‘बगान’ चलचित्रमा बोलिएको एक पंक्ति ‘मनमा मैला भएकै कारणले महिला’। निकै खड्क्यो यो वाक्य। अर्को थियो, ‘महिलाको दुस्मन महिला नै हुन्छन् भनेको हो रै’छ क्या !’ यो वाक्य त धेरै अघिदेखि सुन्दै, विश्वास गर्दै अनि केही वर्षदेखि गलत भनेर बुझ्दै आएको थिएँ। धेरै वर्षदेखि अभ्यास गरिरहेको कुरा हो, महिलालाई महिलाको दुस्मन मान्ने र सतहमा हेर्दा त्यस्तै देखिन्छ पनि।
फ्रेन्च समाजशास्त्री पेरी बोर्देउले आफ्नो काममा ‘डोक्सा’को कुरा गरेको पाइन्छ। भन्छन्, ‘कुनै कुरालाई यति धेरै दोहोर्याइरहेका हुन्छौं कि हामीलाई त्यो स्वाभाविक लाग्न थाल्छ। त्यसलाई याद गर्नै छोड्छौं र बिनाहिच्किचाहट मानिरहन्छौं। सायद हामीलाई महिलाको ‘दुस्मन’ महिला नै हो भन्ने कुरा सामान्य लाग्न थालिसक्यो कि सहजै स्वीकार्न थाल्छौं। एउटी महिलाको ‘दुस्मन’ मानिएका महिलाहरू प्रायः उनकै सासू, नन्द, आमाजु, देउरानी, जेठानी र सौता हुने गरेको देखिन्छ तर यो दुस्मनीभन्दा पनि बढी प्रतिस्पर्धाको नाता हो।
नजिक भएका पुरुष र परिवारको माया बाँडिने डरले र वरिपरिका व्यक्तिहरूले गर्ने तुलनाले यो प्रतिस्पर्धा हुने, बढ्ने र विस्तारै दुस्मनीसम्मको रूपमा लिन्छन्। सामान्यतः यो वाक्यांश भन्ने कारण एउटी महिलाले गर्न लागेका काममा अरू महिलाले सहजै समर्थन र सहयोग गर्न नसकेको र नचाहेको र उल्टै थप प्रतिबन्ध लगाउने प्रयास गर्न खोजेको देखिएकाले हो।
दुस्मनीका सतही कारणहरू : हामीमाथि पहिलो प्रतिबन्ध लगाउने महिला आमा। सानैदेखि घरका महिलाले प्रतिबन्ध लगाएको, जुठो (चोखो, छुई र गर्न हुने/नहुने) भनी सिकाएको देखेका छौं। जुन कुरा घरका पुरुषहरूले सिकाएनन्। महिलामाथि प्रतिबन्ध घरकै अन्य महिलाले मात्र लगाए, त्यसैले उनीहरू आपसी दुस्मन हुन गए। सासूले बुहारीलाई नियन्त्रण गर्न खोज्ने र दुःख दिने कुरा सुन्दै र देख्दै आयौं।
बुहारीका कुरामा मानवशास्त्री लिन बेनेटले १९९० को दशकमा अध्ययन गरी लेखेको पुस्तक छ, ‘डेन्जरस वाइफ्स एन्ड स्याकरेड सिस्टर्स’। जसमा छ, ‘श्रीमतीहरू र बुहारीहरू बाहिरबाट आएकाले सधैं उनीहरूलाई शंकाको दृष्टिले हेरिन्छ। उनीहरू सधैं ‘आउटसाइडर’ हुन्छन् जोसँग डराउनु पर्ने हुन्छ र यो परिदृश्य अझै खासै फेरिएको छैन। नन्द–आमाजू अनि भाउजू–बुहारी अनि देउरानी–जेठानीबीचको सम्बन्ध फरक भए पनि उनीहरूलाई महिलाको दुस्मन बनाउने कारण खासै फरक छैन। आफूले परिवारबाट पाइरहेको माया बाँड्नुपर्ने डर र अर्कोले बढी माया÷प्राथमिकता पाउँदाको ईष्र्या नै हो। जसले सम्बन्धहरूमा द्वन्द्व बढेको देखिन्छ।
