काठमाडौं । वैज्ञानिकका रुपमा काम गरिसकेका दुवै जना दाजु डा. जयकान्त राउत कृषि (च्याउ विज्ञान)मा चिवा विश्वविद्यालय, जापान र भाइ डा. सीके (चन्द्रकान्त) राउत क्याम्ब्रिज विश्वविद्यालय इंग्लयाण्डबाट इन्फरमेशन इन्जिनियरिङमा विद्यावारिधि (पिएचडि) गरेका हुन् ।
एउटा परिष्कृत एवं समृद्ध समाज निर्माणको साझा सपनासहित विदेशबाट दाजुभाइ सन् २०११मा आफ्नो गाउँ फर्के तर दुवैजनाले आ–आफ्नो सपना पूरा गर्ने बाटो चाँही फरक–फरक सोचेको रहेछ । आफ्नो घर–समाज र जन्मभूमीप्रतिको गहिरो कर्तव्यबोधले गर्दा दुवै जना विदेशको सुविधासम्पन्न सुखशयलको जिंदगी त्यागे ।
दाजुको सोच चाँही आफूले विदेशमा कृषि सम्बन्धी हासिल गरेका ज्ञान, सीप र अनुभवको आधारमा घर–समाजलाई तत्काल लाभ हुने गरी केही गरेर अघि बढने थियो भने भाइको सोच अलि फरक किसिमको दीर्घकालिन र क्रान्तिकारी रहेछ । समाज परिवर्तनको लागि राजनीतिक शक्ति अपरिहार्य छ, राजनीतिक शक्तिविना परिवर्तन सम्भव हुँदैन त्यसैले पहिले राजनीतिक शक्ति हासिल गर्नु पर्दछ भन्ने भाइको निष्कर्ष थियो ।
राजनीतिलाई फोहरी खेलको रुपमा लिने गरेको समाजमा यत्रो पढेलेखेको, तीक्ष्ण दिमाग भएको, एक जना प्रतिष्ठित वैज्ञानिक, होनहार युवाको यो फोहरी खेलमा प्रवेश गर्ने निर्णयलाई घरसमाजले सहजै स्वीकार्ने कुरै भएन । घर–परिवारलगायत सम्पूर्ण समाजबाट निर्णयको व्यापक प्रतिरोध भयो र राजनीति नै गर्नु छ भन्ने पहिले आफ्नो सन्तानलाई बढाउनु, हुर्काउनु, पढाउनु अनि मात्रै राजनीति गर्दा आफ्नो र सन्तानको भविष्य सुरक्षित हुन्छ, अहिले राजनीति गर्ने बेला नै भएको छैन भन्नेर अनेकथरी डर, त्रास देखाउँदै सम्झाउने–बुझाउने असफल प्रयास गरे ।
अन्तमा भाइले म नाबालक होइन, के गर्न हुन्छ के गर्न हुँदैन भन्ने कुराको ज्ञान मलाई छ, जुनसुकै निर्णय म स्वतन्त्रपूर्वक लिन सक्छु र पाउनु पर्छ, यो मेरो अधिकार हो भन्नेर घर–समाजसँग बिद्रोह गरे । घरसमाजको यही परिवेशले गर्दा दाजु पनि विद्यार्थीकालदेखि नै राजनीतिबाट टाढा रहँदै आए पनि पछिल्लो समयमा वहाँमा राजनीति प्रति सकारात्मक धारणा विकसित भइसकेको हुनाले भाइको विद्रोहको पक्षमा उभिए र राजनीतिक सहयात्राको शुरुवात गरे ।
धेरै पढेलेखेका मान्छे राजनीतिमा जानु हुन्न, कृषिकर्म गर्नु हुन्न जस्ता सामाजिक परिवेश र दवावले गर्दा गाउँमा बस्ने वातावरण बनेन र दाजुभाई काठमाडौं सरे । अगामी राजनीतिक मार्गचित्र बारे दाजुभाइको घण्टौसम्म राजनीतिक वहस र छलफल हुन्थे । राजनीतिक माँग, मुद्दा र मार्गचित्रलाई थप प्रष्टता प्रदान गर्न विभिन्न सरोकारवाला व्यक्ति र निकायसँगको छलफललाई तीब्रता दिँदै नोभेम्बर १४–१५, २०११ काठमाण्डौमा मधेशको विकासमा सरकारी तथा गैरसरकारी संस्थाहरुको भूमिका विषयमा आयोजना गरिएको सम्मेलनमा डा. जयकान्त राउतबाट एउटा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । यसरी प्रष्ट राजनीतिक माँग, मुद्दा र मार्गचित्रबाट साथीभाइलाई गोलबन्द गर्दै निरन्तर अघि बढदै गए ।
मार्च ३१, २०१२मा काठमाडौं खुलामञ्चमा तत्कालीन लोकतान्त्रिक मधेशी मोर्चाद्वारा आयोजित आम सभामा डा. सीके राउतले गैर आवासीय मधेशी संघको अध्यक्षको हैसियतमा पहिलो पटक सार्वजनिक मंचबाट मधेश र मधेशीलाई सम्वोधन गरिरहँदा दाजु डा राउत चाँही दर्शक र श्रोतामाझमा बसेर वहाँहरुको मुड र प्रतिक्रियाको सुक्ष्म तरीकाले अध्ययन गरे साथै सभाको परिदृश्यलाई क्यामेरामा समेत कैद गर्ने कार्य सम्पादन गरे ।
