०५ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

कमलामा देशकै कान्छो २१ वर्षीय जनप्रतिनिधि बने रणवीर: भन्छन् , राजनीति अब मेरो भाग्य र भविष्य हो

Logo
प्रकाशित बिहिबार, जेठ ०५, २०७९

गोबिन्द महतो
जनकपुरधाम ,५ जेष्ठ । धनुषा कमला नगरपालिका ९ का रणबीर सिंह मण्डल सानैदेखि फरक सोचका थिए। विद्यालयमा पढ्ने बेलादेखि नै सामाजिक सेवामा लाग्न उनी उत्साहित हुन्थे। उनी पठन-पाठनमा पनि मेहनती र लगनशील थिए। धनुषाधामको स्कुलबाट माध्यमिक शिक्षा हासिल गरेका उनले सिभिल इन्जियरिङ्गसम्मको शिक्षा प्राप्त गरेका छन्।

झट्ट हेर्दा अपरिक्व उमेरका देखिने उनमा समाजप्रतिको जिम्मेवारी बोध भने एकदमै धेरै छ। २१ वर्षीय रणबीर सिंह मण्डल एकपछि अर्को जिम्मेवारी सम्हाल्दै आज धनुषा जिल्लाको कमला नगरपालिकाको वडा अध्यक्ष बन्न सफल भएका छन्। उनको हँसिलो स्वभाव र नेतृत्वदायी क्षमताका कारण उनी जनताबाट चुनिएका हुन्।

उनको एक मात्र सपना दुवरकोट, हथिलेटवा, सुन्दरपुर र नरहा गाउँलाई देशमै अगाडि बढाउनु भएको उनी बताउँछन्। उनको नेतृत्वदायी क्षमताका कारण नै उनी साथीभाइ, छरछिमेक र गाउँबासी जनताका माझ लोकप्रिय छन्।

इन्जिनियरिङ्ग अध्ययन गरेका उनी काठमाडौंका युवाजस्तै यहाँका युवा पनि सक्षम बन्न सक्छन् भन्ने सोच राख्दछन्। त्यसका लागि उनले ‘भिजन’ समेत बनाएका छन् र ‘भिजन’ भएकाले ‘मिसन’ बनाएर काम गर्ने उनको ध्येय छ।

देशकै कान्छो जनप्रतिनिधि

निर्वाचन आयोगको रेकर्ड अनुसार देशभर भएको स्थानीय तह निर्वाचनमा ७७ जिल्लाका ७ सय ५३ स्थानीय तहमा २१ वर्ष पुगेका उनी एक मात्र कान्छो जनप्रतिनिधि हुन्। निर्वाचन कानुन अनुसार २१ वर्षका व्यक्तिले स्थानीय तहमा उम्मेदवार हुन पाउँछ। मण्डल ३५३ मत प्राप्त गरेर वडाअध्यक्षमा देशैभरमा निर्वाचित प्रमुखमध्ये सबैभन्दा कान्छो जनप्रतिनिधि बन्न पुगे।

‘राजनीति फोहोरी होइन’

उनका उमेर समूहका आम युवाले जस्तै उनी पनि पहिला राजनीति फोहोरी खेल हो भन्थे। तर अब राजनीतिप्रतिको उनको सोच फेरिएको छ। राजनीतिबाट मात्रै समाजको परिवर्तन र समृद्धि सम्भव छ भन्ने निष्कर्षमा पुगेको छन् २१ वर्षिय मण्डल।

सिभिल इन्जियरिङ्ग विषयमा डिप्लोमा गरेको मण्डलको काँधमा एकाएक पढाइ भन्दा ठूलो जिम्मेवारी आइपुगेको छ। तर पनि उनले पढाइ, राजनीति र जनताको सेवासँगै अघि बढाउने निर्णय गरेका छन्। ‘राजनीति नगर्ने निधो गरेको मभित्र अहिले राजनीतिले छुट्टै स्थान बनाइसकेको छ। अब सम्पूर्ण जीवन जनताको लागि समर्पित गर्ने भएँ’, कुराकानीको क्रममा उनले आफ्नो मनको कुरा खोले।

