मनोज बनैता, लाहान, २४ बैशाख । सस्तो लोकप्रियताको लागि बेला बेला चटक नटक गर्ने लाहानका अधिकान्स निजी बिधालय र कलेज भने यतिबेला लकडाउनको मारमा रहेका शिक्षकहरु प्रती उदासीन देखिएको छ । न्युनतम तलब दिएर श्रम शोषण गर्ने शैक्षिक माफियाहरु आफ्ना श्रमजीवी शिक्षकहरूको पुस देखिको तलब नदिएको गुनासो आउने क्रम जारी छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवको अनुसार ‘लाहानका निजी विधालय र कलेजहरुमा पढाउने शिक्षकहरुले ती शैक्षिक डनहरुको विरुद्ध जान नसक्नुको कारण बेरोजगारी हो ।’
एक निजी स्कुलका शिक्षक (नाम गोप्य राख्ने शर्तमा) भने ‘हामी मध्यम वर्गीय पर्यौ हजुर, त्यसैले न हामी राहतको लागि लाईनमा बस्न सक्छौ न भिक्षा माग्न । कति पटक पृन्सिपल सरलाई फोन गरें तर उठाउनु भएन । एक दिन स्कुल गएर भेटें तर वहाँले पैसा छैन भनी रित्तो हात फर्काउनु भयो । तपाईंहरुले हाम्रो आवाज सरोकारवाला समक्ष पुर्यायदिनु पर्यो हजुर ।’
यस्ता धेरै शिक्षकहरु पृन्सिपलहरुको असम्बेदनसिलता का सिकार छन । कतिपय स्कुलहरु आफ्ना शिक्षकलाई दरकिनार गर्दै राहत बाँट्ने नौटङ्की गर्दै आएको एक अभिभावक सुनिल महतो ले भन्छन ।
पत्रकार देवकुमार यादवको अनुसार ‘यी डनहरुले पुरै शैक्षिक सत्रको शुल्क अभिभावक बाट असुल गरेकै छ । पठन पाठन नभएको अवधिको शुल्क फिर्ता गर भन्दा शिक्षक को तलब दिनु पर्छ भनेर पन्छिने विद्यालय किन नदिएको होला तलब ? शिक्षक को रेकर्ड सम्म दुरुस्त नराख्ने निजी विद्यालय मा ३हजार मा काम गराउने शिक्षक पनि रहेका छन । अब भन्नुस त्यस्ता शिक्षकहरुले आफ्नो जहान कसरी पाल्ने यो लकडाउनमा ?’