न्यूजमधेश डेस्क
जनकपुरधाम,२३ फागुन । धनुषाको औरही गाउपालिकाले पछिल्लो आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै ज्येष्ठ नागरिकहरुले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ ।
गाउँपालिकाको विभिन्न वडाबाट आएका ज्येष्ठ नागरिकहरुले आइतबार गाउँपालिकामा ताला लगाएका हुन् । साउन महिनादेखि हालसम्म गाउँपालिकाले भत्ता उपलब्ध नगराएको ज्येष्ठ नागरिक मजबुरी मेहताले बताए ।
भत्ता लिन पटक–पटक गाउँपालिका धाएपनि अध्यक्ष तथा कर्मचारीले फिर्ता घुमाउने गरेकाले बाध्य भएर ताला लगाउनुपरेको उनले बताए । ‘भत्ता लिन आउँछु, कसैले वास्ता गर्दैनन्,’ अर्का ज्येष्ठ नागरिक जयकृष्ण साहले भने, ‘आज दिन्छु, भोलि दिन्छु भन्दाभन्दै ८ महिनादेखि दिएको छैन ।’
गाउँपालिकामा भेला भएका करिब डेढ सयजना ज्येष्ठ नागरिकले एक महिनादेखि गाउँपालिकाका अध्यक्ष ब्रहमदेव यादव पनि सम्पर्कमा नआएकाले गाउँपालिकाको कार्यालयमा ताला लगाएको बताएका छन् ।
तालाबन्दी गर्न पुगेका जेष्ठ नागरिकलाई युवाहरुको साथ रहेको यवा नेता किलेश मण्डलले बताए ।