बिहेवारी केही वर्ष पारि

वडा अध्यक्षको ५ वर्षे कार्यकाल पूरा गर्दा उनी २६ वर्ष पुग्ने छन्। जब कि आमयुवाले २५/२६ वर्षको उमेरसम्म जीवनको लक्ष्य नै किटान गरिसकेका हुँदैनन्। तर, उनले भने त्यसपछिको योजना पनि बनाइसकेका छन्। त्योभन्दा माथि राष्ट्रिय राजनीतिमा स्थापित हुने उनको सोच छ।

५ वर्ष गाउँको सेवा गर्न कस्सिएका यी कान्छा जनप्रतिनिधिले बिवाहबारे ५/६ वर्षपछि हेरौंला भन्छन्। ‘बिहेबारीको कुरा अब ५–६ वर्षका लागि स्थगित नै भयो। तन, मन र धन दिएर जनताको काम गर्ने हो’, मण्डलले भने, ‘विहे गर्ने उमेर पनि के भएको छ र ? आफ्नो कार्यकाल भित्रै नमूना वडा बनाउँछु अनि मात्र विहे गर्छु।’

भावी योजना

‘म अहिले २१ वर्ष भएँ। सबैभन्दा कम उमेरको जनप्रतिनिधि बन्न सफल भएको छु। मैले सुनेअनुसार देशमा सबैभन्दा कान्छो जनप्रतिनिधि मध्येको सबैभन्दा कान्छो म पो भएछु। राजनीति अब मेरो भाग्य र भविष्य हो, भविष्यमा राजनीतिले कहाँ पुग्ने छु त्यो त भन्न सकिन्न तर गाउँबाट जिल्ला हुँदै राष्ट्रिय राजनीतिमा स्थापित हुन सक्छु भन्ने विश्वास छ’, मण्डलले भने।

‘मेरो उमेरका अरु साथीहरु जस्तै म पनि राजनितिप्रति निराश थिएँ। तर संयोग यस्तै पर्‍यो जनता समाजवादी पार्टीले पत्याएन अरुलाई नै टिकट दियो। जनताले पत्याएर मलाई नेपाल जनता पार्टीबाट चुनाव जिताए। अब त राजनीतिको नशा चढिसक्यो, यसैलाई निरन्तरता दिने हो।’, उनले भने। उम्मेदवार बन्दै गर्दा धेरै साथीहरु र आफन्तले ‘हारिस भने के गर्ने ? भन्ने प्रश्न तेर्स्याएको सम्झँदै उनी भन्छन्, ‘मेरो उमेरको कारण उक्त प्रश्न उब्जिएको थियो। तर मैले त्यतिबेलै भनेको थिएँ, जिते पनि हारे पनि अब राजनीतिमा लागियो, चुनाव नजिते पार्टी र समाजमा काम गर्छु। राजनीतिको मैदान छाडेर भाग्दिनँ।’

उनी आफूलाई राजनीतिबाट जनताले नै भाग्न नदिएको बताउँछन्। ‘पहिले त राजनीति गरेका मान्छेहरु देख्दा राजनिति गर्दिन भन्थेँ। सामाजिक कामहरु लागियो त्यसपछि राजनीतिबिना केही पनि हुँदैन जस्तो लाग्न थाल्यो। हामी जस्ता युवाले राजनीतिलाई घृणा गर्ने होइन, बरु राजनीतिमा लागेर फोहोरले भरिएको राजनीतिलाई सफा बनाउनुपर्छ।’

