काठमाडौं । गत वर्ष पुस १० मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएको छैटौं दिनमा चितवनस्थित नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहमा सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको बताएका थिए।
‘तपाईंहरुलाई थाहा छ, मैले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने भनेको छु। म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन। यो कार्यकाल म भाषण कम र काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने मैले प्रतिज्ञा गरेको छु’, उनको भनाइ थियो।
लगत्तै राष्ट्रिय योग दिवसको अवसरमा गत माघ १ गते भक्तपुरको सानो ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए- ‘मैले यसपटक प्रधानमन्त्रीको रुपमा जनता र राष्ट्रको पक्षमा राम्रा केही नयाँ काम सुरु गर्ने अठोटसहित शपथ ग्रहण गरेको छु।’
तेस्रो कार्यकाललाई सम्झनालायक बनाउने प्रधानमन्त्रीको चाहना रहेको त्यतिबेला उनका अभिव्यक्तिहरूमा प्रकट हुन्थे। त्यसका लागि उनको ‘ब्लुप्रिन्ट’ प्रष्ट थियो- धेरै भाषण नगर्ने बरु जनता र राष्ट्रको पक्षमा केही राम्रा कामहरू गर्ने।
जनता र राष्ट्रका पक्षमा कति राम्रा काम गर्न सके, त्यस सम्बन्धमा फरकफरक कोणबाट छलफल हुन सक्छ। तर एक वर्षको यस अवधिमा उनका महत्त्वपूर्ण समय भने सानाठूला कार्यक्रममा भाषण गरेरै बितिरहेका छन्। भाषणकै लागि उनी काठमाडौं उपत्यकादेखि अन्य जिल्लामासमेत पुगेका छन्। मंगलबार बिहान मात्रै माओ दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडा र २० औं राष्ट्रिय ज्यापू दिवसका अवसरमा बसन्तपुरमा आयोजित कार्यक्रममा भाषण गरिसकेका छन्। यसरी उनी स्वयंले भाषण कम गर्ने भनेर गरेको प्रतिबद्धता पालना नभइरहेको देखिन्छ।
मंगलबार उनले यो प्रवृत्तिलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रका नाममा गरिएको सम्बोधनमा उनले भने, ‘केही पूर्व निर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु। सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुनेछ।’
त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्दै गर्दा साथीहरूले आफ्नो कार्यकाल एक महिनाभन्दा बढी नजाने भनेको बताउने गरेका छन्। गत मंसिर १ गते आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको समुद्घाटन समारोहमा सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएको १०,११ महिना लागिसकेको भन्दै ‘बाँचिराखिएकै छ’ भन्दै कार्यकाललाई संश्लेषण गरेका थिए। यसरी उनी स्वयंले एक वर्ष पदमा टिक्नुलाई नै उपलब्धिको रुपमा बुझेको जस्तो देखिन्छ।
प्रधानमन्त्रीको सुरुवाती महिना उल्लेखनीय भएनन्। खासगरी तत्कालीन एमाले, रास्वपा तथा राप्रपा लगायतका दलहरूको गठबन्धनबाट प्रधानमन्त्री बनेका उनले सो गठबन्धनमा सहजता महसुस गर्न नसकेको देखिन्थ्यो। त्यसैले कैयौं हप्ता उनले कांग्रेस नेतृत्वको पुरानै गठबन्धन ब्यूँत्याउने प्रयत्नमै बिताए। त्यसक्रममा उनले एमाले लगायतका दल सहभागी गठबन्धनप्रति ‘विश्वासघात’ पनि गरे। त्यसैले फागुन अन्तिम साता राष्ट्रपति र चैत पहिलो हप्ता उपराष्ट्रपतिको निर्वाचन नहुञ्जेलसम्म शासकीय नेतृत्व नै अन्योलमा देखियो। कैयौं दिनसम्म त प्रधानमन्त्री प्रचण्ड एक्लैले झन्डै डेढ दर्जन मन्त्रालयको नेतृत्व समेत सम्हाले। त्यस क्रममा शीर्ष नेताका कैयौं बैठकहरू सत्ता दाउपेचका निम्ति थिए। जसले नागरिकबाट आलोचना पनि खेपेका थिए।
प्रधानमन्त्रीले मंगलबारको सम्बोधनमा यसलाई पनि सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको भनाइ छ, ‘अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन, विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्नेछ।’
गत फागुन/चैतमा कांग्रेस, एकीकृत समाजवादी लगायतका दल सम्मिलित नयाँ सत्ता गठबन्धन बनेपछि केही समय सरकार आक्रामक देखिएको थियो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहविरुद्ध लिइएको सक्रियता, सुन प्रकरण, ललिता निवास प्रकरणमा संलग्न रहेका आशंकामा दोस्रो मुद्दा दर्ता जस्ता विषयले सरकारले सुशासनका लागि निर्मम भएर अघि बढ्ने संकेत देखाएको थियो। तर, गठबन्धनका दलहरू र आफ्नै पार्टी माओवादी केन्द्रका नेताहरूको पनि नाम जोडिन थालेपछि सरकारको गति सेलाएको र त्यस्ता प्रकरण नै सामसुम हुने स्थितिमा पुग्ने हो कि भन्ने आशंका व्यक्त हुन थालेका छन्।
प्रतिनिधि सभामा ३२ सिट मात्रै जितेको दलको नेताको रुपमा उनी प्रधानमन्त्री छन्। संसदीय गणितको अप्ठ्यारा र सम्भावनाले गर्दा उनी प्रधानमन्त्री हुन सकेका भए पनि जनमतको हिसाबले उनले पाएको पद स्वाभाविक छैन। त्यति हुँदाहुँदै पनि प्राप्त ‘अन्तिम अवसर’लाई उनले आफ्नो कार्यकुशलतामार्फत् आशा सिर्जना गर्न सकेका छैनन्। पछिल्ला दिनमा विदेशिनेप्रति उनको असन्तुष्टि प्रकट हुन थालेको छ। तर मानिसहरूले देशमा आशा नदेख्नुमा व्यक्तिगत रहर/बाध्यताका सँगसँगै आफ्नो शासकीय कमजोरी पनि हो भन्ने बुझ्न सकेका छैनन्।
यतिबेला उनी ‘धक्का दिने’ भन्दै आगामी दिनमा केही गरिछाड्ने अठोट व्यक्त गरिरहेका छन्। तर पहिलो कार्यकालमा उनको ‘चमत्कार’ले जसरी हावा खायो, तेस्रो कार्यकालमा उनको ‘धक्का’ले पनि हावा खाने निश्चितप्रायः छ। किनकि, उल्लेखनीय रुपमा जनतामुखी काम गर्न नसक्नु र भाषिक गोलमटोलमा जनतालाई भुल्याउनु नेपालका प्रधानमन्त्रीको साझा चरित्र हुँदै आएको छ। मंगलबार पनि उनले यही साता आफूले प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने बताए। सिंगो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुने उनको भनाइ थियो। तर आफूमा परिवर्तनबाहेक अन्य सुधारले ठोस परिणाम ल्याउन कठिन छ।