न्यूज मधेश,पपुवा न्यु गिनी ।बोगेनभिलियनहरूले मेलानेसियन द्वीप समूहलाई पपुवा न्यु गिनीबाट स्वतन्त्र मुलुक बनाउने/नबनाउनेबारे जनमतसंग्रहमा शनिबार पहिलो पटक मतदान गरेका छन् । विभिन्न चरणमा हुने मतदानका लागि २ लाख ५० हजार बोगेनभिलियन पञ्जीकृत छन् । जनमत संग्रहमा बोगेनभिलियनको महुमत प्राप्त भए मेलानेसियन द्वीप समूह विश्वकै नयाँ मुलुक बन्नेछ ।
विशेषज्ञहरूका अनुसार बोगेनभिलका अढाइ लाख मतदाता स्वतन्त्र मुलुकको पक्षमा भारी मतदान गर्ने दाबी गरेका छन् । शनिबार सुरु मतदान दुई सातासम्म जारी रहनेछ । सन् २००१ मा पपुवा न्यु गिनीको मुख्य भूभागको पूर्वमा अवस्थित द्वीप समूहको क्लस्टरमा कम्तीमा १५ हजारको ज्यान जाने गरी भएको गृहयुद्ध समाप्त गर्ने उद्देश्यले भएको शान्ति सम्झौताअन्तर्गत यो जनमतसंग्रह भइरहेको हो । बढी स्वायत्तता प्रदान गरिएको बोगेनभिलेका मतदाता स्वतन्त्रताको पक्षमा आ–आफ्नो मत जाहेर गर्न सक्ने दाबी विशेषज्ञहरूको भएको एसोसिएटेट प्रेसले जनाएको छ । तर, जनमत संग्रहको परिणाम अन्तिम भने हुने छैन । पपुवा न्यु गिनीमा जनमत संग्रह गैर–बाध्यकारी कदम हो ।
स्वतन्त्रताको पक्षमा जनमत संग्रहको परिणाम आए पनि बोगेनभिले र पपुवा न्यु गिनीका नेताहरूबीच वार्तापछि निर्णय सार्वजनिक गरिनेछ । अन्तिम निर्णय पपुवा न्यु गिनीको सांसदले गर्नेछ । पपुवा न्यु गिनीमा संयुक्त राष्ट्रसंघका सह–समन्वयकर्ता जियानलुका रामपोलाले भने, ‘अन्तर्राष्ट्रिय निकाय जनमतसंग्रहका लागि मतदान शान्तिपूर्ण, पारदर्शी, समावेशी र विश्वसनीय बनाउन कडा परिश्रम गरिरहेको छ ।’ उनका अनुसार जनमतसंग्रहका लागि पपुवा न्यु गिनीमा संयुक्त राष्ट्रसंघका ४० कर्मचारी र सयभन्दा बढी अन्तर्राष्ट्रिय पर्यवेक्षक खटिएका छन् । ‘मतदानका क्रममा हिंसाको सम्भावना न्यून रहेको छ,’ उनले भने, ‘करिब १९ वर्षदेखि यो ऐतिहासिक क्षणका लागि म प्रतीक्षारत थिएँ, मलाई विश्वास छ कि जनमतसंग्रह शान्तिपूर्ण तरिकाले सम्पन्न हुन्छ ।’
डिसेम्बरको मध्यमा जनमतसंग्रहको परिणाम सार्वजनिक भइसक्नेछ । २ लाख ७ हजार मतदाता जनमतसंग्रहका लागि योग्य छन् । रामपोलले भने, ‘दुर्गम क्षेत्रहरूका कारण विस्तारित मतदानको अवधि दुई सातासम्म निर्धारण गरिएको छ ।’ डुंगामा चढेर मतदानका लागि सहभागी हुने मतदातासमेत जनमत संग्रहमा सहभागी हुने उनले दाबी गरे । उनले भने, ‘प्रतिकूल मौसम र दुर्गम बस्तीहरूका कारण सुगम तरिकाले मतदाताहरूले मतदान गरुन भन्ने उद्देश्यले केही लचिलोपना अप्नाइएको छ, त्यसैले मतदानलाई विभिन्न चरणमा सञ्चालन गरिएको हो । ’ बोगेनभिलेको स्वायत्त क्षेत्रका अध्यक्ष जोन मोमिसले शुक्रबार संवाददातालाई भनेका थिए, ‘यो क्षेत्र एउटा नयाँ सामाजिक–आर्थिक र राजनीतिक परिवर्तनका लागि आँतुर छन् ।’ ‘पोस्ट–कोरियर’ अखबारमा आफ्नो साप्ताहिक कोलममा पपुवा न्यु गिनीका प्रधानमन्त्री जेम्स मारपेले लेखेका छन्, ‘एउटा जनमतसंग्रहको परिणामअघि राजनीतिक सम्झौतामा पुग्नका लागि गम्भीर वार्ता र छलफलको आवश्यकता छ । ’ सन् १९८० को दशकको अन्त्यतिर बोगेनभिलेमा हिंसा सुरु भएको थियो ।
पंगुनामा रहेको एक विशाल कपर खानीका कारण हिंसा र द्वन्द्व चुलिएको थियो । पपुवा न्यु गिनीका लागि उक्त खानी एउटा ठूलो आम्दानीको स्रोत हो । मुलुकले कपर निर्यात गरी ठूला आम्दानी गर्दै आए पनि बोगेनभिलेका बासिन्दाले त्यसको लाभ लिन नसकेको भन्दै स्थानीय विरोधमा उत्रेका थिए । खानीले प्रदूषणसँगै स्थानीयको पारम्परिक जीवन स्तरलाई प्रभावित पारेको भन्द्र बोगेनभिलियनहरू विरोधमा उत्रेपछि पपुवा न्यु गिनी गृहयुद्धमै धकेलिएको थियो । त्यसै क्रममा स्वतन्त्रताका लागि आवाज उठेको थियो । सरकारले दमन नीति अख्तियार गरेपछि चर्केको द्वन्द्वमा कम्तीमा १५ हजारले ज्यान गुमाउनुपरेको थियो ।
सन् २००१ मा शान्तिसम्झौता भए पनि बोगेनभिलेमा रहेको खानी खुल्न सकेको छैन । एक दशकसम्म जारी गृहयुद्धपछि धेरैले राजस्वको मुख्य स्रोत खानी भएकाले छुट्टै मुलुकको पक्षमा धेरैले वकालत गर्दै आएका छन् । पपुवा न्यु गिनी र बोगनेभिलेबीच भएको शान्तिसम्झौतामा हतियार व्यवस्थापन, द्वन्द्व प्रभावित क्षेत्रमा थप स्वायत्तता, जनमतसंग्रहलगायतका बुँदाहरू समेटिएका थिए । रामपोलाले भने, ‘शान्तिसम्झौता विश्वको केही भूभागमा लामो समयसम्म जारी हिंसाको एउटा हिस्सा थियो । जनमतसंग्रह र त्यसपछिको सौहार्दर्तापूर्व वार्तापछि निस्कने परिणामलाई सबैले समर्थन र सहयोग गर्न आवश्यक छ ।
पपुवा न्यु गिनीको प्रमुख सहर बुकाको एउटा मतदान केन्द्रमा एक हजारभन्दा बढी मतदाता आफ्नो मताधिकारको प्रयोग गर्न बिहानैदेखि लामबद्ध देखिएका थिए । मतदानका लागि आउनेहरूले सडकमा उत्साहित हुँदै स्वतन्त्रताको झन्डा फहराएका थिए ।- कान्तिपुर