जनकपुरधाम । तराई मधेशका जिल्लामा महिलाहरूले विशेष श्रद्धापूर्वक मनाइने जितिया पर्व सुरु भएको छ । महिलाहरू आज ‘नहाय-खाय’ गर्दैछन् ।
बिहानैदेखि जनकपुरधामको ऐतिहासिक पोखरी तथा जलाशयमा स्नान गर्ने व्रतालु महिलाहरूको भीड देखिएको छ ।
महिलाहरूले आचमन शुद्धि गरी घिरौँलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ राखेका छन् । सन्तानको दीर्घायु तथा पुत्र प्राप्ति हुने विश्वासका साथ महिलाहरू यो पर्व विशेष श्रद्धाका साथ पूजापाठ गरिरहेका छन् ।
यो पर्वमा महिलाहरूले दिन–रात उपवासमा बस्नुपर्ने हुन् । व्रत अवधिभर व्रतालुहरूले मुखले सिन्कोसम्म टोक्नु हुँदैन भन्ने जनविश्वास रही आएको छ । त्यसैले जितिया पर्वलाई कठोर व्रतको रूपमा चिनिन्छ । अचम्म के भने व्रतालुहरू पवित्र जलाशयहरूमा स्नान गरी माछा र कोदोको रोटी खाने गर्छन् । वैष्णव महिला भने शाकाहारी भोजन गर्छन् ।
पर्वको दोस्रो दिन भोलि व्रतालुहरू बिहान सूर्य उदय हुनुअघि ‘अंगुठन’ गर्छन् । अंगुठन यस व्रतको रोचक पक्ष हो । बिहान काग कराउनु भन्दा अघि व्रतालुहरू घिरौँलाको पातमा चिउरा, दही, केरा, आँपको रसबाट बनाएको परिकार आदि प्रसाद चढाएर सपरिवार प्रसाद ग्रहण गर्छन् । व्रतको तेस्रो दिन व्रतालुहरू पवित्र सरोवरहरूमा स्नान गरी जिमुतवाहनको कथा सुन्ने प्रचलन छ ।
पर्वको पवित्रता वा विधि विधानमा एक पटक असफल हुने महिला आजीवन जितिया व्रत बस्न पाउँदैनन् । त्यसैले पनि यस पर्वको विशेष महत्त्व छ । ठुलो दुर्घटना वा कुनै विपदाबाट जोगिएपछि यहाँ भन्ने चलन छ, ‘तोहर माय खर–जितिया कैने छलौ तें बँचि गेले । (अर्थात् तिम्रो आमा मुखले सिन्कोसम्म नभाँची जितिया व्रत बसेकी थिइन र तिम्रो ज्यान जोगियो ।)’
जितिया व्रतालुले जितवाहन भगवानको पूजा गर्छिन् । भविष्य पुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाका पुत्र जितवाहन थिए । उनीमाथि महादेवको असीम कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए ।
मधेशका प्रायः गाउँमा जितवाहन मेला लाग्छ । कतै नीजि रूपमा त कतै सामूहिक रूपमा जितवाहन भगवानको मूर्ति बनाएर पूजापाठ गर्ने गरिन्छ । पूजापाठ गर्ने ठाउँमा मेला पनि लाग्छ ।