न्यूजमधेश डेस्क
जनकपुरधाम,१६ माघ । तराई मधेसमा जारी किसान आन्दोलनको माग पूरा गर्न मधेशी आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगकी निमित्त सचिव सविता डंगोलले आज विज्ञप्ती जारी गर्दै किसानहरुको आन्दोलनलाई यथाशिघ्र व्यवस्थापन गर्न तीनै तहका सरकारसँग अपिल गरेकी हुन् ।
बेचिएको उखुको मूल्य अविलम्ब उपलब्ध गराई किसानहरुको समस्या समाधन गर्नुपर्ने राज्यको प्रथम दायित्व रहेकोले सो समस्याको समाधान गरिदिन पनि विज्ञप्तीमा अपिल गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु मानव अधिकारको उल्लघन गर्नु हो । तसर्थ राज्य संयमित भई समाधानार्थ कार्य गर्नु पर्दछ । यसका साथै आन्दोलनकारी किसानहरु पनि आन्दोलनलाई शान्तिपूर्ण ढंगवाट नै अगाडी बढाउनु पर्ने आयोगको ठहर रहेको छ ।’
आयोगले किसान आन्दोलनको स्थलगत अनुगमनको लागि आयोगका सदस्यहरु जीवछ साह, रेणु देवी साह र विजय कुमार गुप्तालाई जिम्मेवारी दिइएको थियो ।
स्थलगत अनुगमनको प्रतिवेदन अनुसार आयोगले पुनः नेपाल सरकारलाई दायित्व अनुसार सिफारिश कार्यान्वयन गर्नका लागि प्रक्रिया अगाडी अग्रसरित गर्ने विज्ञप्तीमा उल्लेख छ ।