०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

विकासका साझेदार संस्थाहरूलाई जोडेर लैजानु पर्छ:मुख्यमन्त्री सिंह

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, साउन १०, २०८१

जनकपुरधाम ,१० साउन । मधेश प्रदेश सरकारले प्रदेशमा काम गर्ने विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग पहिलो पटक छलफल गरेको छ।

बिहीबार जनकपुरधाममा मधेश प्रदेश सरकारका प्राथमिकता र विकास साझेदार संस्थासँग नीतिगत बहस कार्यक्रममा मधेशमा काम गर्ने विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग छलफल गरिएको हो।

छलफलमा प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग काम गर्न प्रदेश सरकार तत्पर रहेको बताउनुभयो। उहाँले प्रदेश सरकारको प्राथमिकतामा सबै क्षेत्र पर्ने तर त्यसलाई पहिलो, दोस्रो र तेस्रो गरेर क्रमबद्ध रूपमा अगाडि बढाउँदा लक्ष्य हासिल हुने धारणा व्यक्त गर्नुभयो। उहाँले मधेशमा काम गरिरहेका संस्थाहरूलाई भन्नुभयो, “वन टु वन योजना बनाएर काम गर्नु पर्छ। आउनुस्, हामीसँग हातेमालो गर्नुस् । हामी तपाईंहरूसँग काम गर्न तयार छौं ।”

मुख्यमन्त्री सतीशकुमार सिंहले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग काम गर्न प्रदेश सरकार तत्पर रहेको बताउनुभयो

प्रदेशमा काम गर्ने संस्थाहरूसँग निरन्तर सहकार्य र समन्वय गरिने पनि उहाँले बताउनुभयो। प्रदेशमा प्रत्येक निर्वाचन क्षेत्रमा नमुना विद्यालय बनाउने, प्रदेशमा दुई वटा आइएटी पार्क, आठ वटै जिल्लामा शैक्षिक पार्क बनाउनेलगायतका कार्यक्रम राखिए पनि यसमा गैरसरकारी संस्थाहरूको चासो रहे प्रदेश समृद्धितिर लम्कने विश्वास उहाँले व्यक्त गर्नुभयो।

मुख्यमन्त्री सिंहले भन्नुभयो, “प्रदेशलाई समृद्ध बनाउनु छ भने विकासका साझेदार संस्थाहरूलाई जोडेर लैजानु पर्छ।” यसअघि पनि उहाँले केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग छलफल गरेको बताउनुभयो।

यस्तै कार्यक्रममा नीति तथा योजना आयोग मधेशका उपाध्यक्ष डा. सोहनप्रसाद साहले चरणबद्ध रूपमा प्राथमिकताका क्षेत्र छनोट गरेर योजना बनाउनुपर्ने बताउनुभयो। यसमा कृषि, सिँचाइ, शिक्षा, रोजगारी नविकरणीय ऊर्जा र क्षमता अभिवृद्धिका विषय पर्छन्। उहाँले प्रदेशका योजनाहरू आर्थिक वर्षको प्रथम त्रैमासिकबाटै सुरु गर्ने योजना रहेको स्पष्ट पार्नुभयो।

प्रदेशमा जनशक्तिको अभावका कारण काम पूरा हुँदैन। त्यसकारण जनशक्ति पनि थप्नुपर्ने बताउँदै उपाध्यक्ष साहले प्रदेशका योजनाहरूको प्राविधिक सहयोगमा गैरसरकारी संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले भन्नुभयो, “गैरसरकारी संस्थाहरूलाई नियन्त्रण हैन, काम गर्ने वातावरण सिर्जना गर्नु पर्छ।” छलफलमा उपस्थित गैरसरकारी संस्थाका पदाधिकारीहरूले आआफ्ना क्षेत्रका समस्या सुनाउँदै प्रदेशलाई समृद्ध बनाउनेबारे योजना बनाउन अग्रसर रहेको बताएका थिए। उनीहरूले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्न तत्पर रहेको पनि बताए।

नीति तथा योजना आयोगद्वारा आयोजित कार्यक्रमको अध्यक्षता आयोगका उपाध्यक्ष डा.सोहन प्रसाद साहले गर्नुभएको थियो। कार्यक्रममा खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जैसवाल, श्रम तथा यातायातमन्त्री कैशलकिशोर राय, प्रदेश सचिव, प्रदेशमा काम गर्ने ३५ भन्दा बढी गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]