दुस्मनीको सुरुआत र निरन्तरता : आमाले हामीमाथि प्रतिबन्ध लगाइन् किनभने घरव्यवहार सम्हाल्नेसँगै पुरुषले बनाएका समाजका नियम र संस्कार सिकाउने अभिभारा महिलालाई दिइयो। समाजले नै सासूबुहारी, नन्दभाउजू, आमाजूबुहारीको सम्बन्धमा मापदण्ड तय गरिदियो। उनीहरूमा यी कुराले गहिरो जरा गाडेको हुन्छ। यो बोर्देउले भनेझैं उनीहरूको ‘बानी’ बन्छ। फलस्वरूप यसमा उनीहरूले कुनै गलत कुरा छ भनेर देख्ने अवस्था रहँदैन। विवाहका सूचक जस्तै सिन्दूर, पोते, चुरा पुरुषहरूले लगाउनु नपर्ने भएकाले पनि वैवाहिक अवस्था लुकाउन सहज हुन्छ। श्रीमती र जन्मिएको परिवारबीच दूरी र फरकलाई कम गर्दै लैजाने जिम्मा उसको हो। तर सन्तानमा खोट निकाल्नुभन्दा बाहिरबाट आएकी र ‘परिवार बाहिरकी’ बुहारीलाई दोष दिन सहज हुन्छ।
यस्ता अभ्यासहरू महिलाले नै गरेको देखिन्छ तर समाजका यी अभ्यासहरूलाई संस्कार र उनीहरूको भूमिकाको रूपमा स्थापित भने पुरुषहरूले गरेका हुन्। जुन तराजुमा राखेर असल बुहारीको मापन गरिन्छ त्यो तराजुको मापदण्ड पितृसत्तात्मक सोचले नै तय गरेको छ। जुन शास्त्रहरूलाई आधार मानेर यी नियम र संस्कार बने, महिलालाई ती शास्त्र पढ्ने धेरै वर्षसम्म अधिकार थिएन। त्यसैले जुन प्रतिबन्ध लगाएका कारण यत्रो वर्षदेखि महिलालाई दुस्मन देख्दै आएका थियौं, त्यो प्रतिबन्धको सुरुआत महिलाबाट भएको जस्तो देखिँदैन। बरु समाजको डर, भर र करले चाहेर वा नचाहेर महिलाहरू यसलाई निरन्तरता दिन बाध्य छन्।
समाजले महिलाका दुस्मन मान्दै आएका महिला व्यक्तिमात्र नभएर नातासम्बन्ध र ती नाता सम्बन्धबारे बनाइएका भाष्यहरू हुन्। यी भाष्यहरू अहिले सामाजिक सञ्जालमा विभिन्न छोटा र लामा भिडियोमार्फत बारम्बार पुनःउत्पादन भइरहेछन्। जसले यो दुस्मनीबारे सम्झाइरहन्छ। उल्लेखित महिलाहरू सायद एकअर्कासँग यी सम्बन्धमा नभएका भए खासै प्रतिस्पर्धा र दुस्मनीको दायरामा आउँदैनथे। समाजमा केहि अपवाद छन्। जो स्वभावले नै रिस गर्ने र अरूको कुभलो चिताउने खालका छन्। तर यी अवगुण पुरुषहरूमा पनि भेटिन्छन्।
यदि ‘बगान’ चलचित्रकै कुरा गर्ने हो भने पनि त्यहाँ आकांक्षाबारे पुरुषपात्रहरूले तीन अलग सन्दर्भमा कुरा काटेको देखाइएको छ। महिलापात्रले एकपल्ट तर त्यो एक क्षणको क्लिपले महिलाको दुस्मन महिला भन्ने कुरालाई संवादद्वारा अझ ‘फोकस’ गरेको पाइन्छ। पुरुष पात्रहरूको मनको मैलो पटकपटक देखाइरहँदा पनि मैला भनिएका महिलाको मनमा मात्र हुन्छ भन्ने खालको सन्देश त्यो दृश्यले दिएको देखिन्छ। जुन नेपाली समाजमा भइरहने एउटा सामान्य अभ्यास हो। तर गहिरो जरा गाडेर बसेको पितृसत्तात्मक सोचको झल्को हो।
रह्यो महिला शब्दको कुरा, महिलाको अर्थ नै लगाउनु छ भने मनमा मैलो भएको भएर महिला भन्नुभन्दा समाजमा दोस्रो दर्जामा राखिएको भएर माहिला शब्दबाट अपभ्रंश गरी महिला राखिएको हो भन्न सुहाउला। आखिर मैलाभन्दा माहिला शब्दसँग यो महिला शब्दले धेरै मेल खाएको जस्तो देखिँदैन र ?