न्युजमधेस डेस्क
एजेन्सी । श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले राष्ट्रपतिको राजिनामा स्वीकृत भएको बताउनुभएको छ । राष्ट्रपति गोटाबाया राजपाक्षले अघिल्लाे हप्ता राजीनामा दिनुभएकाे थियाे ।
“राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ । आवश्यक कानुनी प्रक्रियापछि संसद सदस्यहरूलाई भोलि नयाँ राष्ट्रपति निर्वाचित गर्न आमन्त्रित गरिनेछ,” सभामुख अबेयवार्देनाले एएनआईसँग भन्नुभयो ।
आन्दोलनकारीको निरन्तरको दबावलाई साम्य पार्ने प्रयासस्वरूप सम्बोधन गर्दै एबेयवार्देनाले जुलाई १४ देखि राष्ट्रपतिले कानुनी रूपमा आफ्नो कानुनी कर्तव्य र जिम्मेवारीबाट राजीनामा दिएको बताउनुभयो ।
उहाँले संसदद्वारा नयाँ राष्ट्रपति निर्वाचित गर्ने टुङ्गो नलागेसम्म श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिङ्हेलाई अन्तरिम राष्ट्रपतिको रूपमा शपथ दिइने पनि बताउनुभयो ।
श्रीलङ्काको संविधानको धारा ४० तथा १९८१ को विशेष प्रावधानको ऐन नं. २ का बमोजिम राष्ट्रपति चयन गरिने अबेयवार्देनाले बताउनुभयो ।
उहाँले थप्नुभयो, “यो प्रक्रिया सफलतापूर्वक र छिटो पूरा गर्ने मेरो मनसाय हो । प्रजातान्त्रिक परम्परालाई पवित्र राख्ने दक्षिण एसियाली क्षेत्रको सबैभन्दा पुरानो प्रजातन्त्र भएकाले यो प्रक्रियालाई पारदर्शी र प्रजातान्त्रिक ढंगले पूरा गर्नु श्रीलंकाको इतिहासमा मात्र नभई विश्वको प्रजातान्त्रिक इतिहासमा पनि एउटा कोसेढुङ्गा हुनेछ ।”
उहाँले यस लोकतान्त्रिक प्रक्रियामा सहयोग गर्न पार्टीका नेता, राज्य पदाधिकारी र सुरक्षाकर्मीबाट सहयोगको लागि अनुरोध गर्नुभयो ।
एबेयवार्देनाले भन्नुभयो, “ शान्तिपूर्ण वातावरण सृजना गर्नका लागि श्रीलङ्काका हाम्रा सम्मानित र प्रिय नागरिकहरूलाई मेरो विशेष अपील छ । यसले संसदका सबै सदस्यहरूलाई स्वतन्त्रतापूर्वक संसदमा उपस्थित हुन र आफ्नो अन्तस्करणअनुसार कार्य गर्न अनुमति दिनेछ ।”
सात दिनभित्र राष्ट्रपतिको निर्वाचन प्रक्रिया लाई निष्कर्षमा पु¥याउने लक्ष्य रहेको सभामुखले प्रस्ट पार्नुभयो ।
यसैबीच सिंगापुरको परराष्ट्र मन्त्रालयले राजपाक्षलाई निजी भ्रमणमा सिंगापुर प्रवेशको अनुमति दिएको पुष्टि गरेको छ । मन्त्रालयले भनेको छ, “उहाँले शरण माग्नुभएको छैन । शरण दिइएको पनि छैन ।”
माल्दिभ्सबाट बिहीबार साँझ साउदी एअरलाइन्सको उडानमा सिंगापुर पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजपाक्ष र उहाँकी पत्नी सिंगापुरमै रहने र मध्यपूर्वतर्फको थप यात्रा नगर्ने बताइएको छ ।
यसअघि विभिन्न सञ्चारमाध्यमद्वारा सार्वजनिक समाचारमा साउदी एअरलाइन्सको विमान एसभी–७८८ सिंगापुर पुगेका श्रीलङ्काका राष्ट्रपति र उहाँकी पत्नी साउदी अरबको जेदा जाने रिपोर्ट गरिएको थियो ।
जुलाई ९ मा प्रदर्शनकारीको भीडले राष्ट्रपतिको निवासमा आक्रमण गरेपछि ७३ बर्षीय राजपाक्ष देशको कुनै स्थानमा लुकेर बस्नुभएको थियो । यसपछि राजपाक्ष आफ्नी पत्नीसँगै सुटुक्क माल्दिभ्सतर्फ जानुभएको थियो । उहाँले गत बुधबार आफ्नो राजीनामा पत्र हस्तान्तरण गर्ने घोषणा गर्नुभएको थियो ।
उहाँको अनुपस्थिति र राष्ट्रपति पदबाट राजिनापछि मुलुकको संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेलाई श्रीलंकाको अन्तरिम राष्ट्रपति नियुक्त गरिएको थियो ।
शनिबार फोर्टस्थित राष्ट्रपति भवनमा हजारौं प्रदर्शनकारी प्रवेश गरी कार्यालय कब्जा गरेपछि राजपाक्ष त्यहाँबाट सुरक्षाकर्मीको सहयोगमा भागेर सुरक्षित स्थानमा जानुभएको थियो । प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेसमेतले जारी विरोधका बीच आफ्नो पदबाट हट्ने घोषणा गर्नुभएको छ ।