प्रभाषचन्द्र झा
जनकपुरधाम ,७ श्रावण । मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक छाएको छ । धार्मिक एवम् सांस्कृतिक पहिचान बोकेका यो पर्वलाई नवविवाहिताले अपार श्रद्धाका साथ उल्लासमय वातावरणमा मनाइरहेका कारणले रौनक छाएको हो ।
मौना पञ्चमी तिथिबाट शुरु भई साउन कृष्णपक्षको तृतीया तिथिमा विधिवतरुपमा यो पर्व बिहीबार सम्पन्न हुनेछ । यस पर्वका अवसरमा लगातार तेह्र दिनसम्म दाम्पत्य जीवन सुखमय बनाउन र पतिको दीर्घायूको कामनाका साथ विभिन्न देवीदेवताको पूजा गरिन्छ । खासगरी, अराध्यदेव महादेवकी अर्धाङ्गनी गौरीको विशेष पूजा हुने गर्दछ ।
यस पर्वको अवधिमा नवविवाहिताले प्रतिदिन अपराह्नको समयमा टोलमा भ्रमण गरी भोलि गर्ने पूजाका लागि फूल टिप्छन् । सो बासी फूलबाट पूजा गर्ने नियम रहेको छ । नवविवाहिता आआफ्ना सङ्गिनीको साथ फूल टिप्ने गर्छन् । यसलाई ‘फूल लोढ्न’ विधि भनिन्छ । विवाह भएको पहिलो साउन महिनामा मनाइने गरिएको यस पर्वको मुख्य उद्देश्य दाम्पत्य जीवनलाई सुमधुर एवं सुखमय बनाउनुनै हो । यो पर्वको धार्मिक एवं सांस्कृतिक महत्व आफ्नो ठाउँमा जेजस्तो भए पनि पत्नीको जिम्मेवारी, कर्तव्य, ससुरालीमा बसाईको क्रममा निर्वाह गर्नुपर्ने भूमिका र पारवारिक दायित्व साथै पतिव्रत धर्मलगायतका विषयमा जानकारी गराइन्छ ।
धार्मिकग्रन्थमा उल्लेख गरिएका पतिपत्नी, सन्तानको लालनपालन सम्बन्धित कथा सुनाएर सोअनुरुप पारवारिक सम्बन्धलाई प्रगाढरुपमा बलियो बनाउन र जिम्मेवारीको बोध गराउनका लागि एक किसिमको तालीम प्रदान गर्नु नै यस पर्वको मुख्य उद्देश्य देखिन्छ ।
लगातार १३ दिनसम्म चल्ने यस पर्वमा विभिन्न देवीदेवताको कथा सुनाउने गरिन्छ । टोलभरका महिला नवविवाहिताका साथ पूजास्थलमा बसेर कथा सुन्ने गरिन्छ । यस पर्वका विभिन्न कथाको सम्बन्धमा जानकार महिलाले शिक्षिकाको भूमिका निर्वाह गर्दै विधिपूर्वक पूजा गराउनुका साथै कथा उदाहरणसहित श्रवण गराउने गरिएको अमिता झा बताउनुहुन्छ ।
यस पर्वको पहिलो दिनमा नवविवाहिताले मौना पञ्चमीको कथा र विसहराको जन्मको कथा श्रवण गर्छन् । सर्पदंशबाट पतिका साथै परिवारको रक्षाका लागि नागनागिनको पूजा गरी पर्वको शुभारम्भ गर्छन् । त्यसपछि, क्रमिकरुपमा दोस्रो दिन महादेवको मानसपुत्री बिहुलाको कथा, बिसहरा कथा, मङ्गला– गौरीको कथा र तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थनको कथाको सम्बन्धमा विस्तारमा जानकारी गराइन्छ ।
त्यसपछि, चौथो दिन सतिको कथा, कुमरव्रता र पतिव्रता कथा, दन्त्य कथामा आधारित महादेवको पारवारिक कथा, छैँटो दिन गङ्गाकी कथा, गौरीकी जन्म, सातौँ दिन गौरीकी तपस्या र आठौँ दिन गौरीको विवाहको कथा श्रवण गराइन्छ ।
त्यस्तै, नवौं दिन गौरीकी माता मैनाकी मोह भङ्गको कथा, दशौँ दिन कात्तिक र गणेशको जन्म, एघाऔँ दिन सन्ध्याको विवाह र लिलीको जन्म, विवाह, पतिव्रता सुकन्याकी कथा, बाह्रो दिन बाल– वसन्त, गोसाउनीको कथा र तेह्रो दिन राजा किरकको कथा र गणेशद्वारा सोहाग मन्थन र वितरणको सम्बन्धमा विस्तृतमा बताइन्छ ।
यो पर्व मनाउनका लागि नवविवाहिताको ससुरालीबाट कोसेलीका साथै पूजाको सामग्री पठाइन्छ । यसका साथै, नवविवाहिताको नयाँ बस्त्र, चामल, मिठाइ, बदामलगायत सामग्रीका साथै पकवान र बिसहरा पूजाका लागि माटोको कलात्मक पञ्चमुखी नागनागिन पनि पठाइन्छ । यसका साथै दुल्हाको घरबाट नवविवाहिताकी आमा, दिदी, बहिनी, काकीलगायत परिवारका सम्पूर्ण महिलाका लागि पनि नवबस्त्र उपहारको रुपमा कोसेलीको रुपमा पठाउने गरिन्छ ।
मधुश्रावनीका दिन गाउँभरका आफ्ना जातका साथै आफन्तलाई दुल्हाका पक्षबाट दुल्हीको घरमा पुगेर आफ्नो तर्फबाट भोज खुवाउने गरिन्छ । सो भोजमा आधिकारिकरुपमा महिलालाई मात्रै निम्तो गरिन्छ । मैथिल समुदायको यो एकमात्र महिलाको अधिकारिक भोजको रुपमा चिनिन्छ । यो पर्व मैथिल समुदायको ब्राह्मण, कायस्थ, व्यास र स्वर्णकार जातिका नवविवाहित महिला अनिवार्यरुपमा मनाउने गरिन्छ । यसका साथै यी जातकी सधवा महिला पनि मधुश्रावणी पर्वका दिन पूजापाठ गरी पतिको दीर्घायूको लागि दिनभर उपवासमा बसेर पर्व मनाउँछन् ।
मधुश्रावणी पर्वका दिन अनिवार्यरुपमा नवविवाहिता आफ्ना पतिका साथ पूजामा बस्ने गर्छन् । पूजा सम्पन्न भएपछि महिलालाई भोज खुर्वापछि विधिवत्रुपमा पर्व सम्पन्न हुन्छ ।