सर्लाही, ३० साउन । सर्लाहीमा बर्सेनि खेतीयोग्य जमिन मासिदै गएको छ । यहाँ विगत १० वर्षमा एघार हजार चार सय ६ दशमलव ७ हेक्टर खेतीयोग्य जमिन मासिएको छ । जिल्लामा लगातार खेतीयोग्य भूभाग मासिने क्रम बढ्दो रहेको राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्कले देखाएको हो ।
दश वर्ष अगि २०६८ मा भएको जनगणना तथ्याङ्क अनुसार जिल्लाको कूल भूभाग एक लाख २५ हजार नौ सय हेक्टरमध्ये ८४ हजार ६ सय ७८ हेक्टर खेतीयोग्य जमिन रहेको थियो । त्यही खेतीयोग्य जमिन घटेर अहिले ७३ हजार दुई सय ७१ दशमलव तीन हेक्टर क्षेत्रफलमा खुम्चिएको हो ।
अव्यवस्थित तवरले भइरहेको पूर्वाधार निर्माणको प्रत्यक्ष असर जिल्लाको खेतीयोग्य जमिनमा परेको जिल्ला कृषि ज्ञान केन्द्र सर्लाहीका कार्यालय प्रमुख देवानन्द राय यादवले बताउनुभयो ।
खेतीयोग्य जमिन अतिक्रमणमा पर्दै जाँदा जिल्लाको कृषि उत्पादनको अवस्थासमेत खस्कँदै गएको छ । सङ्घीयता कार्यान्वयनपछि थप तीव्र गतिमा खेतीयोग्य जमिन मासिने क्रम बढेको छ । ‘‘केही वर्ष पहिलासम्म धान फल्ने खेतमा अहिले पक्की भवन बनेका छन्”, उहाँले भन्नुभयो । हरियो खेतका फाँटमा अहिले घरैघर छन् ।
अव्यवस्थित रुपमा भएका विकासको असर चौतर्फी परेको छ । खेतमा अन्धाधुन्द व्यापारिक भवन निर्माण गर्ने क्रम रोकिएको छैन । केही दशक अघि अन्न उब्जाउने खेत अब बाँकी नरहने प्रमुख यादवले बताउनुभयो ।
जनसङ्ख्याको आधारमा नयाँ घर बन्नु, सोही अनुसार भौतिक पूर्वाधार निर्माण हुने प्रक्रिया भए पनि कृषियोग्य जग्गालाई प्लटिङ गर्ने, खेत–खेतमा चौडा सडक पु¥याउने लगायतको गतिविधिका कारण अनियमित किसिमले खेतीयोग्य जमिन नष्ट हुँदै गएको रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादवले स्वीकार गर्नुभयो । ‘‘यसको नियन्त्रण आवश्यक छ ।’’ उहाँले भन्नुभयो ।
तराईको समथर फाँट जताततै सडक, पानी, बिजुली लगायतको सुविधिका कारण बसाइसराइँ बढेका कारणसमेत जिल्लाको खेतीयोग्य जमिन घट्दै गएको विभिन्न तथ्याङ्कहरुले देखाएको छ ।
‘‘पहाडी भू–भागबाट तराई बसाइ झर्नेको केही पहिलासम्म ताँती नै हुन्थ्यो ।’’ सर्लाहीको बागमती नगरपालिका–१, का वडाध्यक्ष गम्भीर सिङ पाख्रिनले भन्नुभयो, ‘‘अहिले केही कम भएको छ । तर, असर त्यसको पनि परेको छ ।’’ सङ्घ, प्रदेश तथा स्थानीय तहले समेत भौतिक संरचना निर्माण, सडक लगायतका विकास गर्दा खेतीयोग्य उर्वर भूभागको संरक्षणमा विषेश ध्यान दिनुपर्ने देखिन्छ ।