०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

Logo
प्रकाशित शनिबार, कार्तिक १२, २०७९

न्यूजमधेश डेस्क
धनुषा ,१२ कार्तिक ।मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । यो पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ । दस दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरुले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्दछन् ।

आजको दिन बिहानै दिदीबहिनीहरुले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइको हातबाट खनिएको माटो ल्याएर गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाएका छन् । सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्गहरु भरेर रङ्गीचङ्गी बनाइन्छ । रङ्गिसकेको सामा चकेवा रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म नाचगान गर्दै चेलीबेटीहरुले सामा चकेवा खेल खेल्छन् ।

समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारीहरु ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चंपा फूल लगाइदिय’ ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’लगायत गीतहरू गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबै दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् ।

एघारौ‌ दिनमा बिहानै दिदीबहिनीले पुनः सामा चकेवा बनाएर रङ्गरोगन गरी बेलुका दही चिउरा खुवाउँछन् र त्यसबटै दाजुभाइको फाँर भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाएर बाजागाजासहित नाचगान गर्दै गाउँको नजिक जोतिएको खेतमा लगेर विसर्जन गर्दछन् ।

मिथिलाञ्चलकी हरेक दिदीबहिनीहरुले सामा चकेवा पर्वलाई निकै मन पराउने र माइतीमा गएर मनाउने इच्छा गर्ने भएकाले टाढाटाढाका दिदीबहिनीहरु पनि माइत जाने गर्दछन् । अन्य पर्वजस्तै भाइबहिनीको प्रेमको प्रतीक मानिएको यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी हुनेहरुका लागि निकै महत्वपूर्ण मानिन्छ । यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीहरुसँग मनाउने गर्दछन् ।

सामा चकेवा खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीहरुप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वासअनुरुप तराईको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लाहरुमा यो पर्व लोकप्रिय बन्दै आएकाले हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

मिथिलाञ्चलमा छठ पर्वको सन्ध्याकालीन अर्घ्य दिनुभन्दा एक दिनपूर्व आज देखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीहरुले जोरजाम गर्ने गर्दछन् । यस पर्वमा स–साना नानीहरु बढी उत्साहित हुने गर्दछन् भने उमेर नाघेका महिलासमेत पर्वको रमझममा हराउन पुग्छन् ।-रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]