भाइ डा. राउतको ओजपूर्ण सम्बोधनबाट सभामा उपस्थित सम्पूर्ण युवाहरुमा एक किसिमको नयाँ आशा र उर्जाको संचार भयो, सबैले त्यहीबाट मधेश र मधेशीको वास्तविक मुक्तिदाता फेला पारेको अनुभूति गर्न थाले । यसरी विभिन्न कोणबाट मधेश र मधेशीको अवस्था र मुडको गहिरो अध्ययन–विश्लेषणको आधारमा मे २०, २०१२मा स्वतन्त्र मधेश गठबन्धनको घोषणा मार्फत मधेश स्वराज अभियानको शुरुवात गर्ने निर्णय भयो ।
यसको लागि स्पष्ट मार्गचित्र सहित विभिन्न रणनीतिहरु तयार गरिए । अभियानलाई सुरक्षित र दिगोरुपमा सञ्चालन गर्न कोर टीमका केही साथीहरुलाई पर्दा पछाडी विभिन्न तहमा ब्याकअपकोरुपमा राखेर अघि बढने रणनीति लिइयो । दाजु डा राउत यही रणनीति अन्तर्गत पर्दा पछाडी बसेर अभियानलाई निरन्तर निगरानी र सहयोग गर्दै आए ।
सम्पूर्ण स्वराजीहरुको जीवन तथा अधिकार रक्षाको लागि देश भित्रका संघसंस्थाहरुदेखि लिएर देश बाहिरका संघसंस्थाहरुसँग निरन्तररुपमा सम्पर्क र समन्वय गरि रहे । नेपाल सरकारले स्वराजीहरूलाई लगाइएको मुद्दाविरूद्धमा लड्ने कामको अभिभारा समेत निभाउँदै आएको हो । स्वराजीहरुमाथि मुद्दा चलिराख्दा दाजुको अधिकांश बसाईं नै प्रहरी हिरासत वा जेल वा विशेष र सर्वोच्च अदालत तिरै हुने गथ्र्यो ।
भाइ डा. राउत करीब २ दर्जन पटक पक्राऊ पर्दा उनको लागि कानूनी व्यवस्था गर्ने, हिरासत र जेलमा नियमित गएर अपडेट लिने र आवश्यक व्यवस्था गरिदिने, संघ–संगठनसँग समन्वय गरिदिने काम गर्दै आएको थियो । कतिपटक भाइ डा. राउत हिरासत वा जेलमा परे पछि उनको बाहिरी कार्यकर्ता वा संगठनसँग सम्पर्क रहँदैनथ्यो । पछिल्लो पटक सेन्ट्रल जेलमा राख्दा खेरी कारागार प्रशासनले दाजु बाहेक अरूलाई भेट्न समेत दिँदैन्थ्यो । त्यो अवस्थामा भाइको देखभाल गर्ने, उपचारको लागि पहल गर्ने, आवश्यक सरसामान पुर्याउने देखि एकल सम्पर्क सूत्रको रूपमा दाजु थिए ।
यसरी सांगठनिक जिम्मेवारी वहन गरी राख्दा अनेकौं आर्थिक, सामाजिक कठिनाईहरू समेत भोग्नु पर्यो । दाजुमाथि हरपल प्रहरीको कडा निगरानी हुन्थ्यो । प्रहरीबाट पटक पटक दु्र्व्यवहार समेत भयो । अनेकौं पटक डेराबाट समेत निष्कासित हुनु पर्यो । स्वराज आन्दोलनको क्रममा नोभेम्बर २६, २०१४मा सुन्धाराबाट पक्राऊ परी प्रहरी हिरासतमा पनि बस्नु पर्यो । अहिले पनि स्वराज आन्दोलनको क्रममा होस् कि किसान आन्दोलनको क्रममा स्वराजीहरुलाई लागेका मुद्दाहरू फिर्ता लिने विषयमा दाजुको पहल निरन्तर जारी छ ।
संगठन निर्माण र सञ्चालनमा दाजुको महत्वपूर्ण भूमिका रहँदै आएको छ । मार्च ८, २०१९मा तत्कालीन स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच वार्ता गराई जनमत पार्टी स्थापना गराउने प्रमुख व्यक्तिको रूपमा समेत उनलाई चिनिन्छ । आम निर्वाचन २०२२को लागि देश भित्र स्वतन्त्र र विज्ञहरुको उम्मेदवारीको अभियान चलिराखेको बेला पार्टीले दाजुलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारीको लागि अनुरोध गरे ।
दाजुले नास्टको वरिष्ठ वैज्ञानिक पदबाट राजिनामा गरेर सप्तरी निर्वाचन क्षेत्र १ बाट आफ्नो उम्मेदबारी दर्ता गराए र १९ हजार ९९६ मत ल्याउँदै उपविजेता घोषित भए भन्ने भाई डा राउत सप्तरी निर्वाचन क्षेत्र २ बाट ३५,०४२ मत प्राप्त गरी १८०६३को भारी मतान्तरले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै विजेता घोषित भए । पछि विज्ञताको हिसाबले दाजु डा राउत करिब १३ महिना राष्ट्रिय योजना आयोगमा काम गर्ने मौका पाए । देश भित्र जनमत पार्टी र यसको नेतृत्वप्रतिको आशा, भरोसा र लोकप्रियता बढदैं गएको र अगामी दिनमा जनमतलाई अझ एउटा सबल र सशक्त राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने दिशातिर राउत दाजुभाईको राजनीतिक सहयात्रा अघि बढेको देखिन्छ ।