जनकपुरधाम ७ भदौ । मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेशका बालबालिकालाई कुपोषणबाट जोगाउन प्रदेश सरकारले विशेष अभियान सञ्चालनको तयारी गरेको बताउनुभएको छ ।
आज जनकपुरधाममा वर्ल्ड भिजनको सहयोगमा सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा भएको ‘मधेसमा पोषणको अवस्था तथा नकारात्मक हानिकारक अभ्यास’का विषयमा भएको छलफलमा उहाँले अन्य प्रदेशको तुलनामा मधेसमा बालबालिका बढी कुपोषित हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै यसविरुद्ध अभियान सञ्चालन गर्नु परेको बताउनुभयो ।
मन्त्री शर्माले सचेत तथा पढेलेखेका अभिभावकहरूले पनि आफ्नो छोराछोरीहरूलाई खाजामा ‘जङ्क फुड’ दिने गरेकाले अभिभावकहरूमा नै पोषणको महत्व बारेमा जानकारी गराउनुपर्ने अवस्था आएको धारणा राख्नुभयो ।
मधेस प्रदेश, प्रदेश मामिला समितिका सभापति रत्नेश्वरलाल गोइतले कतिपय परम्परागत मान्यताहरू वैज्ञानिक रहेको सन्दर्भ उल्लेख गर्दै रोग प्रतिरोधात्मक क्षमता बढाउने गरी तिनको प्रयोग गर्न सकिने धारणा राख्नुभयो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका पोषण अधिकृत विनोद यादवले पाँच वर्षमा बालबालिकाको मानसिक विकास ९५ प्रतिशत हुने भएकाले सो समयमा पोषणयुक्त खाने कुरामा ध्यान दिन आग्रह गर्नुभयो ।