काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छिन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले संघीय निजामती ऐन मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुने चरणमा रहेको स्पष्ट पारिन् ।
उनले भनिन्, ‘अब हाउसमा छलफल भएको कुरामा समन्वयात्मक छलफल गरेर अघि बढ्नेछौँ । सरकारको सम्पती भनेर मन्त्रालयले जिम्मा लगाइसकेको छ । मन्त्रालयमा फिर्ता भएर आएको छैन, संसदमा दर्ता हुने क्रममा छ ।’
उनले निजामती ऐन कुनै राजनीतिककर्मीले ड्राफ्ट नगरेको र विभिन्न तहका विद्वत वर्गले तयार पारेको बताइन् । उनले संसदमा दर्ता भएसँगै सरोकारवाला निकायहरुसँग समन्वय र छलफल गरेर आफूहरु अघि बढ्ने प्रतिवद्धता जनाइन् ।
उनले भनिन्, ‘जुन समयमा मैले मन्त्रालय सम्हालेँ त्यतिखेर निजामती ऐन अन्तिम चरणमा थियो । निजामती ऐन कुनै राजनीतिककर्मीले ड्राफ्ट गरेको पनि होइन, उहाँहरु जस्तै विद्वानले गर्नुभएको छ । कुनै राजनीतिककर्मीले गरेको भए अलि प्रश्न आउँथे तर उहाँहरुजस्तै विज्ञहरुले, पेशाकर्मीहरुले गर्नुभएको हो ।’
मन्त्री देवीले पशु चिकित्कसको हक अधिकार सुनिश्चित गर्न सरकार तत्पर रहेको बताइन् ।