मनोज बनैता, लाहान, १५ जेठ । सरकारले कोरोनाको प्रकोप र लकडाउनका कारण यस वर्षको गणतन्त्र दिवस भव्य समारोह र तामझाम नगरी मनाउने निर्णय गरेसंगै सिरहाका लाहान नगरपालिकाले शान्तिपूर्वक वृक्षारोपण कार्यक्रम गरेको छ ।
नगरपालिकाले नगरविकासको ६५ फिटमा सामाजिक दुरी कायम गरी वृक्षारोपण सुरु गरेको हो | वृक्षारोपणमा नगर प्रमुख मुनि साह सुडी, इलाका प्रहरी कार्यालयका डिएसपी शरत थापा क्षेत्री सशस्त्र वेस क्याम्प लहानका डिएसपी अर्जून सापकोटा, लहान नगरकि उपप्रमुख सरियार चौधरी, लाहान सिटी जेसिज २०२० का अध्यक्ष वसन्त साह लगायत विभिन्न वडाका प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो ।
प्रमुख साहले भने, ‘कोरोना महामारीले आक्रान्त भएका बेला सिङ्गो मुलुक एकताबद्ध भइ जनताको सुख र समृद्धि तथा स्थिरताका लागि केन्द्रित हुनपर्ने बेला हो ।’ उनले थप्दै भने कि देश राजतन्त्रात्मक व्यवस्था फालेर गणतन्त्रतर्फ उन्मुख भएको छ । हामीले नगरवासीसंग बाँडेका केहि सपना र आकांक्षा पुरागर्न अझै बाकि छ र आउने दिनमा हामी उक्त आकांक्षा पूरा गर्न कट्टीबद्ध रहने नै छौ ।
मेयर साहले भने “गणतन्त्र शासन प्रणाली मात्रै नभइ नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति पनि हो। गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहितको प्रणाली हो तसर्थ यसमा प्रतिपक्षीलाई पनि हातेमालो गरेर नगरलाई समृद्ध को दिशा तिर डोर्याउन आग्रह गर्दछु । ‘ त्यसैगरी प्रमुख साहले सम्पुर्ण नगरवासीलाई लकडाउनको पुर्णपालन गर्दै कोरोना विरुद्धको लडाईमा सरकारलाई साथ दिन आग्रह समेत गरेका छन ।
सरकारले यस वर्ष संघ, प्रदेश र स्थानीय तहका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय र विदेशस्थित सबै नेपाली कूटनीतिक नियोगहरूलाई तीन दिन दीपावली गरी गणतन्त्र दिवस मनाउन सर्कुलर जारी गरेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार गृह मन्त्रालयले सबै नेपाली नागरिकलाई बुधबार, बिहीबार र शुक्रबार तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आह्वान गरेको थियो ।