०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको उद्योग सञ्चालनको तयारीमा

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही,७ कार्तिक । उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको जिल्लाको धन्कौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा रहेको छ ।

किसानको सम्पूर्ण बाँकी वक्यौता भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारीमा रहेको उद्योग प्रशासनले जनाएको छ । सो उद्योगले उखु उत्पादक किसानको करिब रु २४ करोड भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

उद्योग सञ्चालनमा आएदेखिकै किसानसँग उखु खरिद गरेबापत भुक्तानी नगरेको यस उद्योगले गत सिजनमा उद्योग सञ्चालन नै गर्न सकेको थिएन । उद्योगका उखु क्यान म्यानेजर अजित सिंहले यो सिजन शुरु हुनुभन्दा अघि नै किसानको सम्पूर्ण भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारी छ । हाल उद्योगको मर्मतसम्भारको काम भइरहेको उहाँको भनाइ छ ।

गत सिजनमा उद्योग सञ्चालन हुन नसकेका कारण उद्योगका मेसिन मर्मतको काम भइरहेको उद्योगले जनाएको छ । आउँदो नोभेम्बरबाट सञ्चालन गर्न सकिने गरी मर्मतसम्भारको काम भइरहेको उद्योगका महाप्रवन्धक (जिएम) टेक्निसियन राजेन्द्र चौधरीले बताउनुभयो । “उद्योग कहिलेबाट सञ्चालन हुन्छ, हामीलाई थाहा छैन”, उहाँले भन्नुभयो, “तर, सञ्चालन गर्न नोभेम्बरबाट सकिने गरी प्राविधिक पक्ष तयार गर्दैछौँ ।”

उद्योगको स्टोरमा पाँच हजार क्विन्टल चिनी र १४ हजार क्विन्टल मोलासिस मौज्दात रहेको बताउँदै स्टोर म्यानेजर एचपी शुक्लाले उद्योगको केन्द्रीय कार्यालयले अहिले पनि थोरै थोरै गरेर किसानको भुक्तानी गरिरहेको छ भन्नुभयो । “सबै काम काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट भइरहेको छ”, उहाँले भन्नुभयो, “हामीलाई भुक्तानी र स्टोरको सामान बिक्री–वितरणबारे कुनै जानकारी छैन ।”

यता उद्योगका मजदूरले काम गरेको तलबबापतको भुक्तानी नपाएको गुनासो गरेका छन् । सोही उद्योगमा लामो समय काम गरेका राम एकवालले उद्योग बन्द रहेका कारण ज्याला नपाउँदा हातमुख जोर्न समस्या भएको बताउनुभयो । यता उद्योगमा आएको विभिन्न समस्यका कारण किसानसँगै उद्योगका मजदूरको भुक्तानीमा पनि ढिलाइ भएको उद्योग प्रशासनले जनाएको छ ।

गत वर्ष उद्योग नै सञ्चालन हुन नसकेको र किसानको समेत धेरै भुक्तानी गर्न बाँकी भएका कारण मजदूरले पैसा पाउन ढिला भएको उद्योगका क्यान म्यानेजर सिंहको भनाइ छ । उहाँले मजदूरको भुक्तानी चाँडै हुने बताउनुभयो । उद्योगमा ९२ जना मजदूर कार्यरत छन् । उनीहरूको विभिन्न समयको गरी उद्योगले हालसम्म लगभग १८ लाख तलब भुक्तानी बाँकी राखेको उद्योगका क्यान म्यानेजर सिंहको भनाइ छ ।

यता किसानले उद्योगले पहिलाको भुक्तानी नगरेसम्म उखु नदिने र उद्योग पनि सञ्चालन गर्न नदिने बताएका छन् । तीन सिजन पहिला उद्योगलाई दिएको उखुको अहिलेसम्म भुक्तानी नपाएको उनीहरू उद्योगप्रति आक्रोशित छन् ।

अनुदानको खेल
अघिल्लो सिजनमा सञ्चालनमा आउन नसकेको उद्योग एक्कासी सञ्चालनको तयारी गर्नुले किसानको भुक्तानी दिने र उखु क्रसिङ गर्नेभन्दा पनि राज्यले रुग्ण उद्योगका लागि दिने भनेको अनुदानको खेल हुन सक्ने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीको आरोप छ ।

यत्रो समय किसानले सङ्घर्ष गर्दा भुक्तानी गर्न तयार नहुने उद्योगपतिले एक्कासी करोडौँ भुक्तानी गर्ने कुरामा विश्वास गर्न नसकिने उहाँको भनाइ छ । “यो राज्य र उद्योगपति मिलेर एक–अर्कालाई पोस्ने खेल हुन सक्छ”, उहाँले भन्नुभयो, “होइन भने त्यहाँका किसानको अनेक बहानामा रोकेको उखुको भुक्तानी दिने हो भने खोइ त तयारी ?” अध्यक्ष मैनालीले उद्योगले अझै किसानको रु २४ करोडको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो । उद्योगले किसानको भुक्तानीलगायतको काम केन्द्रीय कार्यालय काठमाडौंबाट भइरहेको बताइरहे पनि केन्द्रीय कार्यालयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

जिल्लामा अन्नपूर्णसहित तीनवटा चिनी उद्योग छन् । तीमध्ये गत सिजनमा हरिवन– ११ स्थित इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदह मात्र सञ्चालनमा आएका थिए । देशभरिमै सर्लाही सबैभन्दा धेरै उखु उत्पादन हुने जिल्ला हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]