०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

छठ पर्वको दोस्रो दिनमा ‘खरना विधि’ सम्पन्न

Logo
प्रकाशित बिहिबार, मंसिर ०४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ मंसिर। चार दिनसम्म मनाइने सूर्य आराधनाको महापर्व छठको दोस्रो दिन बिहिबार घरघरै उमंगकासाथ ‘खरना’ पुजाको तयारी हुँदैछ । ब्रतालुले पहिलो दिन बुधबार विहान नुहाएर शाकाहारी भोजन ग्रहण गरी ब्रत सुरु गरेका हुन् । यो विधिलाई ‘अरबाअरबाइन’ वा ‘नहा खा’ भनिन्छ ।

यसपछि पूर्णरुपले उपवासमा रहेका ब्रतालुले दोस्रो दिन बिहिबार परिवारजन एवं छरछिमेकको मद्दतले साँझ नहुँदै खिरपुरी तयार पार्नेछन् । तराई–मधेसतिर यो पर्वकैलागि पहिलादेखि बनाइएको माटोको छुट्टै चुल्होमा मुख्य उपासक महिलाको अगुवाइमा सम्पूर्ण पुजा सामग्री पकाइन्छ ।

यसकालागि बिहानैदेखि भाडाकुडा र घरआँगनको सरसफाइ सुरु हुन्छ । पुजाकालागि ब्रतालुले घरको सबैभन्दा शान्त कोठालाई लिपपोत गर्छन् । त्यसपछि भूइमा केराको पात फिजाएर त्यसमाथि खिरपुरी र केरा राख्छन् । धुपदीप बालेर चन्द्र, सूर्य एवं भगवान सूर्यकै भगवती रुप मानिने छठी माताको मौन पुजा गर्छन् । कोलाहलले आराधनामा बाधा पुग्ने आस्थाका कारणले ब्रतालुले ढोका थुनेरै विधि गर्छन् । देवीदेवतासँग गरेको कामनालाई उनले गोप्य नै राख्छिन् ।

बाहिर घरको आँगन, बरन्डामा र खाटमा बसेर परिवारजन, छरछिमेक एवं पाहुना पुजा समाप्तिको पर्खाइमा हुन्छन् । आफ्नो घरमा छठ नहुने विवाहित छोरीचेली पनि यतिखेर माइत आइपुगेका हुन्छन् । टाढाटाढाका आफन्तजन एवं मित्रजनलाई ब्रतालु परिवारले निम्तो गर्ने चलन छ ।

खरना भनिने यो पुजा विधि सम्पन्न भएपछि ब्रतालुले सबैभन्दा पहिले प्रसाद ग्रहण गर्छन् । वरिपरि उपस्थित सबैलाई थोरथोर बाँडछन् । छठ पुजाको तेस्रो मुख्य दिन अगाडिको यो एक महत्वपूर्ण धार्मिक विधि हो । यसमा साँझपख पकाइएकै ताजा प्रसाद तुरुन्तै खान पाइने हुनाले यसको अझ बढि महत्व छ ।

यो पुजापछि ब्रतालुको कठिन निर्जला उपवास सुरु हुन्छ । सूर्यदेवको पुजाकालागि शुक्रबार बेलुकी र शनिबार विहान सपरिवार घरबाट आफूलाई पायक पर्ने जलासय किनार पुग्छन् । स्थानीय भाषामा यसलाई क्रमशः सझिया घाट र भोरका घाट भनिन्छ ।

लोक आस्थाको यो पर्वको तेस्रो दिन शुक्रबार साँझ एवं चौथो दिन शनिबार बिहान झकिझकाउ पारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्रीसहित ब्रतालु, परिवारजन एवं दर्शनार्थीले सूर्यदेवलाई अर्घ्य दिन्छन् । विहानीको अघर््यको लगतै छठी मैयाँको महिमाको कथा वाचनसहित चार दिने धार्मिक अनुष्ठान सकिन्छ ।

पर्वको अन्तिम दुई दिन नदी, खोला, पोखरी एवं नहर किनारमा तिहारझैं दृश्य हुन्छ ।

अर्घ्य दिने, ब्रतालुको आशीष लिने एवं पुजा समापनपछि ठेकुवा, भुसवा एवं गेडागुडी मिश्रित प्रसाद माग्न आएकाको घाटमा घुइचो लाग्छ । विपन्नदेखि सम्पन्न वर्गले असीम श्रद्धाकासाथ प्रसाद माग्ने, ब्रतालुले बाँडने एवं मुख्य उपासकको पाउ छोएर आशीष लिने क्रम घाटदेखि घरसम्म चलि नै रहन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]