०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

जितनको जीवनमा नयाँ बिहानी आएको अनुभूति

Logo
प्रकाशित बिहिबार, कार्तिक १३, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,१३ कार्तिक ।अनुहार मलिन र चिन्तित मुद्रामा देखिने सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसवलपुरका जितन सदाको अनुहारमा अचेल छुटै रौनक र चमक देखिन्छ । वर्षौदेखि साहुमहाजनमा हरवा चरवाको रुपमा काम गर्दै आएका सदा साहुबाट मुक्त भएपछि जीवनमा छुट्टै आनन्दको अनुभूति गरिरहनु भएको छ । “बाबु साहुमा खेतीपाती गर्न हरवाको रुपमा काम गरिरहँदा म गाई गोरु चराउने गोठालोको काम गर्दै आए”, सदाले भन्नुभयो,“ अहिले साहुबाट हरवा चरवाबाट मुक्त भएकाले जीवनमा छुट्टै आनन्दको अनुभूति भइरहेको छ ।” अहिले स्वतन्त्र भएर बाँचिरहेको महसुस भइरहेको उहाँको अनुभव छ ।

“गाउँका जमिन्दार राजदेव चौधरीको घरमा हरवा चरवाको रुपमा काम गर्दा दासत्वको अनुभूति भइरहेको थियो”, ५५ वर्षीय सदाले अगाडि थप्दै भन्नुभयो,“ पहिला जीवन कसैको अधिनस्तमा भने अनुभूति भइरहेको थियो, अहिले नयाँ जीवन पाएको महसुस भइरहेको छ ।”

पहिला साहुको खेतमा मजदुरी गर्ने सदा अहिले आफू मालिक भएको अनुभव सुनाउनुहुन्छ । “पहिला घाम र पानीलाई पर्वाह नगरी मरिमरी साहुको खेतबारी र घरमा काम गर्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “अहिले साहुबाटै बटैयाँ र ठेक्कामा १० कठ्ठा जग्गा लिएर आफैँ खेती गर्दै आएका छौँ ।” यसबाट छुटै आनन्दको अनुभूति भइरहेको उहाँको कथन छ ।

समाजमा कारुणिक दासत्वको जीवन बिताउँदै आएका शम्भुनाथ नगरपालिका–९ बसवलपुरकै मुक्ति सदालाई यतिबेला फरक अनुभव भइरहेको छ । गाउँकै साहुमा खेतीपाती र गोठालोको काम गर्दै आएका मुक्तिको जीवनमा अहिले आमूल परिवर्तन आएको छ ।

“पहिलाको भन्दा अहिले समय धेरै परिवर्तन भइसकेको छ”, मुक्तिले भन्नुभयो,“ बाबुले लिएको ऋण तिर्न नसक्दा म पनि साहुकोमा हरवाही बस्नुपर्ने स्थिति थियो, तर अहिले साहुबाट मुक्त भएर स्वतन्त्र जीवनमा बाच्न पाउँदा औधिखुशी लागेको छ ।” निरक्षर रहेका मुक्तिले यो जीवनमा साहुबाट मुक्ति मिल्छ भने विश्वासै थिएन् तर मुक्ति पाइयो यसबाट आफू मात्रै होइन, पूरै परिवार मुक्तिको अनुभूति गरिरहेको उहाँले बताउनुभयो ।

जितन र मुक्तिको अनुहारमा आएको चमक र सुखी कुनै अदृश्य शक्तिको प्रभावबाट नभई सामाजिक अभियानबाट आएको हो । पुस्तौपुस्ता दासत्व जीवन बिताउँदै आएका हरवा चरवालाई लक्षित गरी द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले “सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तीकरण कार्यक्रम” को सकारात्मक प्रभावबाट हरवा चरवाको जीवनमा सुखीयाली आउन थालेको छ ।

जिल्लाको शम्भुनाथ नगरपालिकाको विभिन्न वडामा रहेका हरवा चरवा परिवारलाई सङ्गठित गर्दै मुक्ति अभियान नै चलाएपछि विस्तारै हरवा चरवा आफ्ना हक अधिकारको खोजी गर्नुका साथै साहुमहाजन पनि परिवर्तनलाई आत्मसात् गर्न थालेको शम्भुनाथ नगरपालिका–५ का वडाअध्यक्ष हिरणकुमार चौधरीले बताउनुभयो ।

“पहिला साहुहरुको सामुनेमा बोल्नसमेत डराउने र लजाउने हरवा चरवा अहिले खुलेर आफ्नो सवालमा बहस गर्न थालेका छन्”, वडाध्यक्ष चौधरीले भन्नुभयो,“ विस्तारै सरोकारवालाहरु पनि हरवा चरवाको सवालमा सकारात्मक बन्दै गएकाले हरवा चरवाको जीवनमा परिवर्तन आउन थालेको छ ।” हरवा चरवा परिवारका बच्चाहरु विस्तारै विद्यालय जान थालेको र उहाँहरु पनि अहिले सङ्गठित भएर अधिकारको खोजी गरिरहेको यही कार्यक्रमको उपलब्धि भएको वडाध्यक्ष चौधरीको कथन थियो ।

शैक्षिक, आर्थिक र सामाजिकलगायत हरेक पक्षबाट पछाडि परेका हरवा चरवालाई सशक्त बनाउन विगत चार वर्षदेखि अभियानकै रुपमा कार्यक्रम चलाएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले बताउनुभयो ।

“यही कार्यक्रमअन्तर्गत शम्भुनाथ नगरपालिकाको १२ वटै वडामा हरवा चरवा परिवारलाई समेटेर समूहहरु बनाएका छौँ”, कार्यक्रम संयोजक चौधरीले भन्नुभयो,“ गठन भएका समूहका सदस्यले बचत गर्ने र आवश्यकतानुसार ऋणसमेत लगानी गरिरहेका छन्, यसबाहेक सामाजिक विकासका अन्य कार्यसमेत गर्दै आएका छन् ।” यसबाट हामी पनि थप उत्साहित भएर कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइरहेको उहाँको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]