२६ फाल्गुण २०८१, मंगलबार
11-03-2025 , Tue
×

दशैंको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा आराधना गरिँदै

Logo
प्रकाशित शनिबार, आश्विन २३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२३ असोज । नेपालीहरुको महान चाड बडा दशैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ ।

नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो ।

चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुन्छ ।

चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताउनुभयो । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उहाँले सुनाउनुभयो ।

नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् ।

घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । आज शनिबारको सार्वजनिक बिदाको दिन भएकाले पनि शक्तिपीठमा विशेष भीड लाग्ने गर्छ । नवरात्र नपरेका शनिबार पनि शक्तिपीठमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ । गत वर्षजस्तो कोरोना भाइरसको सङ्क्रमण नरहेकाले सबैजसो मन्दिर खुला भएका छन् । कोरोना महामारी कम भए पनि जोखिम अन्त्य भइनसकेकाले शक्तिपीठमा जाने भक्तजनलाई भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधि अपनाउन प्रशासनले विशेष आह्वान गरेको छ । कोरोना महामारी कम भए पनि जोखिम अन्त्य नभएकाले नेपालीले महान् चाडका रुपमा मनाउने बडादसैँमा विशेष सावधानी अपनाउन प्रशासनले आह्वान गरेका हुन् ।

शक्तिपीठमा जम्मा हुने भक्तजनले मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाका विधि अपनाएको देखिए पनि भौतिक दूरी भने कायम गरेका छैनन् । यसले फेरि कोरोना महामारी फैलने हो कि भन्ने चिन्ता बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]