मनोज कुमार साह ।
‘तु करे तो राशलिला मै करु तो क्यारेक्टर ढिला ?’ नेपालको राजनितिमा फन्को मार्नेको कमी छैन । तर सत्यको पक्षमा लडेर बर्बाद भएका पनि धेरै छन् । प्रायः जसो ठूलो माछाले सानो माछालाई खाईदिने प्रवृत्ति झै ठूला नेताले साना नेतालाई वेवास्ता गरी पछाडि पार्ने खेल हुँदै आएको छ ।
नेपालको इतिहासमा मधेशीको हक अधिकारका लागी स्व.गजेन्द्र नारायण सिंहज्युले भन्नुहुन्थ्यो–‘जबतक शोषित इन्सान रहेगा धर्ती पर तुफान रहेगा ।’ अर्थात् यो धर्तीमा जनता शोषित रहीरहसम्म तुफान रहीरहन्छ ।शोषन उत्पीडनमा परेका जनतालाई समान अधिकार प्राप्तिको उद्देश्य बोकेरै उहाँले सदभावना पार्टीलाई जन्म दिनुभएको थियो । यसै एजेन्डालाई बोकेर वर्तमान माननीय राजेन्द्र महतो मधेशबादका राजनीतिमा होमिदै आज नेपालको राष्ट्रिय राजनीतिमा स्थापित हुन सफल भएका छन् ।
महतो नेतृत्वको सद्भावनासहित ६ वटा मधेश केन्द्रित दल एक ढिक्का भई एउटा राजपा बनाए । तर राजपाका माननीय महतो लगभग २ बर्ष देखि राजपा र समाजवादीलाई पनि मिलाएर पार्टी एकता प्रयास पटक–पटक गर्दै आएको देखा परेकै छन् । माननीय महतोलाई नै समाजबादी पार्टीसँग वार्ता गरी एकता गराउने जिम्मेवारी पनि राजपाले सुम्पेको कुरा सबैलाई अवगतै भएकै कुरा हो ।
स्थानीय निर्वाचन पश्चात आम मधेशी जनताको चाहना सबै मधेशी दल एक ठाउँमा हुनुपर्छ भन्ने रहँदै आएको छ । तरपनि समाजवादी पार्टी र राजपा एक ढिक्का हुन सकेन । बिधान सभा र प्रतिनिधि सभाको चुनावी तालमेल गरेपनि यी दुई पार्टीका नेतृत्वले पार्टी एकता गर्न भने सकेनन् ।
फेरि पनी पार्टीबाट जिम्मेवारी पाएका माननीय महतो दुबै पार्टीलाई एकताको नजिक ल्याइ सकिएको अवस्थामा अड्किएको बेला समाजवादी पार्टीका मधेशी सपूत (जसलाई तल्लो दर्जाको दृष्टिकोणले हेरिन्थ्यो) ले आफ्नो अधिकारका लागि माथिल्लो स्तरको नेतृत्वकर्मी ठान्ने नेतालाई मात्र एक रातमै पार्टी एकता गराएका छन् । ती असन्तुष्ट मधेसी सपुतको नेतृत्वलाई मेरो सलाम छ ।
आज सम्म समाजवादी पार्टीमा आफुलाई मै हुँ ठान्ने मसिहालाई कसैले डयासिङ दिन सकेको थिएन । तर एक रातमै बाहिरिन्छु भन्ने जानकारी दिए लगत्तै मसिहा भनिने नेतृत्व एकताका लागि तयार भएका छन् । उनीहरुले पार्टी एकता मात्रै गराएनन् । ‘तु करे तो राशलिला मै करु तो क्यारेक्टर ढिला’ भन्ने सन्देश समेत प्रवाह गरेका छन् । अध्यादेश त एउटा बाहाना मात्र हो ।
सलाम छ समाजवादीका असन्तुष्ट ती नेतृत्वकर्मीलाई र माननीय महतोलाई । जसले आफ्नो मूल्य मान्यतालाई परित्याग गरि आम मधेशी जनताको भावनालाई समेट्दै जनता समाजवादी पार्टी नेपाल तयार पार्न सफलता प्राप्त गरेका छन ।
साह जनता समाजवादी पार्टी नेपालका नेता हुन्।