११ मंसिर २०८१, बुधबार
27-11-2024 , Wed
×

मिथिलाञ्चलमा ‘चौरचन’ पर्व मनाइँदै

Logo
प्रकाशित शुक्रबार, भाद्र २५, २०७८

न्यूजमधेश डेस्क
राजविराज, २५ भाद्र।। मिथिलाञ्चलमा आज आस्था तथा निष्ठापूर्वक चौरचन पर्व मनाइँदै छ ।

सप्तरीसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्ला तथा सीमावर्ती क्षेत्र भारत विहारको केही क्षेत्रमा चौरचन पर्व मनाइने गरिन्छ ।

प्रत्येक वर्ष भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाइने चौरचन पर्वमा चन्द्रमालाई पूजा गरिन्छ । चन्द्रमालाई पूजा गरिने विधि नै चौठचन्द्र अथवा चौरचन हो । शुक्रबार राति व्रत बसेकी व्रतालु महिलाहरु आ–आफ्नो घरको आँगनमा पूजा सामग्री चढाएर उदाउँदै गरेको चन्द्रमालाई अघ्र्य दिएर यो पर्व मनाउँछन् ।

यस पर्वका लागि व्रत बस्ने व्रतालु महिला दिनभर निराहार बस्छन् । साँझपख चन्द्रमा उदय हुनुअगाडि दिनमा पवित्रताका साथ बनाइएका पूजा र अन्य सामग्री माटोको भाँडामा सजाएर राखिन्छ । चन्द्रमाको उदय भएपछि सर्वप्रथम व्रतालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्छिन् र आफ्नो मनमा रहेका सङ्कल्प र आराधनाको मनमनै स्मरण गर्छिन् । त्यसपछि घरका अन्य सदस्यहरू त्यसैगरी फलसहित दर्शन गर्छन् ।

तीज पर्व सम्पन्न भएसँगै सुरु हुने यस पर्वलाई मिथिलामा निकै आस्थाका रुपमा लिइन्छ । कृष्ण जन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ ।

छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने यो पर्व हर्सोल्लास र भक्तिका साथ मनाइन्छ । यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिएको छ । यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।

सो क्रममा नयाँ माटोको भाँडोमा एक दिनअगाडि जमाइएको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ । आफ्नो सन्तान र पतिको दीर्घायुको कामना गर्दै पूजामा विशेष परिकारसहित पूजापाठ गर्ने चलन रहेको सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–२ सकरदहीका कलमवतीदेवी बडियैत यादवले बताउनुभयो । यो पर्वमा साँझपख आँगनमा गाईको गोबरबाट लिपपोत गरी चौका लागाएर पूजापाठ गर्ने गरिन्छ । उहाँले भन्नुभयो, “चौठचन्द्र पर्वमा प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खीर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ ।”

चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रा, घरमा तयार पारेको पकवान, मिठाई, गाजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा रहेको बताइएको छ ।

दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले अहिले घरघरमा महिला प्रसाद तयार गर्नमा व्यस्त छन् । मिथिलाञ्चलमा यो पर्व हेमाङ्ग ठाकुरले प्रचलनमा ल्याएको बताइन्छ । ठाकुर आफैँ ज्योतिष थिए । उनलाई यो तिथिमा शुभफल प्राप्त भएकाले यस पर्वको सुरुआत गरेका हुन् । मिथिलाको लोकपर्व चौठचन्द्रको बेला गणेश र चन्द्रमाको कथा सुन्नेसमेत परम्परा रहिआएको छ ।

अरिपन चामलको पीठोले रेखाङ्कित गरिन्छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्र दर्शन शास्त्रीय मान्यताले दोषपूर्ण मानिएकाले व्रत बसेर मिष्टान्न परिकार र फलपूmल देखाएर दोष मेटाउने प्रचलन चलेको मैथिली संस्कृतिका जानकार बताउँछन् । पर्वको तयारीमा अहिले मिथिलाका हिन्दू महिलाहरु आफ्नो सामग्री जुटाउने तयारीमा छन् । पर्वमा घरमूली महिला दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर यो पर्व समापन गर्छन् । गौरीपुत्र भगवान् गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास छ ।

हिजो बिहीबार उपवास बसेर सप्तरीसहित जिल्लाको विभिन्न भेगका महिलाले तीज पर्वसमेत मनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]