०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

प्रदेश सरकारले तस्करी रोक्न सीमाक्षेत्रमा आफ्नै संयन्त्र राख्नेछ : मुख्यमन्त्री सिँह

Logo
न्यूज मधेश प्रकाशित आइतबार, भाद्र ०१, २०८१

जनकपुरधाम, २ भदौ ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले तस्करी रोक्न सीमावर्ती क्षेत्रमा प्रदेश सरकारले सूचना प्रणाली स्थापना गर्न र तस्कर पक्राउ गर्न आफ्नै संयन्त्र बनाउन बाध्य हुनुपर्ने बेला आएको बताएका छन् ।

उनले सीमापारबाट गरीब जनताले नुनतेल ल्याउन सास्ती भोगिरहेका बेला तस्करहरूले रातारात गाडीका गाडी सामान भित्र्याइरहेको उल्लेख गर्दै त्यसकारणले राजस्व संकलन प्रभावित भइरहेको हुँदा सीमावर्ती क्षेत्रमा तस्करीविरुद्ध संरचना बनाउनुपर्ने बताए ।

नेपाल फाउन्डेसनद्वारा जनकपुरधामस्थित होटल सीताशरणमा शनिबार आयोजित नेपाल–भारत सम्बन्ध र युवाको भूमिका विषयक एकदिने कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री सिँहले आफ्नो प्रहरी प्रशासन नहुँदा तस्करी नियन्त्रण गर्न मधेश प्रदेश सरकारलाई कठिन भएको प्रस्ट पारे । उनले भने, ‘तस्करमाफियालाई निरुत्साहित गर्न र देशको राजस्व संकलनमार्फत आर्थिक अवस्थामा सुधार ल्याउन सीमाक्षेत्रमा मालसामानको अवैध ओसारपसार रोक्नैपर्छ ।’

सीमावर्ती भारतीय क्षेत्रमा गएर किशोरवयका नेपालीले लागुऔषधको दुव्र्यसन गर्ने र ओसारपसार गर्ने तथा त्यस क्षेत्रमा नेपालबाट अवैध ढङ्गले ठूलो परिमाणमा रक्सी पठाइने समस्या गहिरिँदै गएको औंल्याउँदै मुख्यमन्त्री सिँहले पारिपट्टि मनोद्दीपक ट्याबलेट, सिरप र सुई सेवन गर्ने नेपाली किशोरबाट सीमाक्षेत्रका भारतीय किशोरसमेत उत्सुकतावश कुलतमा फस्न सक्ने खतरा रहेको बताए । ‘पारि पुगेर गर्ने लागुऔषध सेवनका कारण एकातिर हाम्रा किशोर जोखिममा छन् भने अर्कोतिर मदिरा निषेधित भारतीय राज्य बिहारमा नेपालबाट ओसारिने रक्सीबाट भारतीय नागरिकले समस्या भोगिरहेका छन् । दुवैतिर दुवै थोक रोकिनुपर्छ,’ उनले भने ।

एक सय चालिस करोड जनसँख्या भएको भारत महान् भएको भन्दै त्यहाँको कुल जनसँख्याको एकदेखि पाँचछ प्रतिशतसम्म मात्र नेपालको पहुँच भए देश समृद्ध हुनसक्ने मुख्यमन्त्री सिँहले बताए ।

उनले धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा भारतीय विद्यार्थीहरू पठनपाठन गरिरहँदा धरानलगायत देशकै अर्थतन्त्रमा योगदान पुगेको चर्चा गरे । ‘अहिले भारतबाट कलेजहरूका कारण चिकित्साशास्त्र अध्य्यन गर्न भारतीय विद्यार्थी आउँदैनन् । जसले गर्दा देशमा आउने रकम पनि रोकिएको छ । यो दुःखद अवस्था हो,’ उनले भने ।

