
अली असगर
काठमाडौं ,१५ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाको एउटा समूह, प्रमुख प्रतिपक्षी कांग्रेससहितका शक्ति अहिले सडकमा छन्। नागरिक समाजको नाममा पनि केही मानिस सडकमा ओर्लिएका छन्।
ओलीले प्रतिगामी कदम चालेको भन्दै सत्तारुढ दलकै दाहाल–नेपाल समूहसहित अन्य दलहरुले दबाबमूलक कार्यक्रम गरिरहेका छन् । ओलीको कदमपछि पुसको यो जाडोमा देशभर राजनीतिक माहोल भने तातेको छ।
अघिल्लो चुनावपछि गाउँ छाडेका दलहरु नेकपामा विभाजन आएसँगै फेरि फर्किएका छन्। दैनिक भइरहेका जुलुस र विरोधका कार्यक्रमले गाउँदेखि जिल्ला सदरमुकाममा पनि राजनीतिक रौनक फर्किएको छ।
दाहाल–नेपाल समूह, कांग्रेस, जसपासहितका दलले राजधानी काठमाडौंदेखि गाउँसम्म ओली सरकारको कदम प्रतिगामी भन्दै दैनिकजसो आन्दोलन गरिरहेका छन्।
संविधान नमान्ने पनि सडकमा
नेपालको संविधानमा कहीँ पनि संसद विघटनको प्रावधान नरहेको भन्दै नेकपा र कांग्रेस आन्दोलित हुनु स्वभाविक हो तर यति बेलाको अर्को रोचक दृश्य भनेको संविधान नै अस्वीकार गरेको जनता समाजवादी पार्टी पनि सडकमा देखिएको छ।
नेपालको संविधानलाई अस्वीकार गर्दै आएको यो समूहले पनि त्यही संविधान अन्तर्गत बनेको संसद पुनःस्थापनाको नारालाई बोकेको छ। आफ्ना अधिकार र माग नसमेटिएको भन्दै यी संविधान जलाएकाहरू समेत अहिले संसद् पुनःस्थापनाका लागि सडकमा उत्रिएका हुन्।
विरोधमा थिए
२०७२ असोज ३ गते संविधान जारी हुँदा मधेस केन्द्रीत तत्कालीन दलहरु तमलोपा र फोरम पार्टीले आफूहरुलाई मान्य नहुने भन्दै जलाएनन् मात्रै थिएनन् त्यो दिनलाई ‘कालो दिन’ का रुपमा मनाउने घोषण समेत गरेका थिए ।
संविधान जारी भएको दिन मधेसवादी दलको आह्वानमा तराई–मधेसमा ‘ब्ल्याक आउट’ गरिएको थियो । यसैलाई आधार मानी प्रत्येक वर्षको ३ असोजमा मधेस केन्द्रित दलहरु संविधानविरुद्ध कालो दिवस मनाउने गर्छन् । जुन क्रम अहिले पनि जारी छ ।
संविधान अस्वीकार गरेको कुरालाई बेवास्ता गर्दै जसपाले अहिले भने त्यही संविधानको पुनर्बहाली माग गर्दै प्रदर्शन गरिहेको छ । तर पनि जसपाले आन्दोलित हुन कुनै संङ्कोच मानेको छैन । बरु उल्टै व्यवस्थालाई जोगाउन आन्दोलित हुनु परेको भन्दै आफ्नो कदमको बचाऊ गरेको छ।
जसपा नेता राजेन्द्र महतोले संविधानको रक्षक भनिएको नै भक्षक भएपछि विरोधमा उत्रिएको बताएका छन् । ‘यो सरकारले संविधानमा हुँदै नभएका बुँदा उल्लेख गरेर जननिर्वाचित संसद भंग गरिदिएपछि संवैधानिक मूल्य मान्यताको बचाउमा सडकमा निस्किएका हौँ’ उनले भनेका छन्।
मंगलबार एक सञ्चार गृहको समाचार अनलाइनसँग कुरा गर्दै जसपा नेता महतोले संविधानमा असन्तुष्टि रहे पनि प्रधानमन्त्रीले लोकतन्त्रको मान्यताविपरित काम गरेकोले त्यसको रक्षाका लागि आन्दोलित हुनुपरेको बताएका छन्।
‘देशको यो सातौं संविधान हो, ७० वर्षमा ७ वटा संविधान आएका छन्’, उनले भनेका छन्, ‘तैपनि सबै जनताले अपनत्व महसुस गर्न सकिरहेका छैनन् । जसले गर्दा जनतामा वितृष्णा पनि बढेको छ ।’
जसपा नेता तथा प्रदेश सांसद मनीष सुमनले आन्दोलनबाट प्राप्त गणतन्त्रलाई जोगाउन आफूहरु सडकमा आएको बताएका छन्। व्यवस्था नै धरापमा परेकाले त्यसको रक्षाका निम्ति जसपा आन्दोलित भएको उनी बताउँछन् ।
संसद् विघटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लेख गरेका धारा ७६ र ८५ मा त्यो व्यवस्था नरहेकाले गणतन्त्रको रक्षाका लागि जसपा सडकमा निस्किएको उनले बताए।
आफ्नो पार्टीले संविधान मानेको उनले स्वीकारे । ‘हामीले केही संशोधनको माग गर्या हो । यसको मतलब हामीले संविधान नमानेका होइनौँ’, ‘हामीले पनि संविधान मानेरै केही प्रदेश तथा स्थानीय प्रमुख–उपप्रमुखको जिम्मेवारीमा दायित्व निर्वाह गर्दैछौँ।’