०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति, आजदेखि संसद् खुल्ने विश्वास

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र ०५, २०८०

काठमाडौं । दलहरुबीच सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएसँगै संसद् खुल्ने वातावरण बनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गएराति बसेको राष्ट्रिय मान्यता प्राप्त दलका नेताको बैठकले सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित समिति गठन गर्ने सहमति गरेको हो ।

समितिको मोडालिटी तय गर्न तीन सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे हुनुहुन्छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समितिले सहमतिको मस्यौदा तयार पारेर आज बस्ने शीर्ष नेताको बैठकमा पेस गर्ने बताउनुभयो । शीर्ष नेताको बैठक आज दिउँसो २ बजे बस्ने तयारी छ ।

छलफल सकारात्मक भइरहेकाले आजको बैठकपछि संसद्को गतिरोध हट्ने नेताहरुको विश्वास छ । संसद् खुलाउने वातावरण बनेकाले आजदेखि संसद् खुल्ने अपेक्षा गरिएको छ । आज प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि राखिएको छ ।

यस्तै, राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै छ । प्रमुख प्रतिपक्षी दल एमालेले ६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै गएको साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

सत्ता पक्षले भने उच्चस्तरीय समितिको आवश्यकता नरहेको भन्दै सीआईबीले नै अनुसन्धान गर्ने अडान राख्दै आएको थियो । गएको ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट ब्रेक शु भित्र लुकाएर ल्याएको सुन बरामद भएको थियो । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म २३ जना पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागले गएको साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]