११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

गाउँलेले कोरोना भगाउन पशुबली दिए, अगुवा भन्छन्– अन्धविश्वास

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,११ असार। तराई–मधेशको पौराणिक वाद्यवादन ढोल, पिपही घन्किरहेको छ । खाली चौरमा चारैतिर मान्छेको भिड छ । महिला, बालबालिका, बृद्वबृद्वा, युवा सबै मग्न छन् ।

चारैतिर घेरा बनाइएको भिडबीचमा पूजा सामग्री राखिएको छ । त्यहीं आगो बालेर पकाइएको खीर केराको पातमा राखिएको छ । ती खीरमाथि लड्डू, केरा र सुपारी सजाइएको छ ।

मिथिला क्षेत्रका हस्तकलाका सामग्री डलिया, मौनी पनि पूजास्थलमा सजाएर राखिएको छ । धूपले वातावरण सुगन्धित बनेको छ ।

घेराभित्र केही महिला–पुरुष पूजापाठमा व्यस्त छन् । आधाघण्टा जति पूजापाठ गरेपछि उनीहरु नाच्न थाल्छन् । अब देऊता आएको विश्वास गरेको भिड शान्त बन्छ । शान्त भिडमा अब कौतुहलता भरिएको देखिन्छ ।

त्यहीबीचमा ढोल र पिपहीको आवाज चर्किन्छ । पूजामा सरिक महिलाहरु आफ्नो बाँधिएको केश फुकाउँदै, ‘है, हौ, पापी भाग…’ भन्दै अझ जोडले नाच्न थाल्छन् ।

धनुषाको शहीद नगरपालिका– ८ बिसरभोराको यो दृश्यले ठूलै पूजा आयोजना भएको जनाउँछ । मधेशका जिल्लामा बाह्रै महिना सामूहिक पूजापाठ भइरहने भएपनि बिसरभोरामा भइरहेको पूजा पृथक थियो ।

खासमा यो कोरोना भाइरस भगाउन भन्दै आयोजना गरिएको पूजापाठ थियो । हातमा लाठी लिएका पुरुष नाच्दै सोध्थे– ‘यो भाइरस कसलाई भन्छ ?’

भिडबाट केही व्यक्ति उत्तर दिन्थे– ‘अर्कै दुनियाँको हो रे ! यसले मान्छे मार्छ ।”

नृत्यरत पुरुषले लाठी उचाल्दै ‘भाइरस, ताइरस भाग्…’ भनेपछि भिड आश्वस्त भएको आभास हुन्थ्यो ।

कोरोना भगाउने धामीको भूमिकामा गाउँकै भोला तेथबार यादव, विश्वनाथ कुर्मी, मंगलीदेवी दास, कैलाश देवी महरा र सुमिन्त्रादेवी दास थिए ।

कोरोना महामारी लम्बिदै जाँदा मधेशका जिल्लाहरुमा पूजापाठ हुन थालेको छ । बिसरभोरामा ‘कोरोना भगाउने पूजा’का लागि प्रत्येक घरबाट १०० रुपैयाँ चन्दा संकलन गरिएको थियो ।

बिसरभोरामा कोरोनाको नाममा पशुवली समेत दिइयो । एउटा बोका, दुईवटा पाठी र चारवटा परेवा वली दिइएको स्थानीय उपेन्द्र यादवले बताए ।

उनका अनुसार, गाउँका केही अगुवाहरुले यसलाई अन्धविश्वास भन्दै विरोध गरेका छन् ।-अनलाईनखबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]