ‘कतिखेर गाडीमा ठोक्किने हो ठेगान छैन ।’
हातेकल बिग्रियो भने मर्मत नहुन्जेल उनीहरूले अर्को धाराबाट पानी ल्याउन पाउँदैनन् । चन्द्रिका मल्लिक भन्छिन्, ‘अरूको धारामा गए पानी छोइस् भनेर गाली गर्छन् ।’
• शौचालय छैन
सात परिवारको बसोवास छ । तर, घरमा शौचालय छैन । सिरहा जिल्ला खुला दिसामुक्त घोषणा भएको दुई वर्ष भइसकेको छ । तैपनि, डोम समुदायले शौचालय प्रयोग गर्न सकेका छैनन् । चन्द्रिका भन्छिन्, ‘आफ्नो जग्गा छैन, सडकछेउ ऐलानीमा बस्दै आएका छौँ, कहाँ शौचालय बनाउनु ?’
• सुंगुरपालन गर्न छाडे
परम्परागत रूपमा सुंगुर पाल्दै आएका भए पनि अहिले उनीहरूले त्यो पेसा छाड्न थालेका छन् । आफ्नो जग्गा नहुनु तथा अरूको घरखेतमा सुंगुर पुगेपछि गाउँलेले कुटपिट र गाली–गलौज गर्न थालेपछि पाल्न छाडिएको राजकुमार मल्लिकले बताए । ‘पुँजी पनि छैन । जग्गा पनि छैन,’ उनले प्रतिप्रश्न गरे, ‘कसरी सुंगुरपालन गर्न सक्छौँ र ?’
• विद्यालय जाँदैनन् बालबालिका
डोम समुदायमा विद्यालय जाने उमेरका २० बालबालिका छन् । तीमध्ये १२ जनाको करिब एक किमि टाढा रहेको जनता माविमा कक्षा १ देखि ५ सम्म नाम लेखाइएको छ । नाम लेखिए पनि उनीहरू विद्यालय गएर नियमित पठनपाठनमा सहभागी हुँदैनन् । विद्यालयमा नियमित रूपमा नआउँदा पनि प्रध्यानाध्यापकदेखि लिएर जनप्रतिनिधिलाई यसप्रति चासो नभएको स्थानीय बताउँछन् । प्रध्यानाध्यापक वीरबल यादवले भने डोम समुदायका केही बालबालिका नियमित रूपमा विद्यालय आइरहेको बताए । उनले भने, ‘चाडपर्व आयो भने उनीहरू अनियमित हुन्छन् । हाम्रो कोसिस नियमित गराउनेमा छ ।’
• बाँसका सामग्री आम्दानीको स्रोत
सुंगुरपालनमा सहयोग नपाएका उनीहरूको आम्दानीको स्रोत बाँसले बुनेका विभिन्न सामग्री भएका छन् । बाँस किनेर त्यसबाट ढकिया, कोनिया, डगरी, डाला, भखारीजस्ता सामग्री बनाएर बेच्दै आएका छन् । त्यसैबाट हुने आम्दानीले आफूहरूले आवश्यकता पूर्ति गर्दै आएको राजकुमारले बताए । ‘जसोतसो परिवार चलाउँदै आएका छौँ,’ उनले भने ।
समस्या समाधान गर्छौँ : गाउँपालिका अध्यक्ष महतो
बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले डोम परिवारले भोग्दै आएको समस्या समाधान गर्ने बताए । चालू आवमा खानेपानीको व्यवस्था गर्ने भए पनि शौचालय बनाउन भने समस्या भएको उनले बताए । ‘डोम समुदायको आफ्नै जग्गा छैन, हुलाकी सडक विस्तार हुँदा घर नै भत्काइन्छ,’ अध्यक्ष महतोले भने ।
• अझै जातीय विभेद र छुवाछुत
बरियारपट्टी–३ मा मल्लिक टोल पर्छ । बरियारपट्टी चोकमा बजार पनि लाग्छ । तर, मल्लिक समुदायलाई जातीय विभेद र छुवाछुतको सामना गर्नुपर्छ । ५५ वर्षीया कैला मल्लिकले चोकका पसलमा चिया पनि सिसाको ग्लासमा खान नदिने गरेको बताइन् । उनले भनिन्, ‘आफैँले घरबाट ग्लास बोकेर जानुपर्छ ।’ होटेलमै बसेर चिया, नास्ता खान दिइँदैन ।’ साभार: नयाँपत्रीका