०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मधेस प्रदेश: बजेट सक्ने चटारो, असारे विकासमा हतारो

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२६ असार।
मधेस प्रदेशमा आर्थिक वर्षको अन्तिममा हतार–हतार बजेट खर्च गर्न ‘असारे विकास’को परम्परालाई यसपटक पनि निरन्तरता दिइएको छ । आफ्नै नातागोता तथा कार्यकर्ता समेटेर उपभोक्ता समिति बनाई ठेक्कापट्टामार्फत आयोजनाको जिम्मा दिएर बजेट दुरुपयोग गर्ने क्रमले निरन्तरता पाएको हो ।

मधेस प्रदेश सरकार अन्तर्गत जिल्ला प्राविधिक कार्यालय धनुषामा अहिले भुक्तानी लिन आउनेहरूको भिड छ । सबैभन्दा बढी तनाव ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ र ‘मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम’ अन्तर्गतका योजना सम्पन्न गराउनका लागि बिल भर्पाइ पेस गर्न भइरहेको अधिकृत दीपक ठाकुरले जानकारी दिए ।

धनुषाको नगराईन नगरपालिकाको नगराइन गाउँस्थित ६ लेन सडक छेउको पोखरीमा पक्की घाट निर्माण भइरहेको छ । चालु आर्थिक वर्षको ११ महिनासम्म घाट निर्माणमा कुनै चासो नदेखाएको मधेस प्रदेश सरकारले असारमै ६० लाख रुपैयाँको लागतमा पोखरी सौन्दर्यीकरणको नाममा घाट बनाउन थालेको हो ।

वर्षायाममा जेनतेन भइरहेको काम गुणस्तरहीन हुने सम्भावना रहेको नगराइन वडा नम्बर २ का वडा सदस्य प्रतीप चौधरीले बताए । उनले भने, ‘सरकारीस्तरबाट खर्च हुने बजेटलाई जेनतेन खर्चिनुभन्दा तिनको सदुपयोग गर्नु आवश्यक छ ।’

‘असारे विकास’का माध्यमबाट बजेट सक्ने चटारोले रकमको दुरुपयोग बढाउनुका साथै गुणस्तरमा पनि प्रश्न उठेको उनको भनाइ छ । प्रदेश सरकारबाट भएको विभिन्न विकास निर्माण गुणस्तरीय भए वा नभएको बहस गर्ने मुख्य थलो प्रदेशसभा नै हो । तर प्रदेशसभाकै अगाडि रहेको एक पोखरीमा ४४ लाख रुपैयाँको लागतमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत उपभोक्ता समितिले घाट निर्माण थालेको छ । हतारमा भइरहेको घाट निर्माण गुणस्तरीय नरहेको स्थानीयवासीको गुनासो छ ।

असार २३ गतेसम्म रकम निकासाका लागि काम सम्पन्न गरी बिल फर्छ्यौटका लागि पेस गरिसक्नुपर्ने हुनाले दिनरात नभनी काम गरिएको छ । हतारमा गरिएको काम गुणस्तरीय हुन नसकेको स्थानीयवासी बताउँछन् ।

वर्षभरि कछुवाको गतिमा हिँडेको प्रदेश सरकार अहिले बजेट सक्ने हतारोमा तालिम, गोष्ठी, सभा, सेमिनार तथा सम्मेलनमा व्यस्त छ । यस्ता कार्यक्रम पनि बजेट दुरुपयोगमै केन्द्रित रहेको सरोकारवाला बताउँछन् ।

परिणाममुखी कार्यक्रम गर्नुको साटो अनावश्यक कार्यक्रममा रकम खर्चिएका उदाहरण मधेसमा प्रशस्तै छन् । आर्थिक वर्ष सकिनै लाग्दा मन्त्रालयलाई बजेट सिध्याउन हतार भएपछि मन्त्री, सचिव र कर्मचारीहरू तालिम, अन्तरक्रिया र गोष्ठीमा सहभागी हुन दिनभर व्यस्त छन् ।

बजेट सक्नकै लागि मन्त्रालयबाट एकै दिन तीन वटासम्म छलफल, गोष्ठी र अन्तरक्रिया गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र राज्यमन्त्री योगेन्द्र यादव लक्ष्मीनियाँ गाउँपालिकास्थित बाबाको ढाबामा आइतबार सहकारी संघसंस्था तथा सरोकारवालाहरूसँगको अन्तरक्रियामा व्यस्त थिए ।

अर्कोतर्फ मन्त्रालयकी सचिव डा. नम्रता सिंह महोत्तरीको बर्दिबासमा ‘प्रदेशस्तरीय कृषि पत्रकारितासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुगेकी थिइन् ।

सहकारी सम्बन्धी कार्यक्रम सक्न हतार गरेका मन्त्री यादव आफ्नो मन्तव्य राखेर हतार–हतार जनकपुरधामको एक होटेलमा प्रादेशिक दुग्ध विकाससम्बन्धी मन्त्रालयकै कार्यक्रममा प्रमुख अतिथि बनेर सहभागी भएका थिए । आफ्नो नजिकका संघसंस्थालाई तालिम, गोष्ठी, सेमिनार र अन्तरक्रिया कार्यक्रममा लाखौं रुपैयाँ बजेट उपलब्ध गराएर असार मसान्तमा हतार–हतार कार्यक्रम गर्ने कृषि मन्त्रालयका यी तीन कार्यक्रम उदाहरणमात्र हुन् ।

मधेस प्रदेश सरकारका अधिकांश मन्त्रालय र मन्त्रीहरू अहिले यस्तै उद्घाटन र समापन कार्यक्रमहरूमा व्यस्त छन् । प्रदेश सरकारको महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले असार १५ र १६ गते ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ सम्पन्न ग¥यो । १४ लाख रुपैयाँ लगानीमा भएको सो सम्मेलनमा मधेस मन्थन, मधेस जागरण, मधेस हटिया, सांस्कृतिक साँझ, मधेसको मानलगायतका विषयमा चर्चा–परिचर्चा गर्ने र घोषणापत्र सार्वजनिक जस्ता कार्यक्रम निर्धारण गरिएको थियो ।

आठ वटै जिल्लाका युवालाई सहभागी गराउने उद्देश्य लिएर कार्यक्रम सञ्चालन गरिए पनि कार्यक्रममा स्कुले विद्यार्थीको सहभागिताबाहेक खासै उपलब्धिमूलक काम भएनन् । त्यस्तै मुख्यमन्त्री लालबाबु राउतले निकै तामझामका साथ उद्घाटन गरेको सम्मेलन बजेट सिध्याउनमै सीमित भएको आरोप युवा अभियन्ता सरोज मिश्रले लगाए ।

मधेस प्रदेश सरकारले तालिम, गोष्ठी, सेमिनार र छलफलको कार्यक्रममै जेठ मसान्तसम्ममा १७ करोड २५ लाख रुपैयाँ खर्चेको प्रदेशको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]