चन्देश्वर दास,जनकपुरधाम।एकताका कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताको मुखमै झुन्डिने नारा हुन्थ्यो भारतीय विस्तारवाद र अमेरिकी सम्राज्यवाद । अहिले पनि कसै न कसैले यो कुरो उठाइरहेकै हुन्छ । कहिले काँही अमेरिकी सम्राज्यवाद भन्दा भारतीय विस्तारवादले बेलाबखत राम्रै तुल समातेको पनि छ ।
नेपालमा जब एकथरि जनताको ध्यान अन्यात्र मोड्नु पर्ने स्थिती आयो भने भारत विरोधी वक्तव्य दिने गरिन्छ । यसो गर्दा अन्य सबै कुरो एकाएक गौण हुने गर्छ । भारतले सिमानामा आक्रमण गर्यो, भारतले सिमा मिच्यो, भारतीय सेना र प्रहरी नेपाल छिर्यो, भारतले नदिनाला सबै लियो, व्यापारमा भारतले एकलौटि नाफाको व्यापार गर्यो आदि इत्यादि फलाक्ने गरिन्छ । यस्ता मुद्दाको चर्चा परिचर्चाले एकाएक यहाँ राष्ट्रीयता र राष्ट्रवाद चुलिन्छ । तर, भारतीय विस्तारवादको अर्को पाटो जसलाइ नेपाली मिडियाले कहिले पनि चर्चाको विषय बनाउन चाहेजस्तो देखीदैन । जुन पाटोकै कारण झण्डै ८०% नेपाली पीडित छन् । नेपाल निर्माण हुनु पहिले देखि नै किरातकाल पछि जति शासकहरुले यस भुमिमा शासन गरे, ति सबैले भारतीय विधिबिधान अनुसार नै शासन-पद्धती जारी राखे । छैठौ शताब्दी भन्दा अगाडि नै ब्राह्मणवादीहरुले वर्णव्यवस्था जस्तो अप्राकृतिक विभाजनको गुण बोकेर आए । सोही अनुसार भारतीय उपमहाद्वीपमा विभाजन गर्दै गए । वास्तवमा ‘फुटाऊ र शासन गर’ भन्ने वाक्यांस अंग्रेजको नीती थियो भन्ने गरिन्छ तर मानवलाई मानवसँग फुटाऊ, जात-जातिमा बाँडएर कसरी शासन गर्ने भनि आप्रवासी आर्यहरुले गरेको विश्वकै घीनलाग्दो प्रयोग हो । जसको कारण एउटा ठुलो तप्का २१औं शताब्दीमा पनि भोग्न बाध्य छ ।
भारतीय विस्तारवादको राग अलाप्नेहरुको भारत मोह :
नेपालमा भारतीय विस्तारवादको हिन्दूवादी पाटो सँधै गौण राखिदैं आएकोछ । भारत पाखण्डवादको जननी मुलुकहो । अप्राकृतिक जाति-विभाजन, चातुर्वर्ण व्यवस्था लगायतका कुराहरुको प्रयोग-थलो भारत र नेपाल रहँदै आएको छ । वर्तमान भारतको अहिले जताततै चरम जातिवाद, साम्रदायिक द्वन्द्व जस्ता कुराको चपेटामा छ । देशमा अस्थिरता कायम राखेर सोझासिधा जनतालाई पाखण्ड, अंधविश्वासमा फसाएर राजनीतिक स्वार्थ सिद्ध गरिदैं आएको छ । सोही श्रृखला नेपालमा पनि प्रयोग गर्ने उद्देश्यले भारत र नेपालको सम्बन्ध विस्तार गर्नु दुबै तर्फका शासकहरुको लागि अपरिहार्यता भएको छ !
