११ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri
×

महादेवको पूजा आराधना गरी मनाइयो तीज

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२५ भाद्र । भाद्र शुक्ल तृतीयाका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाइएको छ ।

यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणका कारण पशुपतिनाथ मन्दिर बन्द रहेको छ । मूल मन्दिर बन्द रहेपनि पशुपति क्षेत्रमा केही भक्तजन भने जम्मा भएका थिए । अन्य मन्दिर भने प्रायः खुलेको थियो । कोरोना जोखिमका कारण कतिपय बर्तालु महिलाले भने घरघरमै महादेवको पूजा आराधना गरी हरितालिका पर्व मनाएका छन् ।

राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र नागेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । यी दुवै मन्दिरमा स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गरी पूजा आराधना गर्ने व्यवस्था मिलाइएको थियो ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।

व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दूधर्मावलम्बीका लागि मात्र नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको धर्मशास्त्रविद् नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

प्राचीन कालमा पुरुषले घरबाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घरलगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् ।

शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको उहाँले सुनाउनुभयो ।

हरितालिका पर्व समापनका अवसरमा केही मानिसले आज पूजा लगाउँछन् । आज पूजा नलगाउनेले भने भाद्र शुक्ल चौथीका दिन बिहान गोदान एवं पूर्णपात्र दान गरेर व्रत समापन गर्छन् ।

बुधबार राति दर खाएपछि औपचारिकरूपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]

सिरहा : सिरहाको औरही गाउँपालिका भवन अगाडि धर्ना बसेको छ। भूपू विद्यार्थी मञ्चलाई गरेको दुर्ववहार र कार्वाही गर्न औरही गाउँपालिकाले गरेको आनाकानी विरुद्ध धर्ना बसेको हो। गत कार्तिक २९ गते सुन्दर जनता मावि औरहीमा भूपू विद्यार्थी मञ्चले आयोजना गरेको गुरु सम्मान तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवले गरेको दुर्ववहार सम्बन्धमा कार्वाहीको माग […]

सिराहा, कार्तिक २९ – श्री सुन्दर जनता मावि औरहीमा आयोजित हाजिरीजवाफ प्रतियोगिता र गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवको दुर्व्यवहार र धम्कीका कारण पूर्व विद्यार्थी मञ्च २०६४ व्याचले आन्दोलनको घोषणा गरेको छ। कार्यक्रमका क्रममा समय अभावले छोट्याउनुपरेको अवस्थामा प्रधानाध्यापक यादवले आयोजक मञ्चका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लागेको छ। […]