२६ फाल्गुण २०८१, मंगलबार
11-03-2025 , Tue
×

वडा सचिव थुनामा, वडाध्यक्ष फरार

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

न्यूजधेश सम्बादाता
परासी ,१० जेठ । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर(किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ ।

विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल अभिलेख रजिष्ट्ररमा उल्लिखित विवाह मिति केरमेट गरी फरक पारेर प्रतिलिपि जारी गरेको भन्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरको मुद्दा दायर भएको थियो ।

मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै अदालतले वडा सचिव कहार र रामग्राम–५ की रुक्शाना शेषलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । फरार रहेका वडाध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

रामग्राम–५ का सुबेदार शेष र रुक्शाना शेषको विवाहदर्ता प्रतिलिपि दिँदा केरमेट गरी मिति फरक पारिएको थियो । रुक्शानाका पति सुवेदारले सरकारी छाप दस्तखत किर्ते गरिदिने कार्यमा संलग्न वडाध्यक्ष गुप्ता, वडा सचिव कहारसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

उक्त कार्यमा आफ्नै श्रीमती रुक्शाना, वडाध्यक्ष गुप्ता, वडा सचिव कहार, तत्कालीन वडा सचिव नन्दलाल कहार, कार्यालय सहयोगी अमरलाल कहार गरी पाँच जना संलग्न रहेको भनी विपक्षी बनाइएको थियो । मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालतले किर्ते कागज बनाइदिने प्रतिवादी गोविन्द र किर्ते कागज प्रयोग गर्ने रुक्शानालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको तथा नन्दलाल कहारलाई रु ६० हजार धरौटीमा छाड्ने आदेश भएको अदालतका निमित स्रेस्तेदार तीर्थराज शर्माले जानकारी दिनुभयो । प्रतिवादीमध्येका कार्यालय सहयोगी अमरलालको भने केही दिन अगाडि मृत्यु भएको छ ।

“म वडा कार्यालयमा गई विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि सराइ अध्ययन गर्दा तत्कालीन गेरमी गाविस(हाल पाल्हीनन्दन–५) को दर्ता नं ४७ रहेको २०७०÷०७÷०४ मा जारी गरिएको विवाह दर्ता प्रमाणपत्रमा विवाह मिति २०६२÷१२÷१५ उल्लेख रहेकोमा वडा सचिव गोविन्द कहारले सोही दर्ता नंको प्रतिलिपि बनाउँदा केरमेट गरी विवाह मिति २०६०÷१२÷१५ गते बनाई फरक पारेको पाएपछि प्रतिवादीहरुउपर कानूनबमोजिम सजायँको माग गर्दै मैले जाहेरी दिएको छु”, सुवेदारले जाहेरीमा उल्लेख गर्नुभएको छ ।

पतिपत्नी सुबेदार र रुक्शानाबीच विवाद भएपछि रुक्शानाले जिल्ला अदालतमा अंश नामसारी मुद्दा दिएपछि अनुसन्धान हुँदै जाँदा उक्त रहस्य खुलेको थियो । वडाध्यक्ष गाउँमा खुला घुमिरहेकाले तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्नुपर्ने पीडित पक्षको माग छ । बन्दाबन्दी र कोरोना सङ्क्रमणको जोखिमका कारण पक्राउ गर्न नसकिएको प्रहरी चौकी गेरमीका प्रमुख नारायण लुइँटेलले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]