न्यूजमधेश डेस्क
काठमाडौं, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पुर्याउने उद्देश्यले देशभरका दुई सय पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार विकास गर्ने भएको छ ।
केन्द्रदेखि स्थानीय तहसम्मको अर्थतन्त्रमा योगदान पुर्याउनेलगायत लक्ष्य राखेर भदौमा मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेश सरकारसँग ओझेलमा परेका पर्यटकीय गन्तव्यको साझेदारीमा विकास गर्न प्रस्ताव आह्वान गरेको थियो । उक्त सूचनाका आधारमा मन्त्रालयमा प्राप्त ७१३ वटा आयोजनामध्ये छानिएका दुई सय आयोजनाको सूची शुक्रबार सार्वजनिक गरिएको हो ।
यी आयोजनाबाट प्रतिवर्ष एक अर्ब थप आम्दानी हुने भनिएको छ । सरकारले छानेका आयोजनामा प्रायः पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, साइकल ट्र्याक, संग्रहालय, पिकनिक स्पट, गुम्बा, स्मृति पार्क, फनपार्क आदि छन् ।
यी स्थलमा मन्त्रालयले स्थानीय तहको साझेदारीमा एक वर्षदेखि तीन वर्षसम्म पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास गर्नेछ । यी आयोजनाका लागि केन्द्रीय सरकारले ६ अर्ब ८० करोड बजेट विनियोजन गरेको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।
यसमा स्थानीय तहले थप ३० प्रतिशतसम्म अतिरिक्त बजेट थप्नुपर्नेछ । यी आयोजना सञ्चालनका क्रममा ५ लाख ४० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने अपेक्षा छ ।