न्यूजमधेश डेस्क
काठमाडौं ,१५ जेष्ठ । कोभिड–१९ को दोस्रो लहरको महामारीका कारण निषेधाज्ञाका कारण अधिकांश जिल्लामा मानिसहरू घरभित्रै बस्न बाध्य भए पनि चितवनका किसानहरू ठेलमठेल मल पाउने आसमा लाइन बसिरहेका छन् ।
भरतपुर महानगरपालिका पृथ्वीनगरकी सीता न्यौपाने बुधबार ९ बजे ब्रह्मज्योति कृषि सहकारी संस्थामा भेटिइन् । धान बेचेर परिवारको गुजारा चलाउँदै आएकी उनलाई कोरोनाभन्दा पनि मलको चिन्ता बढी छ ।
उनले भनिन्, ‘कोरोनाको डरले घरमै बसिरहेकी थिएँ, मल पाइने थाहा भएपछि भिडमा आउन बाध्य भएँ ।’ अधियाँमा खेती गर्दै आएकी उनी मल नपाए लगानी पनि उठ्न गाह्रो हुने बताउँछिन् । मल पाउने आशामा बिहान ६ बजे नै सहकारी आए पनि उनीजस्ता धेरै किसान रित्तो हात फर्किन बाध्य भए ।
सदरमुकाम बसाइ भएका ब्रह्मपुरीका ठाकुरप्रसाद घिमिरेको दुई बिघा खेतलाई सय किलो मल चाहिन्छ । त्यसैले निषेधाज्ञा भए पनि सहकारीले मल वितरण गरिरहेको खबर सुनेपछि उनी बिहानै प्रहरीबाट जोगिँदै गाउँ आएका थिए । तर, सहकारीले प्रतिकिसान १२ केजी मल दिने थाहा पाएपछि भिडमा बसेर कोरोनाको जोखिम नलिने विचार गरे । उनी प्रश्न गर्छन्, ‘कृषिमन्त्री मल अभाव हुँदैन भन्छन्, तर किसानको हाल यस्तो छ । भिडमा बसेर १२ केजी मल लिएर के गर्नु रु बारीको कुन कुनामा राख्नू रु’
सोही गाउँका ७५ वर्षीय किसान बाबुराम घिमिरे दुई वर्षदेखि मल किन्न सास्ती व्यहोर्नुपरेको बताउँछन् । उनको पनि प्रश्न छ, ‘मल किन्न कहिले नगरिकता, कहिले लालपुर्जा देखाउनुपर्छ । तैपनि, पर्याप्त मल पाइँदैन । यो समस्या कहिले समाधान होला रु’
युरिया र डिएपी मल खरिद गर्न चितवनका किसान कोरोनाको जोखिम मोलेर लामो समय लाइनमा बस्न बाध्य भएका छन् । गत वर्षजस्तै मलको अभाव हुने डरले किसानहरू जोखिम मोलेर नै लाइनमा बस्न बाध्य भएका हुन् । मलको लाइनमा बस्नेहरूलाई प्रहरीले लखेट्ने गर्छ । तर, मल लिन आउनेको प्रश्न छ, ‘जिल्लामा निषेधाज्ञा भएको हामीलाई पनि थाहा छ । तर, यो मल मिलेन र खेत रोप्न पाइएन भने के खाने रु’
ब्रह्मज्योति कृषि सहकारी संस्थाका अध्यक्ष बलराम पौडेलले भने, ‘हामीसँग डिएपी र युरिया गरी ६० बोरा मात्रै मल थियो । बिहानैदेखि किसानको भिड देखेपछि सबैलाई पुगोस् भनेर प्रतिकिसान १२ किलोका दरले वितरण गर्यौँ ।’ मल वितरण गर्ने सरकारी संस्था साल्ट ट्रेडिङ कर्पोरेसन चितवन भने किसानले कोरोनाको जोखिम मोलेर लामो समय लाइनमा बसेको बारेमा अनभिज्ञ छ । शाखाका प्रमुख बुद्धिविनोद दाहालले भने, ‘धानको बिउको लाइन होला, मल हामीले पठाएका छौँ ।’ सहकारीको मागअनुसार अनुदानको मल पठाउन नसकिने उनी बताउँछन् । निश्चित कोटा र परिमाण तोकेर आएको मल वितरण गर्ने भएकाले किसानको मागअनुसारको आपूर्ति नभए पनि मल अभाव नहुने दाहालले बताए । तर, गोदाममा कति मल मौज्दात छ भन्ने विषयमा भने उनले बताउन चाहेनन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन चितवनले पहिलो चरणमा युरिया, डिएपी र पोटास गरेर जम्मा ४ सय बोरा रासायनिक मल सहकारीलाई वितरण गरेको छ । जिल्लाका सात स्थानीय तहमा मात्रै वार्षिक १७ हजार मेट्रिकटन युरिया आवश्यक छ । जिल्लामा ३० प्रतिशत मल साल्ट ट्रेडिङ कर्पोरेसनले र ७० प्रतिशत मल कृषि सामग्री कम्पनी लिमिटेडले वितरण गर्दै आएको छ । कृषि सामग्री कम्पनीको चितवनको गोदाममा ५ सय टन मल मात्र स्टोर गर्न सक्ने क्षमता छ । कृषि सामग्री कम्पनी चितवनका प्रमुख राजन वाग्लेका अनुसार शुक्रबारसम्म कार्यालयको गोदाममा ८ सय ६२ बोरा युरिया, १ हजार २ सय ४७ बोरा डिएपी र १० बोरा पोटास छ ।
कृषि ज्ञानकेन्द्र, चितवनका प्रमुख राजन ढकालका अनुसार जिल्लामा २७ हजार ४ सय ४५ हेक्टरमा धानखेती हुँदै आएको छ । एक कट्ठा जमिनलाई साढे दुई केजीसम्म रासायनिक मल आवश्यक पर्छ । चितवनमा एक वडा एक सहकारीबाट मल बिक्री गर्ने भनिएको भए पनि सो कार्य भएको छैन ।