रोहित महतो,जनकपुरधाम,१८मंसिर।चिउँडोदेखि कम्मरसम्म देखिने डरलाग्दो मासुको डल्ला परेको अनुहार । एकाएक उनको शरिरमा नजर परेपछि जोकोही तर्सिन्छ । बच्चा चिच्चाउन थाल्छन, व्यस्क होच्चयाउन थाल्छन् । नियमित देख्ने छिमेकीले गाली गर्दै यतातिर किन हेरेको भन्दै मुख लरबराउँदै गाली सुरु गरिहाल्छन् ।
समाजको यस्तो व्यवहारबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ का श्याम यादव आजित भइसकेका छन् । उनको अनुहारभर समेत स–साना डल्ला छन् ।
उनलाई यो कुनै रोग होइन्, जन्मदै चिउँडोमा एउटा सानो गिर्खा थियो । उमेर बढ्दै गएसँगै चिउँडोको मासुको डल्ला पलाउँदै आयो । सामान्य अवस्थामा उनलाई त्यो डल्लो नदुःखेपनि हल्का चोट लाग्दा रगत आउन थाल्छ र दुःखाइको पीडाबाट उनी छट्पटाउँछन् । र, उनको अनुहार हेरेरै नाक खोम्च्याउने गाली गरिहाल्ने लगायत थरिथरीका घिनलाग्दो व्यवहार देखेर उनलाई दुखाइको भन्दा बढी पीडा हुन्छ ।
कसैले हेरिरह्यो भने उनलाई दिक्क लाग्छ । न त धेरै हिँडडुल गर्न सक्छन् श्याम, न त सके जति पनि उनलाई हिड्न मन नै लाग्छ । ‘मलाई देखेर फर्कि फर्कि हेर्ने, कुरा काट्दै हिँड्छन् । कसैले सुनाएर गाली गर्छन भने कसैले हेर्ने बितिकै मुख चलाउन थाल्छन् । आखिर मेरो के दोष ? मैले जानीजानी यस्तो अनुहार बनाएको हो ?’, उनले गुनासो पोखे । मासुको डल्लाले जिवनै बर्बाद भएको बताउने श्यामलाई हिलडुल गर्न पनि उतिकै गाह्रो छ । घरमा कमाउने कोइ छै्रनन । ४६ वर्षीय श्याम धनुषाकै लक्ष्मिनिया गाउँपालिकास्थित निकालमा आफ्नो मामा घरमा बस्छन् । उनी अझै बृद्धा आमा र मामामाथि आश्रित छन् ।
गाउँमा समान्य हिलडुल गर्ने उनी नजिकैको बजार जाँदा, गाडी चढ्दा मान्छेहरू तर्सिने गरेको बताउँछन् । ‘बसको सिटमा बस्दा सँगैका यात्रु सिट छोडेर जान्छन् । ‘कोही नाक खुमच्उँदै गाली गर्छन भने बालबालिका डराएर भाग्छन्,’ उनले भने, ‘मेरोजस्तो पीडा अरू कसैले भोग्न नपरोस् ।’ मानिसका यस्ता व्यवहारले उनी रातभर घरमा सोच्छन् । ‘मेरो पीडा बुझ्ने यो संसारमा भगवान् त छैनन्,’ पीडा सुनाउँदै श्याम भन्छन् , ‘बुबा त बित्नु भयो, आमा र मामाको साथ र सहयोगले बाँचिरहको छु । ’
शारिरीकरूपले सामान्य हिलडुलबाहेक केही काम गर्न नसक्दा पनि उनी अपाङ्गता भएको व्यक्तिको सूचीमा छैनन् । ‘एउटा औँला काटिएका व्यक्तिसँग अपाङ्गता भएको कार्ड हुन्छ ।
उनीहरू सरकारी सुविधा र भत्ता पाउँछन् तर, मैले केही काम गर्न नसक्ने हुँदा पनि सरकारी सुविधा र भत्ता पाउँदिनँ,’ उनले दुःखेसो पोखे । उनी मानसिक रूपले समेत पूर्णरूपमा सक्षम छैनन् । तर, सानो घाउचोट लागेका व्यक्तिले पनि पहुँचका आधारमा अपाङ्गता भएको कार्ड लिएर तलव तथा सरकारी सुविधा लिँदा उनी टुलुटुलु हेरेर बस्छन् ।