न्यूजमधेश डेस्क
रौतहट, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपलाइबाट ग्यास पु¥याउने सपना देखाएपनि जनताभने वन्यश्रोतको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन वाध्य रहेका छन् ।
रौतहट जिल्लामा रहेका १८ वटा स्थानिय तहहरुमा वसोवास गर्ने स्थानियहरु वर्षौदेखि गुइँठालाई खाना पकाउनको लागि इन्धनको रुपमा प्रयोग गर्दै आइरहेका छन् । विषेशगरी जिल्लाका दक्षिणी भेगमा गुइँठाको प्रयोग अत्याधिक हुने गरेको छ ।
तराई–मधेसमा गुइँठाबाट खाना पकाउने चलन पुरानो भएता पनि वनबाट पाइने दाउराको अभाव तथा असहज उपलब्धताले गर्दा सो क्षेत्रका बासिन्दाहरु अझैपनि गुइँठाबाट खाना पकाउन वाध्य रहेका छन् ।
हुनेखाने र सम्पन्न परिवारहरुले एलपीजी ग्यासको प्रयोग गर्ने गरेता पनि अधिकांस स्थानियको भरभने अझैपनि गुइँठानै रहेको छ । आफ्नो गाउँ नजिकै कुनैपनि वनहरु नरहेको , वनबाट दाउरा ल्याउनको लागि लामो दुरी जानुपर्ने वाध्यता तथा वनबाट दाउरा ल्याउँदा वनका कर्मचारी तथा प्रहरीले दुःख दिने गरेकाले आफुहरु गुइँठाकै प्रयोग गर्न वाध्य रहेको स्थानियको रामदेव ठाकुरको गुनासो छ ।
गाइभैसीँको गोबरमा गहुँको भुसा , मकै, गहुँ वा तोरीको डाठहरु, पराल आदि मिसाएर त्यसलाई चाक्लो पारी पथारेर तयार पारिने गुइँठालाई स्थानिय भाषामा गोरहा भन्ने गरिन्छ । घरका महिला सदस्यहरुको प्रमुख कामहरु मध्ये गुइँठा बनाउन पनि एक रहेको छ । उनीहरुले घरधन्दा सँगसँगै खाना पकाउनका लागि गुइँठा पनि तयार गर्ने गरेका छन् । गोबरबाट तयार पारिएको गुँइठालाई करिब एक महिना जति घाममा सुकाएपछि बाल्नको लागि तयार हुन्छ ।
रौतहटका दक्षिणि भेगमा रहेका गाउँहरुका घर तथा सडकहरुमा सुकाएर राखिएको गुइँठाका दृश्यहरु सामान्यनै लाग्छन् । सुकेर तयार भएको गुइँठालाई पानी नचुहिने, नभिज्ने तथा सुख्खा ठाउँमा थाक बनाएर राख्ने गरिन्छ । यसरी थाक बनाएर राखेका गुइँठा आवश्यकता अनुसार खाना पकाउन प्रयोग गरिन्छ । घरमा गाइवस्तु नहुनेहरुपनि बारी, चरणक्षेत्र तथा सडकहरुबाट गोबर खोजेर ल्याएर गुइँठा बनाउने गरेका छन् । गुइँठाबाट खाना पकाउँदा अत्याधिक धुँवा आउने, त्यसमा रहेका किराहरु खानामा पर्ने, राम्रोसँग नबल्ने, स्वास्थ्यमा समस्या आउने भएपनि आफुहरुसँग अन्य विकल्प नरहेकाले वाध्य भएर गुइँठाको प्रयोग गर्नुपरेको स्थानियको रामबालक राय दुःखेसो गर्छन् ।
यता गाइवस्तुको गोबर गुइँठा बनाएर बाल्दा खेतबारीमा जैविक मलको अभाव हुने गरेको छ । जसले गर्दा कृषकहरुले खेतीबारीमा वाध्य भएर रासायनिक मलको प्रयोग गर्नुपर्दा कृषि उत्पादन पनि कमि आउने गरेको कृषकहरुको अनुभव छ । खेतबारीमा जैविक मल प्रगोग नगरी केवल रासायनिक मलमात्र प्रयोग गर्नाले जमिनकोे उर्भरा शक्ति क्षिणहँुदै जाने र अन्ततः जमिन मरुभुमीमा परिणत हुन सक्ने कृषिविद्हरु बताउँछन् ।
गाइवस्तुको गोबरबाट तयार पारिएको गुइँठाको प्रयोगबाट निस्कने धुँवाबाट स्वास्थ्यमा नराम्रो असर पर्ने चिकित्सकहरु बताउँछन् । लामो समयसम्म गुइँठाको धुँवामा बस्दा स्वासप्रस्वास सम्बन्धि विभिन्न रोगहरु लाग्ने सिभिल अस्पताल चन्द्रपुरका चिकित्सक डाक्टर रामकिशोर साह बताउनुहुन्छ ।
वनक्षेत्र टाढा भएका तथा कमजोर आर्थिक अवस्थाले ग्यास किन्ने र प्रयोग गर्न नसक्नेहरुका लागि गुइँठानै इन्धनको प्रमुख श्रोतको रुपमा रहेको छ । गुइँठा बाल्दा निस्कने धुँवाबाट घरमा रहेका बाल बालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यमा पनि झन् गम्भिर असर पर्ने भएकाले उनीहरुलाई गुँइठाको धुवाँबाट टाढै राख्न चिकित्सकहरु सुझाउछन् ।
स्थानियहरुमा गुइँठाको प्रयोगमा कमि ल्याउनका लागि एलपीजी ग्यास, गोबर ग्यास , विद्युतिय चुल्हो लगायतका वैकल्पिक उर्जाको प्रयोगमा जोड दिन तीनै तहका सरकारले पहल कदमी लिनुपर्ने स्थानीयहरुको भनाइ छ ।