महोत्तरी ,३० साउन। मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा वुधबार भू तथा जलाधार व्यवस्थापन कार्यालय महोत्तरीको उद्घाटन गरिएको छ ।
जलेश्वर नगरपालिकाको वडानं. २ प्रादेशिक अस्पतालको अगाडीमा रहेको लभ सिंहको भवनमा सो कार्यालय स्थापना गरिएको हो ।
धनुषा र महोत्तरी कार्यक्षेत्र रहेको सो कार्यालयको उद्घाटन वैदिक पुजापाठसहित मधेश प्रदेशको वन तथा वातावरण मन्त्री त्रिभुवन साहले गरेको हो ।
उद्घाटन कार्यक्रममा मन्त्री साहले जनभावना अनुसार कामकाज गर्न कर्मचारीहरुलाई निर्देशन दिनुहुदै कार्यालय स्थापना भएपछि महोत्तरीका जनताहरुलाई भू तथा जलाधार संरक्षण सम्बन्धी कार्यक्रमहरुबाट लाभ मिल्ने विश्वास व्यक्त गरे ।
उनले अहिले प्रदेशमा महोत्तरीसहित पर्सा, रौतहट र सिराहामा मात्रै भू तथा जलाधार व्यवस्थापन कार्यालय रहेको चर्चा गर्दै मधेश प्रदेश सरकार प्रदेशको आठ वटै जिल्लामा कार्यालय स्थापना गर्ने गरि काम गरिरहेको भने ।
देश संघियतामा प्रवेश गरेसँगै खारेज भएका साविकका जिल्ला भूसंरक्षण कार्यालयहरुले संचालन गर्दै आएका भू तथा जलाधार संरक्षण संबन्धी एकिकृत कार्यक्रमहरु यो कार्यालयबाट गरिने जानकारी भू तथा जलाधार व्यवस्थापन कार्यालय महोत्तरीका प्रमुख बेचन कुमार महतोले बताए ।
उनले उपलब्ध श्रोत साधन एवं स्विकृत कार्यक्रम तथा बजेटका आधारमा महोत्तरी तथा धनुषाको महत्वपूणर् र संबेदनशील जलाधार क्षेत्रको एकिकृत संरक्षणका माध्यमबाट खेतीयोग्य भूमिको संरक्षण तथा उत्पादकत्व बृद्धि गरि कार्य गर्ने जानकारी दिनुहुदै उत्तरको चुरेक्षेत्रदेखि दक्षिणको दशगजासम्म यस कार्यालयको क्षेत्राधिकार रहेको बताए ।
उनले स्थानीय तहसँगको सहकार्य र समन्वयमा शहरी खानेपानीका जलाधार क्षेत्र संरक्षण, कुवा पोखरी संरक्षण लगायतका महत्वपूणर् जलाधार क्षेत्रहरुको संरक्षण तथा सम्वद्र्धन गरी बाढी, पहिरो, भू-क्षय जस्ता प्राकृतिक प्रकोपको चाप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सघाउ पुर्याउने मुख्य जिम्मेबारी यस कार्यालयको रहेको बताउनुहुदै हरित क्षेत्र निर्माणको लागि समेत यो कार्यालयले कामकाज गर्ने बताए ।
चुरे विनाशको कारणले यसक्षेत्रका वासिन्दाहरु विगतदेखि नै खानेपानीको समस्याबाट आक्रान्त रहँदै आएको समयमा यो कार्यालयको स्थापनाले महोत्तरीबासी खुशी देखिएका छन् । विगतमा जलाधार सम्बन्धी कामको लागि सिरहाको लहान पुग्नुपर्ने अवस्था महोत्तरीमा कार्यालय स्थापनासँगै हटेको छ ।
उद्घाटन समारोहमा मधेश प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरे, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसहित वन मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरु तथा मधेश प्रदेशका सम्पूणर् भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।