कुनै पनि विषयमा सकारात्मकभन्दा नकारात्मक कुरा गर्ने प्रवृत्तिले धेरै क्षेत्र प्रभावित भइरहेको भन्दै मुख्यमन्त्री सिँहले कुनै बेला नेपालमा चिकित्साशास्त्र अध्य्यन गर्नेले भारतमा मेडिकल काउन्सिलको परीक्षा दिन नपर्ने अवस्था रहेकोमा नकारात्मक प्रचारकै कारण अब दिनुपर्ने भएको बताए ।

उनले भारतीय शिक्षण संस्थानमा भारतीय छात्रले वर्षौँसम्मको मिहिनेत र तपस्याले जेनतेन ठाउँ पाउने अवस्थामा नेपाली छात्रले भारतीय राजदूतावासको छात्रवृत्तिका माध्यमबाट सजिलै भर्ना पाइरहेको स्थिति नेपालका लागि सौभाग्य भएको बताउँदै भारतबाट पढेर आएकाहरूबाट नेपालको समृद्धिमा योगदान लिनुपर्नेमा जोड दिए ।

उनले नेपाल र भारत सम्बन्धलाई सुदृढ र विस्तार गर्न नेपालका युवाको भूमिका महत्त्वपूर्ण हुने बताए ।

शिक्षा तथा सँस्कृति मन्त्री रानीकुमारी शर्माले नेपाल र भारतबीचको धार्मिक, साँस्कृतिक, शैक्षिक र साँस्कृतिक सम्बन्धको पृष्ठभूमि र विविध आयाम मधेश प्रदेशसँग जोडिएको बताइन् । उनले आफ्नो निर्वाचनक्षेत्र भारतीय सीमासँग जोडिएकाले दुई देशबीचको अन्योन्याश्रित सम्बन्धलाई नजिकबाट नियालेको भन्दै अनुहार, बोलीचाली, रहनसहन र व्यवहारको समानताले दुई देशका जनताबीच पार्थक्य गर्न कठिन हुने उल्लेख गरिन् ।

मन्त्री शर्माले भाइदैयाद पारि र आफ्नो वारि बसोबास भएका नेपाली नागरिकसँग मत माग्न जाँदा कतिपय अवस्थामा आफूले नो म्यान्स् ल्यान्ड पार गरेर जानुपर्ने सुनाउँदै त्यसले दुई देशबीचका नागरिकबीचको सम्बन्ध सुदृढ रहेको प्रस्ट्याएको बताइन् ।

मन्त्री शर्माले समेत सीमापार लागुऔषधको सेवन गर्न नेपाली युवा सीमापार जाने स्थिति विकराल बनेको र त्यसले अपराध बढाइरहेको बताइन् ।

विभिन्न आन्दोलन, सामाजिक रूपान्तरण र परिवर्तनमा युवाको भूमिका प्रशंसनीय रहेको भन्दै दुई देशबीचको सम्बन्धलाई बहुआयामिक सहकार्यमा परिणत गर्न नेपाली युवाले अग्रसरता लिनुपर्ने मन्त्री शर्माको कथन थियो ।

मधेश प्रदेशसभा सदस्य भाग्यश्री चौधरीले विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा भारतको अग्रताबाट नेपालले फाइदा लिनुपर्ने भन्दै त्यसका लागि युवाको सक्रियता आवश्यक रहेको बताइन् ।

नेपाल–भारत युवा मैत्री संघका महासचिव कृष्णा सिँहले सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण हुनुपर्ने बताए ।

फाउन्डेसनका अध्यक्ष विकास ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा नेपाल–भारत सम्बन्ध र युवाको भूमिका विषयमा पत्रकार अनिलकुमार कर्णले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन अभरेन्द्रकुमार यादवले गरेका थिए ।

कार्यक्रममा मधेशका आठवटै जिल्लाका युवाको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले नेपाल र भारतबीचको सम्बन्ध मजबुत गर्ने विषयमा केन्द्रित एघारबुँदे जनकपुरधाम घोषणापत्र समेत सार्वजनिक गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]