०५ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue
×

चन्देलाई मुख्यमन्त्री सिँहको नमस्कार

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन ३२, २०८१

जनकपुरधाम,१ भाद्र । जनकपुरधामको जानकी चोकस्थित चन्दे चिया पसल । मर्निङ्ग वाक गर्न सहरको मध्यभाग भएर आवतजावत गर्नेदेखि लिएर जानकी मन्दिर दर्शन गर्न आउने पर्यटकहरूको एकछिन उठबस गर्ने ठाउँ हो यो । चिया, लस्सीजस्ता पेय पदार्थका पारखीहरूको दिनभरि बाक्लो भिड लाग्ने यो ठाउँमा शनिबार बिहान मधेशका मुख्यमन्त्री सतिशकुमार सिँह झुल्किए ।

नजिक रहेको अङ्गराजसर (अरगजा पोखरी) र तेलहा पोखरी अवलोकनपछि मुख्यमन्त्री सिँह फर्कनुअघि अचानक चन्दे चिया पसलमा पुगे । उनीसँगै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साह र गोरखापत्रका प्रदेश संयोजक धीरेन्द्र साह आदि एउटै बेन्चमा बसे । अघिल्तिर नेपाल प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक गोविन्द साह, नेपाली काँग्रेसका नेता गणेश ठाकुरलगायत बसे । अनि चियाको चुस्कीसँगै सुरु भयो जानकी मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउने कुराकानी ।

त्यतिबेला अलिक पर्तिरबाट मुख्यमन्त्रीतिर सोझिँदै एक सामाजिक कार्यकर्ताले मेला भर्न जानकी मन्दिरमा आउने श्रद्धालुभक्तजनहरूलाई छसातवटा संस्थालाई पनि पानी खुवाउन हम्मे पर्ने गरेको सुनाए । खानेपानीको स्रोत र लस्करै टुटी नलगाइँदा हजारौँ भक्तजनलाई जारबाट पानी खुवाउन नसकिने उनको भनाइलाई मुख्यमन्त्री सिँहले अत्यन्त गम्भीरतापूर्वक सुने ।

साउन महिनामा उपवास राख्ने भएकाले मुख्यमन्त्री सिँहले चियापान भने गरेनन् । तर, सँगै रहेकाहरूले मिठो मानेर चिया पिइरहँदा उनी धीरतापूर्वक सँगै बसे । मुख्यमन्त्री सिँहको यो अवलोकन गर्ने कार्यक्रम पूर्वनिर्धारित नभएर आकस्मिक हुँदा वरपर रहेकाहरू मात्र नजिक आएका थिए । तिनमा थिए काँग्रेसका स्थानीय नेता ठाकुर ।

अरगजा पोखरी र तेलहा रहेको वडा नम्बर १० का अध्यक्ष पदमा गत स्थानीय निर्वाचनमा काँग्रेसका प्रत्याशी रहेका ठाकुरले जीब्रो टोक्दै भने, “यत्तिको सरल र सहज मुख्यमन्त्री मधेश प्रदेशले पहिलोपटक पाएको छ ।” यसभन्दा अघि तामझामका साथ ‘सवारी’ गर्ने मुख्यमन्त्री र मन्त्रीहरूको शैलीमात्र देखेका ठाकुरले मुख्यमन्त्री हिँडेरै सोझै चियापसल अगाडिको बेन्चमा बसेको देखेर छक्क परेका थिए ।

चियापसले चन्देका लागि पनि मुख्यमन्त्री पसलमा आएर विकासका बारेमा गफगाफ गरेको पहिलो अनुभव थियो । अरू दिन बिहान र बेलुका नेताहरूले दिने लम्बेतान राजनीतिक गफ सुन्न अभ्यस्त भइसकेका उनले एकछिन मुख्यमन्त्रीको अनुहार टोलाए अनि चिया पकाउन व्यस्त भए ।

चिया पसलबाट गाडीतिर फर्किरहँदा मुख्यमन्त्री सिँहले चन्देलाई नमस्कार गरे । चिया पकाउन व्यस्त चन्देले मुन्टो उठाउँदा मुख्यमन्त्रीको नमस्कार मुद्रा हेरे । अनि भावविभोर हुँदै फर्काए नमस्कार ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]