करिअर र गाउँको सम्वृद्धिको चिन्ता

अध्यक्ष जित्नुभन्दा पनि चुनौति अब कसरी काम गर्ने भन्ने चुनौति थपिएको उनको विचार छ। ‘अब म जुनसुक्कै पार्टीको मान्छे भए पनि जनताको साझा प्रतिनिधि छु। त्यसमा पनि म एक्लो छैन। मेरो साथमा पार्टी छ, बुबा हुनुहुन्छ। जनताको साथ छ। पार्टीले जे निर्देशन दिन्छ, त्यहि अनुसार काम गर्ने हो। कतिपय कुरामा पार्टीको निर्देशन भन्दा जनताको भावना बुझेर काम गर्नुपर्छ।’, उनले भने, ‘मैले राम्रो काम गर्न सकेँ भने अरु युवालाई प्रेरणा हुनेछ। मैले राम्रो काम गर्नु भनेको आफ्नो राजनीतिक करिअर पनि सोच्ने हो। गाउँको सम्वृद्धि भयो भने, आफू पनि अघि बढ्न सकिन्छ। किनभने मेरो अगाडि त सिंगो जीवन बाँकी नै छ। सानो गल्तीले राजनीति र सामाजिक जीवन धरापमा पर्छ भन्नेमा म सचेत छु।’

यस्तो ठिटो उमेरमा राजनीतिमा लागेको र अहिले नै कुनै ठूलो महत्वकांक्षा नराखेको उनी बताउँछन्। आफू राष्ट्रिय स्तरमा पुग्न सक्छु भन्ने लागेको बताउँदै उनले भने, ‘यो ५ वर्ष मैले कसरी काम गर्न सक्छु, जनताको मन कत्तिको जीत्न सक्छु ? कुनै पनि लोभलालच नराखी मैले सोचेको स्थानसम्म पुग्न कसरी सक्छु भन्ने मात्र चिन्ता छ।’

समस्याको थुप्रो

धनुषा जिल्ला समथर भए पनि सदरमुकामबाट मोटरसाइकल चढेर जान करिब २ घण्टा लाग्ने बताउँदै उनले भने, ‘ साबिकको दुवरकोट, हथलेटवा, सुन्दरपुर नरहा जोडिएर बनेको यो नगरपालिकामा सडक, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यको अवस्था दयनीय छ। गत अषाढ श्रावणमा आएको बाढीका कारण सडकहरु अस्त व्यस्त छन्। सडकहरुलाई मरम्त सम्भार गर्न हामी केही दिनमै लाग्छौं।’

उनले खानेपानी, शिक्षा, स्वास्थ्यचौकी भए पनि औषधि र स्वास्थ्यकर्मी नभएको बताउँदै उनले भने, ‘न्युनतम सुविधा पनि नभएको अवस्थामा हामीले काम थाल्नुपरेको छ। चुनौति धेरै छन् तर पार लगाउन सकिन्छ भन्ने आत्मविश्वास मैले लिएको छु।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]

सिरहा : सिरहाको औरही गाउँपालिका भवन अगाडि धर्ना बसेको छ। भूपू विद्यार्थी मञ्चलाई गरेको दुर्ववहार र कार्वाही गर्न औरही गाउँपालिकाले गरेको आनाकानी विरुद्ध धर्ना बसेको हो। गत कार्तिक २९ गते सुन्दर जनता मावि औरहीमा भूपू विद्यार्थी मञ्चले आयोजना गरेको गुरु सम्मान तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवले गरेको दुर्ववहार सम्बन्धमा कार्वाहीको माग […]

सिराहा, कार्तिक २९ – श्री सुन्दर जनता मावि औरहीमा आयोजित हाजिरीजवाफ प्रतियोगिता र गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवको दुर्व्यवहार र धम्कीका कारण पूर्व विद्यार्थी मञ्च २०६४ व्याचले आन्दोलनको घोषणा गरेको छ। कार्यक्रमका क्रममा समय अभावले छोट्याउनुपरेको अवस्थामा प्रधानाध्यापक यादवले आयोजक मञ्चका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लागेको छ। […]