सिरहा, ११ जेठ । बैश्विक महामारी कोभीड -१९ को कारण देश संक्रमणको अवस्थाबाट गुज्रिरहेको बेला राजनैतिक उथलपुथल हुनु सिंगो राष्ट्रको लागि घातक हो । दिन दिनै संक्रमितको संख्या आश्चर्यजनकरुपमा बढ्नुको कारण जनतामा त्रासको माहौल छ । छिमेकी राष्ट्र भारतबाट लुकीछिपी स्वदेश आउनेको संख्या पनि उल्लेख्य छ यतिबेला राज्य मानवीय स्वास्थप्रती संबेदनसिल नभई लिपुलेकको सिमा विवादमा अल्झनु भनेको जनता प्रति उत्तरदायी नहुनु हो । यो बेमौसमी राष्ट्रवादले सम्पुर्ण देशवासीमा स्वास्थ संकट ल्याउन सकने सम्भावना उच्च छ ।
मातृभुमी सबैकोलागी उत्तिकै प्यारो हुन्छ । उत्तरी र दक्षिणी सिमामा मिचिएका नेपाली भुभाग फिर्ता ल्याउनु हाम्रो कर्तव्य एवं यस देश प्रतिको उत्तरदायित्व छ यद्यपि यो अनुकुल समय चाँहि होईन । लिपुलेक लगायतका सिमा विवादलाई सरकारले कुटनैतिक स्तरबाट समाधान गर्नुपर्दछ । हालको अवस्थामा सरकारद्वारा राजनैतिक नक्शा पास गरि छिमेकीलाई चिढाउनु भन्दा पनि सबैको साथ र सहयोग लिई महामारी संगको युद्ध जित्नमा केन्द्रित हुनुको विकल्प छैन ।
कोरोना कहरको समयमा खुंखार राष्ट्रवाद हाम्रो देशको लागि आत्मघाती हुन सक्ने भएको ले सरकार यसप्रति निकै गम्भीर हुनुपर्ने देखिन्छ । अभावै अभावको हाम्रो स्वास्थ क्षेत्रलाई सुदृढीकरण गर्नुमा सरकार उदासीन देखिएको हुनाले अकाल्पनिक घटना घट्न सक्ने विज्ञहरु बताउँछन् । तसर्थ सरकारले अनर्गल रुपमा आफ्नो उर्जा खर्च गर्नुभन्दा कोरन्टिन को संख्यामा वृद्धि गर्नु, आईसोलेशन सेन्टर को ब्यापकता तथा भेन्टिलेटर को संख्या बढाउनु जस्ता हुँदै नहुने अतिआवश्यक काममा लाग्नु देश र जनताको लागि हितकर हुनेछ । (लेखक: नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ सिरहाका पुर्व अध्यक्ष हुनुहुन्छ)