ओलि सरकार र राष्ट्रवाद :
मधेश आंदोलन ताका जब देशले नाकाबन्धी भोग्यो । सोही समयमा ओलि सरकारले भारतीय टेलीविजन च्यानलमा प्रतिबंध लगायो । केही भारतीय र भारतीय मिडियाले ओलिको जबरजस्त प्रसंसा गरेको थियो । अंधविश्वास-अंधश्रध्दा पाखण्डको मात्र प्रचार गर्ने भारतीय टेलीविजन माथि प्रतिबंध लगाएर नेपालको प्रधानमंत्रीले निक्कै राम्रो कार्य गरेको हो भन्ने प्रगतीशीलहरुको भनाइ थियो । तर वास्तवमा उक्त निर्णय केही सोझा जनतालाई खुशी पार्न गरिएको फगत एक प्रोपोगांडा मात्र थियो भन्ने कुरा त्यो कार्वान्वन नगर्नुले प्रस्ट पार्यो ।
खास एक जातीको जातीय वर्चस्व कायम राख्न तथा त्यहाँको जनतालाई अंधविश्वास,अंधश्रध्दामा फसाइ राख्न भारतमा ५५ वटा टेलीविजनले रातदिन कथित धर्म-संस्कारको राग अलापी रहेको छ । त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने नै भयो । भारतमा ४२ सयवटा संघ-संस्था धार्मिक पाखण्डको प्रचार प्रसारमा चौबिसैप्रहर व्यस्त छन् । ति मध्ये करीव तीन हजारवटा संस्था त नेपाल सरकारमै दर्ता गरेर चलाइरहेको तथ्यांक छ ।
नेपाली राजनितिकर्मी, मिडिया र पाखन्ड :
भारतमा नाम कहलिएका बाबा, साधुहरुको एजेन्ट नेपालभरि नै छरिएर रहेका छन् । नेपालको राष्ट्रिय टेलीविजनहरुमा दैनिक उनिहरुकै भजन-किर्तन, प्रवचन चलिरहेको देख्न सकिन्छ । यस विषयमा नेपाली मिडिया र सरकार दुवै मौन छ ।
यसै बिच भारतीय पाखण्ड र कथित धर्मको प्रचार प्रसारमा लिप्त बाबा, ढोगि-साधुहरुको नेपाल आगमन पनि जारी नै छ । उनिहरुको स्वागतार्थ हाम्रा प्रधानमंत्री, राष्ट्रपति जस्तो गरिमामय पदमा बसेकोहरु तछाँड-मछाड गर्दै जानु, सार्वजनिक रुपमै उनिहरुको गोडैमा ढोगेर आशीर्वाद लिनुले राजनीति र समाजमा कस्तो असर परिरहेको छ भन्ने कुरा घाम जत्तिक्कै छर्लंग छ ।
यस्ता सांस्कृतिक घुसपैठलाई नेपालि मिडियाहरुले झन बढाई-चढाइ गरेर प्रशस्तीगान गरिरहेका थुप्रै उदाहरण छन् । वास्तवमा यही नै भारतीय विस्तारवाद हो । यसलाई नेपाली सर्व साधारणले धर्मको नाममा पचाइरहेको छन् । नियालेर हेर्ने हो भने नेपाली ब्राह्मणवादी शासकहरुले यसलाई बचाउन वाध्यकारी अवस्था भएको छ । किनकी पाखन्ड र धर्मको नाममा जनतालाई भुल्याउन पाइयो भने शासन गर्न सजिलो हुन्छ । एउटा ठुलो समुदायलाई देशको मुलमुद्धाबाट हटाएर भुल्याउन पाईन्छ । त्यस किसिमको स्वार्थ भारतले मात्र पुरा गर्न सक्छ । अन्य छिमेकी देशहरुमा यस्ता किसिमको पाखण्डहरु खुलेआम जारी राख्ने अनुमति छैन ।
भारतीय प्रधानमंत्रीको फेरी नेपाल आउने कार्यक्रम रहेको छ । यो उन्को भ्रमण तेश्रो भ्रमण हुनेछ । यसपटकको भ्रमण विशुद्ध धार्मिक भ्रमण हो । झुक्किनु पर्दैन, यसको मुल उद्देश्य नै नेपालमा पनि संप्रदायिक सद्भाव बिगारेर चातुर्वर्ण व्यवस्था जस्तो कुरुप व्यवस्थालाई कायम राखि आफ्नो वर्चस्व कायम राख्नु नै हो । ब्राह्मणवादी षड्यंत्रको यस्तो रुप सबैले बेला छँदै थाह पाउन आवश्यक छ, ताकी भोली हाम्रो देश पनि भारतमा झैं धार्मिक चपेटामा नपरोस् र सुन्दर, शान्त नेपाल बनोस् ।